काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा कार्यक्रम सञ्चालन गर्न विगतमा आवेदन दिएका निजी तथा अन्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा जानकारी दिन आग्रह गरेका छन्।
२०६९ सालदेखि हालसम्म आवेदन दिएका, पूर्वाधार निरीक्षण गरिएका, LOI प्राप्त भएका तथा स्थलगत निरीक्षण भएका वा नभएका सबै प्रकारका संस्थाले पहिले दर्ता गरिएको निवेदनको प्रतिलिपीसहित मन्त्रालयमा पुनः सूचना दिनुपर्नेछ।
सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले भने, ‘सीटीईभीटीबाट सम्बन्धन लिई डिप्लोमा कार्यक्रम संचालन गर्नको लागि २०६९ सालदेखि अहिलेसम्म आवेदन दिएका र पूर्वाधार निरीक्षण भएका, LOI पाएका, स्थलगत निरीक्षण भएका वा नभएका सबै प्रकारका संस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरू चलाउन चाहनुहुन्छ भने मन्त्रालयमा मलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपिसहित १० दिनभित्र सूचना दिनुहोला। पहिले निवेदन दिए पनि अब कार्यक्रम सञ्चालन गर्न नचाहनेले निवेदन दिनुपर्दैन। सबै निवेदनहरूको छानबिन द्रुत गतिमा हुँदैछ।’



