मधेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

हिमाल प्रेस २९ मंसिर २०८२ १९:२९ | Monday, December 15, 2025
66
SHARES
मधेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

जनकपुरधाम- मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। सातदलीय गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रत्येक दलबाट एक/एक जना मन्त्री थपिएको हो। दुई जना मन्त्री नियुक्त गर्नुका साथै विनाविभागीय दुई मन्त्रीलाई जिम्मेवारीसमेत दिइएको छ।

सातदलीय गठबन्धनमा भएको सहमतिअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रानीशर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय र माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहालाई ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री नियुक्त गरिएको हो।

तिवारी यसअघि सतिशकुमार सिंह नेतृत्वको सरकारमा पनि शिक्षा तथा संस्कृति मन्त्रालय नै सम्हालेकी थिइन्। नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुख डा.सुरेन्द्र लाभसमक्ष सपथ लिएका छन्।

यसैगरी विनाविभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या र नेकपा एकीकृत समाजावदीका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जनमत पार्टीका महेश यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

सत्ता गठबन्धनको प्रमुख घटकमध्ये एक जनता समाजवादी पार्टी (जसपा) नेपाल भने हालसम्म सरकारमा सहभागी भएको छैन। सभामुख चयन र मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेपछि सरकारमा सहभागी हुने उसको तयारी छ।

सातदलीय गठबन्धनमा सभामुख जसपा नेपालले लिने सहमति भएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयको टुंगो लगाउन सकस देखिएको छ।

भौतिक मन्त्रालयमा कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र एकीकृत समाजावदीको दाबी छ।

सातदलीय गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने छन् भने पुस २ गते सभामुखको निर्वाचन हुनेछ।

गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतकि पूर्वाधार, खेलकुद तथा समाज कल्याण, श्रम तथा यातायात र भूमि व्यवस्था, कृषि तथा सहकारीसहित ६ मन्त्रालय मुख्यमन्त्री यादवकै जिम्मेवारीमा रहेको छ।

प्रकाशित: २९ मंसिर २०८२ १९:२९ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast