पुसभित्र अधिवेशन गर्नैपर्छ : थापा

हिमाल प्रेस ११ पुष २०८२ १८:३६ | Friday, December 26, 2025
14
SHARES
पुसभित्र अधिवेशन गर्नैपर्छ : थापा

काठमाडौँ- नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन सुनिश्चित गर्न माग गर्दै स्मरणपत्र बुझाएको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन अभियानका नेतृत्वकर्तामध्येका नेता देवराज चालिसेको अगुवाइमा स्मरणपत्र बुझाइएको हो।

विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र गर्नैपर्ने बाध्यता रहेको पक्षधरले स्मरणपत्रमा उल्लेख गरेको छ।

यस अवधिमा नियमित नभए विशेष महाधिवेशन गर्नैपर्नेमा उनीहरूले जोड दिएका छन्।

स्मरणपत्र बुझ्दै महामन्त्री गगन थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषयलाई जानकारी गराउने बताए। उनले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताउँदै विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको प्रतिक्रिया दिए।

महामन्त्री थापाले महाधिवेशन पुस मसान्तभित्र अनिवार्य रूपमा गर्नुपर्ने कुरा अब कांग्रेसको केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारी भएको समेत उल्लेख गरे।

त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार चल्नुपर्ने बताए। उनले विधानमा भएको व्यवस्थालाई पालना गर्ने सबैको कर्तव्यअनुसार सबै चल्नुपर्ने भएकाले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट उपयुक्त निर्णय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा कांग्रेस पार्टी कार्यालयमा निवेदन पेस भएको थियो। १४ औँ महाधिवेशनका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन पेस भएको विशेष महाधिवेशन पक्षधरको दाबी छ।

महाधिवेशन र समानुपातिकको बन्दसूचीको विषयमा छलफल गर्न बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

प्रकाशित: ११ पुष २०८२ १८:३६ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast