उम्मेदवार सिफारिसमा कास्की कांग्रेसमा विवाद

हिमाल प्रेस २८ मंसिर २०८२ २०:३२
26
SHARES
उम्मेदवार सिफारिसमा कास्की कांग्रेसमा विवाद

पोखरा– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कास्कीमा प्रतिनिधि सिफारिसमा विवाद उत्पन्न भएको छ।

जिल्ला समितिले क्षेत्रीय समितिको सिफारिसविनै एकलौटी ढंगले नाम सिफारिस गरेको आरोप छ।

पार्टीको कास्की–१ क्षेत्रीय समितिले जिल्ला सभापति किशोरदत्त बरालले विधानविपरीत मनोमानी र एकलौटी ढंगले उम्मेदवार सिफारिस गरेको भन्दै त्यसको खारेजीको माग गरी आइतबार गण्डकी प्रदेश समितिमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ।

क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले जिल्ला सभापति बरालको कार्यशैली अवैध र विधानविपरीत रहेको बताउँछन्।

गत २१ मंसिरदेखि उम्मेदवार छनोटका लागि निरन्तर विभिन्न चरणका भेला, छलफल जारी रहेकै अवस्थामा आइतबार उम्मेदवार क्षेत्रीय कार्यसमितिबीच छलफल चलिरहँदा जिल्ला सभापति बरालले गण्डकी प्रदेशमा क्षेत्र १ को उम्मेदवारको नामावली पेस गरेको बुझिन आएको लामिछानेले बताए।

क्षेत्रीय समितिको अधिकार मिचेर प्रक्रिया नै पूरा नगरी माथिल्लो निकायमा नाम पठाएको भन्दै क्षेत्रीय समितिले विज्ञप्तिमार्फत खेद प्रकटसमेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रको पछिल्लो स्पष्ट परिपत्रअनुसार उम्मेदवार छनोट संख्यामासमेत तोकेको कारण यसअन्तर्गत नै सहमति, सहकार्य गरेर निष्कर्ष निकाल्ने वातावरण बनाउने गरी छलफल चलिरहेको बेला अकस्मात जिल्ला सभापतिको क्रियाकलापले पार्टीलाई अपूरणीय क्षति र तमाम् कार्यकर्ताको मनोबल गिरेको छ। यस्ता गतिविधि र व्यक्तिगत लहडमा नलाग्नसमेत अनुरोध गर्दछौँ।’

लामिछानेले कांग्रेस विधानले नाम संकलन र सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई दिएको हुँदा जिल्ला सभापतिको यो कदम पूर्णतः अवैध रहेको दाबी गरे।

यसैबीच, क्षेत्रीय समितिले यसबारे ध्यानाकर्षण पत्रसहित क्षेत्रीय समितिले संकलन गरेको नामावलीसमेत क्षेत्रीय सभापति शुक्रराज शर्मासमक्ष बुझाएको छ। ध्यानाकर्षण पत्रमा जिल्ला सभापति बरालको मनोमानी क्रियाकलापले पार्टी संगठनमा नकारात्मक असर पर्ने भन्दै तत्काल हस्तक्षेप गर्न माग छ।

जिल्ला सभापति बरालले क्षेत्रबाट समयमा नाम नआएका कारण क्षेत्रमा आकांक्षीले टिपाएको नाम प्रदेशमा जानकारी मात्रै गराएको जिकिर गर्छन्। उनले पटक–पटक ताकेता गर्दासमेत क्षेत्रबाट नामावली नआएपछि २ र ३ को सिफारिस गरेको तर एकको जानकारी मात्रै गराएको बताए। क्षेत्रले निर्णयपछि पुनः प्रदेशमा सिफारिस गरिने उनले बताए।

कास्की १ मा क्षेत्रीय समितिले विभिन्न छलफल र बैठकसँगै प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ८ जनाको सूचिकरण तयार पारेको छ। जसमा प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, तिलकबहादुर रानाभाट, जीवन परियार, गुरु बराल, सुदीपमोहन भट्टराई, भानुभक्त ढकाल, प्रेमप्रसाद शर्मा सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सरिता कार्की (लोभिसा) छन्।

समानुपातिकतर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, नीशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाँ छन्।

प्रकाशित: २८ मंसिर २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast