इटहरी- इटहरी उपमहानगरपालिका-१ मा मुख्य कार्यालय रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थामा पछिल्ला केही दिनयता आन्तरिक विवाद चर्किएको छ। संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका कृष्ण अधिकारीलाई सेयर सदस्यबाट नै हटाइएपछि सहकारीभित्रको असन्तुष्टि सतहमा आएको हो। अधिकारीसँगै सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीमाथि पनि कारबाही गरिएको छ। दाहाललाई सेयर सदस्यबाट हटाइएको छ भने कर्मचारी सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ।
इटहरीमा पत्रकार सम्मेलन गरी संस्थाभित्र व्यापक अनियमितता भएको र त्यसबारे ढाकछोप गर्न आफूहरूलाई ‘कारबाहीको डण्डा’ हानिएको उनीहरूले जनाए। संस्थाका पूर्वअध्यक्ष अधिकारीले आफूलाई सेयर सदस्यबाट निष्कासन गरिएको पत्रबारे आफू आश्चर्यचकित भएको बताए।
‘२०८२ मंसिर १२ गते बसेको सञ्चालक समिति र उपसमितिको संयुक्त बैठकको निर्णयानुसार विनियमको दफा १३ ‘क’ र ‘ग’ बमोजिम दोषी ठहर गरी सेयर सदस्यबाट निष्कासन गरिएको छ भन्ने पत्रमा लेखिएको रहेछ,’अधिकारीले भने,‘अभियोग के रहेछ भनेर हेर्दा ‘भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरिएको’ रहेछ।’
०५७ सालमा स्थापना भएको उक्त संस्थामा ०६१ सालदेखि निरन्तर आठ वर्षसम्म अध्यक्ष भएर तीन कार्यकाल सम्हालेका अधिकारीलाई ‘भ्रामक समाचार प्रेषण’ गरिएको भन्दै हटाइएकाले आफ्नो आपत्ति रहेको उनले जनाए।
खासगरी संस्थाभित्र भएका अनियमितताबारे आफूले चासो राख्दा आफूखुसी अध्यक्ष यादव ढकालको हठले हटाइएको अधिकारीले बताए। अध्यक्ष ढकाल र सञ्चालक समितिले गैरकानुनी र गैरजिम्मेवार तरिकाले पूर्वाग्रह राखेर आफूलाई साधारण सदस्यबाटै हटाइएकोमा उनको आपत्ति छ।
‘कामधेनुको अध्यक्ष भइसकेपछि तलबसरह मासिक ४० हजार लिन थालेछन्। त्यो गैरकानुनी हुन्छ नखाउ भनेँ। केही समय खाएछन् र छोडेछन्। खान दिएनन् भनेर रिसाएका रहेछन्,’ अधिकारीले पत्रकार सम्मेलनमा भने,‘धेरै वर्षदेखि सेयर सदस्यले बोनस पाएका छैनन्, त्यसैले खर्च घटाउ, कारोबार बढाउ र पारदर्शी गर सेयर सदस्यको पूँजीको पनि सम्मान गर भनेको थिएँ, त्यसबाट पनि रिसाएका रहेछन्।’
आफूले संस्थाको हितकै निम्ति आवाज उठाउँदा पूर्वाग्रह राखिएको पूर्वअध्यक्ष अधिकारीले बताए। ‘कामधेनुले संस्थागत सम्झौता गरी गरेको दानाको कारोबार संस्थासँग खोसेर अध्यक्ष आफैँले गर्न थालेछन्। अध्यक्ष भएको मान्छेले उनको आफ्नो गोठमा उत्पादन भएको दूध कामधेनुलाई नै बेच्नुपर्ने बाध्यात्मक व्यवस्था हुँदाहुँदै अरू नै व्यापारीलाई बेच्दा रहेछन्,’ अधिकारीको आरोप छ,‘त्यसो नगर भन्दा रिसाएका रहेछन्। त्यही पूर्वाग्रहले ग्रस्त भएर सेयर सदस्यबाट निष्कासन गर्ने निर्णय गराएका हुन् जो कानुन विपरीत छ।’
आफूलाई समाचारको कारण देखाउँदै निष्कासन गरिएको भएपनि कुन समाचार वा कुन कुन सन्दर्भको समाचार हो? भन्नेबारे केही उल्लेख नभएको उनले उदृत गरे। सहकारी भावना र सहकारी ऐनविरूद्ध संस्था अगाडि बढेको उनले जनाए।
त्यसैगरी दाहाललाई पनि ‘भ्रामक र तथ्यहीन समाचार’ भन्दै सेयर सदस्यबाटै निष्कासन गरिएको छ। ‘कुन समाचार हो? कुन विषयको समाचार हो? कहाँ, कहिले र कसलाई मबाट सम्प्रेषण भयो? त्यो उल्लेख छैन। केवल रिसिइबीबाट विक्षिप्त मनस्थितिले सेयर सदस्यबाट निकाल्नका लागि यस्तो भ्रामक, मनगढन्ते र असत्य आरोप लगाएर सेयर सदस्यको हक अधिकारमाथि धावा बोल्ने कुचेष्टा गरिएको छ,’ दाहालले पत्रकार सम्मेलनमा भने।
अध्यक्ष ढकालले संस्थामा गरेको अनियमितताका बारेमा आफूले पटकपटक सचेत गराउँदै आएकाले रिसिइबी साँधिएको उनको आरोप छ। ‘मैले आर्थिक अनियमितताका बारेमा साधारणसभालाई जानकारी गराउँदै सञ्चालक समितिलाई सजग गराएकाले रिसिइबीले हटाइयो,’ उनले भने, ‘संस्थामा अनियमितता भएका र भइरहेका उदाहरणहरू धेरै छन्।’
‘ढकालले मोरङमा बनिगामा सहकारी संस्था सञ्चालन गरी आफ्नै पत्नीलाई व्यवस्थापक बनाएको र त्यसै समयमा युवा स्वरोजगार कार्यालयबाट ४० लाख रुपैयाँ ऋण लिएको भएपनि नक्कली ऋणी खडा गरेर उक्त रकम हिनामिना गरेकाले वनिगामा संस्था कालोसूचीमा परेको छ,’ दाहाल भन्छन्,‘सबै सञ्चालकहरूका बैंक खाताहरू रोक्का भएका छन्, तर विडम्बना के छ भने त्यही कालोसूचीमा परेको वनिगामा संस्थामा कामधेनु संस्थाको सेवा केन्द्रको साइनबोर्ड झुण्ड्याएर बनिगामाका तीन जना कर्मचारीहरुलाई कामधेनुबाट तलब भत्ता खुवाइदैँछ।’
कामधेनु सहकारीको रकम जथाभावी अनियमितता भइरहेकोमा आफूले आपत्ति जनाउँदा अध्यक्ष ढकालले संस्थागत कुरा बाहिरिने डरले हटाएको दाहालको आरोप छ। ‘ढकालकै जयपति कृषि फर्मबाट उत्पादित दूधको ठूलो परिमाण कामधेनुमा नबेचीकन बिचौलियामार्फत बाहिरी बजारमा बिक्री गर्दै आएका छन्। जसले धेरै अनियमितता, सहकारी भावना र ऐन विपरीत सञ्चालन गरेर संस्थालाई निरन्तर नोक्सानी पुर्याइरहेका छन्,’ दाहालले भने।
समानान्तर कारोबार गरेको भन्दै यसअघि रामप्रसाद काफ्ले र हिक्मत काफ्लेको सदस्यता खारेज गरिएको छ। काफ्ले अध्यक्षमा उनै ढकालसँग प्रतिस्पर्धी रहेका थिए। यस्तै, निलम्बनमा परेका कर्मचारी सुवेदीले आफूमाथि निरन्तर अन्याय भएको बताए।
मार्केटिङको क्षेत्रमा काम गर्दै आएका उनलाई यसअघिको सञ्चालक समितिले २७ कात्तिक ०७९ मा पूर्वाग्रहपूर्ण निर्णय गरेर जागिरबाट हटाएको थियो। तर,अदालतले २१ फागुन ०८१ मा निर्दोष ठहर गरेपछि पुनः हाजिर भएका थिए। तर, अदालतले तोकेको सुविधा दिन आनाकानी गरेपछि मनमुटाव बढेको र अहिले बिनाकारण निलम्बन गरिएको सुवेदीले बताए।
‘हाजिर गराएपनि अदालतमा न्याय खोज्न जाने मान्छेलाई राख्नुहुँदैन भनेर मलाई विभाग परिवर्तन गर्दै सरुवा गर्ने, काम गर्न बाधा गर्ने र हतोत्साहित गर्ने काम भयो,’सुवेदी भन्छन्,‘अध्यक्ष ढकाल र उनका मान्छेले मलाई गरेको उपेक्षा र बेलाबेला दिने मानसिक यातनाले गर्दा मलाई पटकपटक आत्महत्या गर्ने सोच आउँथ्यो।’ अहिले आफूलाई बिनाकारण निलम्बन गर्नुको कारणबारे आफू अनभिज्ञ रहेको बताए।
‘मानसिक यातनाका कारण सुसाइड नोट लेखेर कर्मचारीले गरे आत्महत्या, पाँच लाखमा मिलाइयो’ गत १७ कात्तिकमा संस्थामा कार्यरत कर्मचारी प्रेम मिश्रले सुसाइड नोट लेखेर आत्महत्या गरे। संस्थाकै दुई जना कर्मचारीको नाम उल्लेख गरी आत्महत्या गरेपनि उक्त घटनालाई सामसुम पार्ने प्रयास गरियो।
अध्यक्ष ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै केही स्पष्टीकरण सोधेका थिए। संस्थाबाट पटकपटक दबाब दिइएको र मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले जनाएका थिए। मिश्रले संस्थाका बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नाम उल्लेख गर्दै ‘सुसाइट नोट’समेत लेखेका छन्। तर, संस्थाले भने पीडितलाई ‘पाँच लाख रुपैयाँ दिएर मिलाएको स्रोतको दाबी छ। घटना सामसुम पार्नका निम्ति मोटो रकम दिएको दाबी गरिएको छ।
खासगरी मिश्रको निधनपछि अध्यक्ष ढकालसहित अन्य कर्मचारीहरू समवेदना दिन झापास्थित घर गएका थिए। त्यस क्रममा स्थानीयले उनीहरूलाई दुव्र्यवहार गरे। फर्किने क्रममा मोरङस्थित पथरीको जंगलमा आइपुगेपछि सँगै गएका सबैको मोबाइल फोन ढकालले नै नियन्त्रणमा लिएर सोधपुछ गरी मानसिक यातना दिएका थिए।
एक हजार ६ सय भन्दा बढी सेयर सदस्य भएको उक्त संस्थामा दैनिक ११ हजार भन्दा धेरै कृषकले उत्पादन गरेको दूग्धजन्य पदार्थ खरिद हुँदै आएको छ। संस्थाले दुई बिगाहा एक कट्ठा जमिनमा दूग्धजन्य पदार्थको उत्पादन गरी कार्यालयसमेत सोही स्थानमा राखेको छ। संस्थाले देशैभर विभिन्न स्थानमा बिक्री कक्ष स्थापना गरी दूग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको छ। तर, आन्तरिक किचलो, सञ्चालक समितिको मनोपोली र व्यक्तिगत रिसिइबीका कारण संस्था धराशयी बन्दै गएको छ।
यसबारे अध्यक्ष ढकालले भने संस्थागत आचारसंहिता पालना नगरेकाले हटाइएको प्रतिक्रिया दिए। ‘संस्थाले सोधेको स्पष्टीकरण कृष्ण अधिकारीले बुझ्न मान्नुभएन। सात दिनको म्याद राखेर हामीले हुलाकबाटसमेत चिट्ठी पठाइएका छौँ,’ ढकालले फोन सम्पर्कमा भने, ‘तर,उहाँले बुझ्न मान्नुभएन। हामीले संस्थागत आचारसंहित पालना नगरेका कारणले हटाएका हौँ।’
यसैगरी दाहाललाई पनि आचारसंहिता पालना नगरेकाले हटाइएको र कर्मचारी सुवेदीले संस्थाको हित विपरीत काम गरेकाले निलम्बन गरिएको ढकालले बताए। ‘सञ्चालक समितिको संयुक्त बैठकबाट हटाइएको हो। पुनरावेदन गर्ने अधिकार उहाँहरूलाई छ। त्यहाँबाट न्याय पाउन पनि सक्नुहुन्छ,’ उनले हिमालप्रेससँग भने,‘अब साधारणसभामा कुरा उठाउने र उचित जबाफ आए कारबाही फिर्ता पनि हुनसक्छ।’
पत्रकार सम्मेलन गरी कसैले पनि न्याय नपाउने उनले प्रतिक्रिया दिए। ‘संस्थाको कुरा पत्रकार सम्मेलन गरेर न्याय पाइन्छ त? कर्मचारीले पनि संस्थाको हितविपरीत काम गरेकाले तीन महिनाका लागि निलम्बन गरिएको हो,’ ढकालले थपे। कर्मचारीले सुसाइड नोट लेखेको विषयलाई यहाँ जोड्न नहुने उनको जिकिर छ।
‘कर्मचारीको नाम लेखेर सुसाइड नोट लेखिएको हो। त्यस विषयमा छलफल गर्यौँ,मिलाइसकेको छ,’ ढकालले भने,‘त्यो केस र यो कुरा फरक हो। यहाँ जोड्न आवश्यक हुँदैन।’
पैसा दिएर पीडितलाई चुप लगाइएको भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले भने,‘त्यो केसमा पैसा दिइयो, दिइएन थाहा भएन। किरिया खर्च भनेर ५१ हजार दिएका हौँ। अरू पैसा दिइएको होइन।’ यसबारे प्रहरीले अनुसन्धानसमेत गरिरहेको उनको भनाइ छ।
उक्त घटनालाई अतिरञ्जित बनाउन अहिले आएर संस्थाको हितविपरीत उभिएकाहरूलाई कारबाही गरिएको उनको आशय थियो। तर,कारबाहीमा परेका सेयर सदस्यले भने अध्यक्ष ढकालले ‘बाहुबलीको आधारमा’ संस्था चलाउन खोजेको आरोप लगाउँदै आएका छन्। ‘केही व्यक्ति ठिक लागेन र हटाउँदै जाने हो भने संस्थाको अवस्था भोलि के होला?,’ पूर्वअध्यक्ष अधिकारी भन्छन्,‘यसबारे हामीले रजिष्ट्रर कार्यालयमा निवेदन दिएका छौँ।’




