समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ

हिमाल प्रेस २७ मंसिर २०८२ ७:५२ | Saturday, December 13, 2025
22
SHARES
समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ

रौतहट- भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिएका छन्। शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर्दै उनले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिए।

मन्त्री घिसिङले ठेकेदार दयाराम साहलाई अनुगमनस्थलमा बोलाएर यथाशीघ्र अलपत्र पुलको काम सम्पन्न गर्न निर्देशन दिए। ठेकेदार साहले जेठभित्र कुनै पनि हालतमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले यदी काम गर्न नसक्ने हो भने ठेक्का तोड्ने दिने चेतावनी दिए।

ठेकेदार साहले पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै बाँकी आगामी जेठभित्र बाँकी काम गर्ने प्रतिबद्धता जनाए। पुल निर्माण गर्न पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा सम्झौता गरेको थियो। पुल सम्पन्न नहुँदा गैडाटारवासीले सास्ती खेप्दै आइरहेका छन्।

मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने गरी बागमती नदीमा बनाउन लागिएको बडहर्वा पुलको पनि अनुगमन गरे। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल १५ वर्षदेखि अलपत्र छ।

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गरेका थिए। उक्त पुल निर्माण हुन नसक्नुको कारणबारे आफूले छानबिन गर्ने मन्त्री घिसिङले बताए। विकासको मुख्य आधार भनेको पुल भएकाले यस्ता पूर्वाधार निर्माण र विकास रोक्न नहुने उनले धारणा राखे ।

पूर्वाधार निर्माणको अनुगमनसँगै मन्त्री घिसिङले शुक्रबार नै धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको रौतहटको शिवनगरस्थित शिव मन्दिरको अवलोकन गरेका छन्। बिहान उनले रौतहटको चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ भन्ने अभियानअन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटनसमेत गरेका थिए ।

प्रकाशित: २७ मंसिर २०८२ ७:५२ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast