काठमाडौँ- नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने भएको छ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुंगो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
कार्यसम्पादन समितिले प्रदेशका नेताहरू छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए। उनले समानुपातिक सूची बुझाउनुपर्ने भएकाले आइतबारको बैठक त्यसमा केन्द्रित भएको जानकारी दिए।
त्यस्तै प्रवक्ता महतले रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव नपर्ने बताए। रवि लामिछाने र बालेनको बारेमा धेरै ठूलो प्रश्न उठेकाले जनताले मूल्यांकन गरिरहेको उनले बताए।
प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दाबी गरे। रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरूले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।




