कांग्रेस केन्द्रीय समिति बैठक सुरु, पुसको कार्यतालिका ल्याउने तयारी

हिमाल प्रेस १५ मंसिर २०८२ १४:५९
18
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक सुरु, पुसको कार्यतालिका ल्याउने तयारी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको छ। पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरू भएको हो।

महाधिवेशनको मिति तोक्नेबारे सहमति जुटेपछि बैठक सुरू भएको हो। बैठकबाट पुस मसान्तमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।

चुनावअघि कि चुनावपछि महाधिवेशन गर्ने विषयमा सहमति नजुट्दा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। महाधिवेशनका विषयमा सहमति जुट्न नसकेपछि विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा आफैँले अग्रसरता लिएका थिए।

आइतबार साँझ देउवाले पुस महासन्तमा सकिनेगरी महाविधेशनको कार्यतालिका ल्याउन कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई निर्देशन दिएका थिए।

तर, वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेका संस्थापनपक्षकै नेताहरूले कार्यतालिका आए स्वीकार नगर्ने बताएका थिए। आइतबार साँझ बसेको यो समूहको बैठकले सहमहामन्त्री महेन्द्र यादवले ल्याएको प्रस्तावसमेत पेस गरेर भोटिङमा जाने निर्णय गरेको थियो।

कार्यबाहक सभापति खड्काले पुसमा कार्यतालिका ल्याउने प्रस्तावमाथि असन्तुष्टि जनाएका नेताहरूसँग सोमबार बिहान छलफल गरेका थिए। तर, छलफल विनानिष्कर्ष टुंगिएको थियो।

त्यसपछि सहमति जुटाउन सभापति देउवाले केही नेतालाई महाराजगञ्जस्थित आफ्नो निवासमा बोलाएका थिए। देउवासँग भएको छलफलपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान राखेका संस्थापननिकट नेताहरू पुसको कार्यतालिकमा सहमति जनाएका थिए।

सभापतिले नै पुसको नियमित महाधिवेशन कार्यतालिकामा सहमति जनाउन भनेपछि उनको सम्मानमा यो प्रस्तावमा सहमति जनाएको बैठकमा सहभागी एक नेताले बताए।

केन्द्रीय समिति बैठक सुरू हुनुअघि पार्टी कार्यालय सानेपामा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बसेको थियो। बैठकबाट पुस मसान्तमा १५ औँ महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने सहमति जुटेको बताइएको छ।

प्रकाशित: १५ मंसिर २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast