काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सिफारिस भएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्साका चारवटै क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो।
पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम सिफारिस भएको छ। दोस्रो संविधानसभामा समानुपातिकबाट निर्वाचित भएका उनी २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएका थिए।
क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र नेविसंघका पूर्वसभापति राकेश यादवको नाम सिफारिस भएको छ।
चौरसिया तीनपटक सांसद भइसकेका छन् भने अमात्य दोस्रो संविधानसभामा पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
त्यस्तै पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, शम्भु चौहान, असर्फी साह र भगवती चौधरीगरी पाँच जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ।
सुरेन्द्रप्रसाद चौधरी चारपटक सांसद र दुईपटक मन्त्री भइसकेका छन्। क्षेत्री प्रदेश सरकारका पूर्वमन्त्री तथा कांग्रेस पर्साका सभापति हुन्।
पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ रमेश रिजालको एकल नाम सिफारिस भएको छ। २०४८ देखि निरन्तर कांग्रेसबाट चुनाव लडिरहेका उनी चारपटक सांसद भइसकेका छन्। सभापति शेरबहादुर देउवानिकट मानिने रिजाल कांग्रेस केन्द्रीय सदस्य हुन्।
यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि पर्साका चारवटै क्षेत्रबाट समानुपातिक तर्फका उम्मेदवारहरूको नाम पनि क्षेत्रीय समितिले सिफारिस गरेको छ।



