तेह्रथुम कांग्रेसमा द्वन्द्व : गगनकै हस्तक्षेपमा सीता गुरुङको नाम काटिएको हो?

विवेक विवश रेग्मी ८ पुष २०८२ ११:४९
18
SHARES
तेह्रथुम कांग्रेसमा द्वन्द्व : गगनकै हस्तक्षेपमा सीता गुरुङको नाम काटिएको हो?

इटहरी- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस तेह्रथुम जिल्ला कार्यसमितिको बैठकले गगन थापाको नाम सिफारिस गर्‍यो। प्रत्यक्षतर्फ पार्टी महामन्त्री थापाको एकल नाम सिफारिस गरेको कांग्रेसले समानुपातिकका लागि भने सातजनाको नाम सिफारिस गरेको छ।

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा एउटा मात्रै निर्वाचन क्षेत्र छ। यो क्षेत्रमा २०७९ सालको निर्वाचनमा कांग्रेसकी सीता गुरुङ निर्वाचित भइन्। विशेषतः एमालेको दबदबा रहेको तेह्रथुममा गुरुङ निर्वाचित भएसँगै मन्त्रीसमेत भइन्। त्यो निर्वाचनमा गुरुङ प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेर निर्वाचित हुने कांग्रेसकी एक्ली उम्मेदवार थिइन्।

तर जिल्ला कार्यसमितिले उनै गुरुङको नाम समावेश नगरी महामन्त्री थापाको मात्रै नाम सिफारिस गरिएपछि आन्तरिक असन्तुष्टि चुलिएको छ। गुरुङको नाममा कैँची चलाएर त्यो क्षेत्रको मतदातासमेत नरहेका थापाको नाम सिफारिस भएपछि तेह्रथुम कांग्रेसमा विवाद चुलिएको हो।

गत निर्वाचनमा एक्ली निर्वाचित हुने कांग्रेसकी महिला नेतृको नाम काटिएपछि कांग्रेस कोशी प्रदेश कमिटीले गुरुङको पनि नाम थपेर केन्द्रमा सिफारिस गरेको छ।

समानुपातिकका लागि भने जिल्लाले कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र सनिसा भेटवालको नाम सिफारिस गरेको छ।

२१ मंसिरमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, ६ वटै गाउँपालिकाका सभापतिलगायतको बसेको जिल्ला कमिटीको बैठकले महामन्त्री थापाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम २८ मंसिरमा प्रदेशमा नामावली पठाइएको थियो।

प्रदेशले भने गुरुङको पनि नाम थपेको विषयमा आफूहरू आश्चर्यचकित भएको कांग्रेस तेह्रथुम जिल्ला सचिव विपिन निङ्लेखु बताउँछन्। ‘हामीले पनि समाचारमा हेरेर मात्रै थाहा पाएका हौँ,’ उनले भने, ‘प्रदेशले किन हस्तक्षेप गर्‍यो भन्ने अझैसम्म बुझ्न सकेका छैनौँ। आन्तरिक विवाद मिलाउन कसैले चासो लिएको छैन।’

तेह्रथुममा आन्तरिक विवाद रहेको र उक्त विवाद मिलाउन महामन्त्री थापाको एकल नाम सिफारिस गरिएको उनको दाबी छ। ‘पार्टीको आन्तरिक द्वन्द्वलाई व्यवस्थित गर्ने जिम्मा प्रदेश कमिटीको पनि हो,’ निङ्लेखुले हिमालप्रेससँग भने, ‘आन्तरिक विवाद व्यवस्थापन गर्ने सम्बन्धमा केन्द्रीय कार्यसमितिको जति भूमिका रहन्छ, प्रदेशको पनि त्यति नै रहन्छ। जिल्ला कमिटीले किन एकजना (महामन्त्री) को मात्रै नाम सिफारिस गर्‍यो भनेर बुझ्नुको सट्टा र विवाद समाधानका लागि केही भूमिका खेल्छौँ भन्नुभन्दा प्रदेशले हस्तक्षेप गर्‍यो।’

प्रदेश समितिले जिल्लाको विवाद मिलाउन चासो नदिएकोमा उनको आपत्ति छ। तेह्रथुम कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ महामन्त्री थापाको नाममात्रै सर्वसम्मत सिफारिस गरे पनि प्रदेश समितिले गुरुङको नाम थपेर केन्द्रमा पठाएपछि आन्तरिक द्वन्द्व झन् चर्किएको छ।

गुरुङको नाम किन जिल्लाले नाम पठाएन भन्नेबारे सचिव निङ्लेखुले भने, ‘पार्टीमा गुट छ सबैलाई थाहै छ। जिल्लामा तुलसी सुब्बालाई गरिएको कारबाही अहिलेसम्म फिर्ता भएको छैन, त्यसैले पनि हो। यसबारे केन्द्र र प्रदेश दुवैले विवाद मिलाउन प्रयास  गरेको छैन।’

यस्तो छ विवादको पृष्ठभूमि

जिल्लाभित्र देखिएको आन्तरिक विवादबारे महासमिति सदस्य तुलसी सुब्बामाथिको अनुशासनात्मक कारबाही र त्यसबाट उत्पन्न टकरावलाई कारणका रूपमा उल्लेख गरिएको छ। ‘अनुशासन समितिको कारबाहीका कारण जिल्लामा केही समयदेखि टकराव थियो,’ उनले भने, ‘आन्तरिक द्वन्द्व न्यूनीकरण गरेर पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले हामीले निर्णय गरेका हौँ।’

खासगरी तेह्रथुममा शेरबहादुर देउवा र शेखर कोइराला गुट हाबी छ। जसअनुसार कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट तुलसी सुब्बा महासमिति सदस्य भएका थिए।

सीता गुरुङ भने शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन्। आमनिर्वाचनमा टिकट पाउनकै लागि केन्द्रमा रस्साकस्सी चल्यो। लामो रस्साकस्सीबीच गुरुङले टिकट ल्याइन्। चुनाव पनि जितिन्। पछि देउवाले नै मन्त्रीसमेत बनाए। उनी कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित हुने एक्ली महिला सांसदसमेत हुन्।

गुरुङले प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पार्टी केन्द्रीय समितिको अनुशासन समितिमा सुब्बाले अन्तरघात गरी चुनाव हराउन लागेको भन्दै उजुरी दिइन्। ‘चुनाव जितिसकेपछि अन्तरघात गर्नुभयो, षड्यन्त्र भयो भनेर अनुशासन समितिमा उजुरी परिसकेपछि छानबिन गर्दै जाँदा तुलसी सुब्बामाथि कारबाही भयो, त्यहीँबाट टकराव सुरु भएको हो,’ निङ्लेखु भन्छन्, ‘हालसम्म कारबाही पनि फुकुवा भइसकेको छैन।’

सुब्बाको राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै उनले २०५६ सालमा राप्रपाबाट कांग्रेस प्रवेश गरेको, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएको र बलियो जनाधार भएको नेताको रूपमा स्थापित रहेको बताए। तर अघिल्लो निर्वाचनमा अन्तरघातको आरोप लागेपछि उजुरीका आधारमा अनुशासन समितिले एक वर्षसम्म कारबाही गरेको र हालसम्म फुकुवा नभएकाले आन्तरिक विवाद उत्पन्न भएपनि हालसम्म समाधान नभएको उनले बताए।

०५६ सालमा गिरिजाप्रसाद कोइरालाले सुब्बालाई कांग्रेसमा प्रवेश गराएका थिए। निरन्तर एमालेले जित्दै आएको तेह्रथुममा पहिलो संविधानसभा निर्वाचनमा भने सुब्बाले बाजी मारे। ‘राजनीतिक बहिर्गमनमा पुगेको नेतालाई जीवनको उत्तरार्धमा पार्टीले सम्मान गर्नुपर्ने अवस्थामा कारबाही गर्नु कति न्यायोचित हो?,’ उनी भन्छन्, ‘त्यसैको समाधानका निम्ति पनि विवाद न्यूनीकरण गरी पार्टीलाई एक बनाएर लैजानका लागि गगन थापाको नाम सिफारिस गरेका हौँ।’

थापाले चुनाव जित्ने आधार छ भन्ने प्रश्नमा उनले भने, ‘चुनाव लड्नुभएको खण्डमा जितिहाल्नुहुन्छ। तर उहाँले आफ्नो क्षेत्र छोड्नुहुन्न भन्ने पनि कुरा आएको छ। विशेषतः हामीले आन्तरिक द्वन्द्व समाधान गर्न महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने उद्देश्यले उहाँ (महामन्त्री थापा) को नाम सिफारिस गरेका हौँ।’

प्रदेश समितिले उम्मेदवार सिफारिसमा हस्तक्षेप गरेको आरोपबारे उनले पार्टीभित्रै छलफल र समन्वय आवश्यक रहेको बताए। यद्यपि पार्टीले आन्तरिक विवाद समाधान गरी जसलाई टिकट दिए पनि जिताउनेगरी आन्तरिक तयारी भइरहेको उनले स्पष्ट पारे।

तेह्रथुमबाट प्रदेशभामा भने प्रदेशसभा क्षेत्र नं. (क) बाट एमालेका किशोरचन्द्र दुलाल निर्वाचित भएका छन्। उनले कांग्रेसका सन्तोष सुब्बालाई पराजित गरेका थिए। यसैगरी (ख) बाट भने तत्कालीन समयमा गठबन्धन (माओवादी केन्द्र) बाट दुर्गा चापागाईँ निर्वाचित भएका थिए।

महामन्त्रीले ‘स्टन्ट’ गरेको आरोप

कांग्रेसका एक नेताले गगन थापाकै निर्देशनमा सीता गुरुङको नाम जिल्लाबाट काटिएको आरोप लगाए। संस्थापन पक्ष मानिएका उनले नाम नखुलाउने सर्तमा भने, ‘जिल्ला तहबाट महामन्त्रीको मात्रै नाम सिफारिस गर्नुको पछाडि केन्द्रीय तहकै दबाब रहेको हो कि भन्ने शंका गर्ने ठाउँ छ।’

गुरुङ ०७९ सालको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्ली महिला सांसद भए पनि यसपटक जिल्लाले उनको नाम सिफारिस नगर्नु अस्वाभाविक भएको ती नेताको भनाइ छ। उनका अनुसार महामन्त्री थापाले आफ्नो नाम अन्य जिल्लाहरूबाट पनि सिफारिस गराएर पार्टीभित्र ‘स्टन्ट’ गरिरहेका छन्।

यता पार्टी कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले गगन थापाको नाम मात्रै पठाइनु ‘स्टन्ट’ गरिएको आरोप लगाएका छन्। उनले भने, ‘यसरी नै सिफारिस गर्ने हो भने शेरबहादुर देउवा, शेखर कोइराला, पूर्णबहादुर खड्काको नाम पनि धेरै जिल्लाबाट आउने थिए। निर्वाचनलाई स्टन्टको विषय बनाउनु हुँदैन।’

प्रदेश समितिका प्रमुख सचिव नारायण कोइरालका अनुसार पार्टी तेह्रथुम कमिटीबाट आधिकारिक रूपमा कुनै नाम प्राप्त नभएको दाबी गरेका छन्। उनले जिल्लाबाट इमेलमार्फत कुनै औपचारिक सिफारिस नआएकाले गुरुङको नाम केन्द्रमा पठाइएको जिकिर गरे।

उनका अनुसार २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको छ। खोटाङबाहेक सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस गरिएको उनले बताए। प्रतिनिधिसभा निर्वाचनका लागि ३२३ जनाको नाम सिफारिस गरिएको उनको भनाइ छ। यसैगरी ११ माघमा तोकिएको राष्ट्रियसभाका तीन उम्मेदवारका लागि १३१ जनाको नाम सिफारिस गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast