चिसो बढेपछि धनुषाको जनकपुरधाम–१५ रामपुरमा आगो तापिरहेका सर्वसाधारण र जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा लागेको बिरामीको लाम। तस्बिर सौजन्य : घनश्याम मिश्र
जनकपुरधाम- मधेशमा अत्यधिक चिसो बढेको छ। मानिसहरूले चिसो छल्न दाउरा, गुइँठा र कोइला बालेर ताप्न थालेका छन्। शीतलहर फैलिएका कारण मधेशका ८ जिल्लाका मानिसहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किएका छैनन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेशका विभिन्न ठाउँमा हुस्सु/कुहिरोले ढाकेर शीतलहर फैलिएको छ। मधेशमा पुस ३ यता शीतलहर देखिएको हो।
चिसोबाट बच्न आगो ताप्दा जलनका घटना बढेका छन्। प्रादेशिक अस्पताल जनकपुरधाममा जलन र हाइपोथर्मियाका बिरामीको संख्या थपिइरहेको चिकित्सकहरूले बताए।अस्पताल प्रशासनका अनुसार दैनिक औसत ४-५ सय बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये ४० प्रतिशतको हाराहारीमा जलन र हाइपोथर्मियोको बिरामी छन्।
अस्पतालका निर्देशक डा. जामुन सिंह तापक्रम घटेपछि हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डायरिया, दम तथा मुटुसम्बन्धी समस्याका बिरामीको संख्या बढेको बताउँछन्। उनका अनुसार अस्पतालमा आउने अधिकांश हाइपोथर्मिया र जलनका बिरामी गरिब, मजदुर, वृद्धवृद्धा, बालबालिका तथा खुला स्थानमा बसोबास गर्ने ग्रामीण क्षेत्रका व्यक्ति हुन्।
सिंहले भने, ‘उपचार गराउन आउने बिरामीमध्ये धेरैजसो हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डायरिया, दम र हर्ट अट्याकबाट पीडित छन्। तीमध्ये हाइपोथर्मिया, जलन र भाइरल निमोनियाका बिरामीको संख्या बढी छ।’
चिकित्सकका अनुसार बाहिरी चिसोको अत्यधिक प्रभावले शरीरको तापक्रम घटेपछि चिसोबाट बच्न आगो ताप्ने क्रममा जलन हुन सक्छ। लामो समयसम्म चिसोमा बस्दा शरीरको तापक्रम असामान्य रूपमा घटेर हाइपोथर्मियाको समस्या देखिन्छ।
डा. सिंहले भने, ‘लामो समयसम्म अत्यधिक चिसो वातावरणमा रहँदा शरीरले आफूलाई न्यानो राख्न नसक्दा हाइपोथर्मिया हुन्छ। मधेश क्षेत्रमा घरभित्र दाउरा, कोइला र गुइँठा बालेर झ्यालढोका बन्द गर्दा निस्कने धुवाँ बाहिर जान नसकी अक्सिजनको मात्रा घट्छ। यस क्रममा कार्बन मोनोअक्साइड शरीरमा प्रवेश गर्दा श्वासप्रश्वासमा समस्या हुन्छ र ज्यानसमेत जाने जोखिम हुन्छ।’
चिसो हावामा बस्नु, पर्याप्त न्यानो लुगा नलगाउनु, भिजेको कपडा लगाउनु, राति खुला स्थानमा सुत्नु, पोषणको कमी तथा घरभित्र आगो बाल्दा निस्किने धुवाँ हाइपोथर्मियाका प्रमुख कारण रहेको उनले बताए।
डा. सिंहले नवजात शिशु र बालबालिका, वृद्धवृद्धा, गरिब तथा दैनिक ज्यालादारी मजदुर, सडकमा बसोबास गर्ने व्यक्ति, दीर्घरोगी (दम, मधुमेह, मुटुरोगी), कुपोषित व्यक्ति तथा गर्भवती महिला हाइपोथर्मियाबाट बढी प्रभावित हुने गरेको जानकारी दिए। ‘यी समूहमा शरीरको ताप सन्तुलन गर्ने क्षमता कमजोर हुने भएकाले हाइपोथर्मिया छिटो देखिन्छ’, उनले भने।
के हो हाइपोथर्मिया?
हाइपोथर्मियालाई चिकित्सा आपतकालका रूपमा परिभाषित गरिएको छ जुन शरीरको तापक्रम ९५°F (३५°C) भन्दा कम हुँदा हुन्छ। मानव शरीरले ९८.६°F (३७°C) वरिपरि कोर तापक्रम कायम राख्छ र थोरै गिरावटले पनि सामान्य शारीरिक कार्यहरूमा बाधा पुर्याउन सक्छ।
हाइपोथर्मियालाई गम्भीरताको आधारमा तीन चरणहरूमा वर्गीकृत गर्न सकिन्छ: हल्का (९५°F देखि ८९.६°F), मध्यम (८९.६°F देखि ८२.४°F), र गम्भीर (८२.४°F भन्दा कम)। प्रत्येक चरणमा फरक-फरक लक्षणहरू हुन्छन् र फरक-फरक स्तरको चिकित्सा हस्तक्षेप आवश्यक पर्दछ।
हाइपोथर्मियाका बिरामीमा शरीर काप्ने, श्वासप्रश्वासमा समस्या, बोली अस्पष्ट हुने, छाला चिसो तथा नीलो देखिने, बेहोस हुने जस्ता लक्षण देखिने गरेको छ।
कसरी बच्ने?
डा. सिंहले हाइपोथर्मियाबाट बच्न घरभित्र झ्यालढोका बन्द गरी आगो नबाल्न, न्यानो कपडा लगाउन, बिहान र राति अत्यावश्यकबाहेक बाहिर ननिस्कन, आगो ताप्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। नवजात शिशुलाई न्यानो लुगा लगाई आमाबाबुको शरीरको तापबाट न्यानोपन दिनुका साथै प्रोटिनयुक्त दाल, गेडागुडी, झोलिलो खाना, अण्डा, केरा, तिलको लड्डु, जाउलो जस्ता पोसिलो खाना खानुपर्ने उनको सुझाव छ।
वरिष्ठ फिजिसियन डा. विजयकुमार सिंहले सास फेर्न गाह्रो भएको वा बेहोसी जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सुझाव दिए। डा. सिंहले गरिबी र जनचेतनाको अभावमा हाइपोथर्मियाका बिरामी बढिरहेको बताउँछन्। ‘मधेश प्रदेशमा गरिबीको दर उच्च छ। पर्याप्त न्यानो लुगा लगाउन र पोसिलो खाना खान नपाउनेहरू आगो ताप्न बाध्य हुन्छन्, जसले जोखिम बढाउँछ’, उनले भने।
सबै सुविधा उपलब्ध हुँदाहुँदै पनि उनका अनुसार जनचेतना अभावका कारण त्यसको सही उपयोग नगर्दा सहरी क्षेत्रका मानिसमा यस्ता समस्या देखिने गरेको छ।





