धनुषामा स्वच्छ ऊर्जा अभियान : विद्युतीय चुलोमाथि बढ्दै भरोसा

हिमाल प्रेस १२ पुष २०८२ २०:४३
6
SHARES
धनुषामा स्वच्छ ऊर्जा अभियान : विद्युतीय चुलोमाथि बढ्दै भरोसा

काठमाडौँ- धनुषाको गणेशमान चारनाथ नगरपालिका पछिल्लो समय स्वच्छ ऊर्जा प्रवद्र्धन र कार्बनमुक्त बस्ती विकासतर्फ अग्रसर बन्दै गएको छ।

एसियाली विकास बैंकको प्राविधिक सहयोग, क्लिन कुकिङ एलायन्सको नेतृत्व तथा एसपीआईद्वारा जानकी महिला जागरण समाज (जवास) सँगको सहकार्यमा क्लिन कुकिङ एलायन्स र एसपीआई नेपालको सहकार्यमा स्वच्छ खाना पकाउने–ऊर्जा प्रवद्र्धन परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमले गणेशमान चारनाथ नगरपालिकालाई स्वच्छ ऊर्जा प्रवद्र्धन र कार्बनमुक्त बस्ती विकासका लागि प्रोत्साहित गरेको हो।

परियोजनाअन्तर्गत १ हजार २ सय घरपरिवारलाई सहुलियत दरमा विद्युतीय चुलो वितरण गरिएको छ। त्यस्तै नगरपालिकाको सहयोगमा चुलोसँगै स्टिल र नन–स्टिक भाँडाकुडा निःशुल्क वितरण गरिएको थियो। परियोजनाको पहिलो चरण सन् २०२५ देखि सुरू भएको हो।

परियोजनाअन्तर्गत सहुलियत दरमा चुलो वितरणको पहिलो चरण समापनको अवसर पारेर स्वच्छ खाना पकाउने–ऊर्जा प्रवद्र्धन तथा च्याम्पियन सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै क्लिन कुकिङ एलायन्सकी नेपाल प्रतिनिधि करुण बज्राचार्यले विद्युतीय चुलोको प्रयोगले कार्बनरहित खाना पकाउने वातावरण निर्माणमा सहयोग पुग्ने बताइन्। धुँवामुक्त भान्सा स्वास्थ्य जोखिम घटाउने, एलपीजी खर्च बचत गर्ने र विदेशी मुद्रा जोगाउने सम्भावना बढाएको उनको भनाइ थियो।

त्यस्तै एसपीआई नेपालकी प्रबन्ध निर्देशक सरिता कार्कीले यो अभियानले एलपी ग्यासप्रतिको निर्भरता घटाउँदै स्वेदेशी ऊर्जाको खपत बढाउने बाटो खोलेको बताइन्। उनले यसलाई स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई जोड्ने त्रिकोणात्मक फाइदायुक्त कार्यक्रमसमेत भनिन्।

गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादवले नगरपालिकाले स्च्छ ऊर्जा प्रवद्र्धनमा निरन्तर सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा थप सशक्त रहने बताए। ‘आवश्यक बजेट तथा व्यवस्थापकीय सहयोगका लागि नगरपालिका सधैँ तत्पर रहनेछ,’ उनले भने।

कार्यक्रमको आकर्षण विद्युतीय चुलामो पकाउने प्रतियोगिता रह्यो। प्रतियोगितामा प्रथम प्रिती श्रेष्ठ (वडा–१), द्वितीय ज्ञानदेवी पण्डित (वडा ३) र तृतीय शिवकुमारी धमला (वडा ६) भए। विजेताहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै २६ जना महिलालाई ‘क्लिन कुकिङ च्याम्यिन’ घोषणा गरी सम्मान गरिएको थियो। प्रमाणपत्र मेयर यादव, क्लिन कुकिङ एलायन्सकी नेपाल प्रतिनिधि बज्राचार्य र जवास अध्यक्ष मन्दा कर्णलगायतका अतिथिहरूले वितरण गरेका थिए। कार्यक्रम जवास अध्यक्ष कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन एसपीआईकी किरण चौधरीले गरेकी थिइन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै जवासका कार्यकारी निर्देशक राजन नेपालले यो अभियान केवल चुलो वितरणमा सीमित नभई स्वच्छ ऊर्जाप्रति जागरण फैलाउने दीर्घकालीन प्रयास भएको बताए।

विद्युतीय तथा धुँवामुक्त चुलो प्रयोगको संस्कार बसाल्नसके स्वास्थ्य, वातावरण र अर्थतन्त्र क्षेत्रमा सकारकात्मक परिवर्तन देखिने उनको भनाइ थियो।
विद्युतीय चुलो गरिरहेका महिलाहरूले धुवाँ हटेपछि आँखा पोल्ने, खोकी लाग्ने समस्या कम भएको अनुभव सुनाइन्। धेरै परिवारले एलपी ग्यासलाई विकल्पमात्र बनाउँदै विद्युतीय चुलोलाई पहिलो रोजाइ बनाइसकेको बताइन्।

यो अभियानले गणेशमान चारनाथ नगरपालिकालाई स्वच्छ ऊर्जा प्रयोगको स्थानीय मोडेलको रूपमा स्थापित गरेको छ।

प्रकाशित: १२ पुष २०८२ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast