जनकपुरधाम– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने भएका छन्। सत्तापक्षीय सातदलीय गठबन्धनको सोमबार बसेको बैठकले पुस ४ गते दिउँसो ४ बजे विश्वासको मत लिने निर्णय गरेको जसपा संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका हुन्।
उनले भने, ‘तत्कालका लागि विश्वासको मत र सभामुख चयन बारे टुंगो लगाइएको छ। मन्त्रालय बाँडफाँटबारे अब बस्ने बैठकबाट टुंगो लगाइनेछ।’ सभामुख पद जसपाको भागमा परेको छ।
सभामुखको चयनबारे पुस २ गते १ बजे बस्ने बैठकबाट निर्वाचन प्रक्रिया सुरु हुने जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए।
जसपा नेता यादवले प्रतिपक्षी दल एमाले महाधिवेशनमा लागेकाा कारण विश्वासको मत लिन ढिलाइ भएको बताए। उनले भने, ‘मन्त्रालय बाँडफाँटमा कुरा मिले सबै दलबाट एकएक जना मन्त्रीले सोही दिन शपथ ग्रहण गर्नेछन्।’
नेपाली कांग्रेसका यादव मंसिर २० गते मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यादव नेतृत्वको सरकारलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन्। एमालेबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मधेशमा तीनवटा सरकार ढलेर चौथो मुख्यमन्त्री नियुक्त भएका छन्। जेनजी विद्रोहको समय तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएका थिए । असोज २२ गते लोसपाका प्रदेशसभा सदस्य जितेन्द्रप्रसाद सोनार (सोनल) मुख्यमन्त्री नियुक्त भए । सोनलले पनि विश्वासको मत पाउने संकेत पाएपछि कात्तिक २२ गते राजीनामा दिए।
दलहरूबीच सरकार गठनका लागि छलफल भइरहेका बेला तत्कालीन प्रदेश प्रमुख सुमित्रासुवेदी झण्डारीले कात्तिक २३ गते संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दल एमालेको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत नपाए संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई परमादेश दिएको थियो। यद्यपि यादवले प्रदेशसभामा मत माग्ने बेला सातै दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए । त्यसपछि उनले राजीनामा घोषणा गरेका थिए । उनको राजीनामापछि नेपाली कांग्रेसले पहिलो पटक मधेश सरकारको नेतृत्व गर्ने अवसर पाएको छ।
मधेशमा लालबाबु राउत, सरोजकुमार यादव, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल, सरोजकुमार यादव (महोत्तरी) मुख्यमन्त्री भइसकेका छन्। यीमध्ये लालबाबु राउत मात्रै पूरा कार्यकाल नेतृत्व गर्ने मुख्यमन्त्री हुन्।



