जनकपुरधाम- मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता डा.सुरेन्द्र महतो पदमुक्त भएका छन्।
आइतबार बसेको नवगठित मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले मुख्यन्यायाधिवक्ता महतोलाई पदमुक्त गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयबाट जारी गरिएको पत्रअनुसार महतोलाई नेपालको संविधानका धारा १६० को उपधारा (४) (क) बमोजिम मंसिर २१ गतेदेखि लागु हुनेगरी पदमुक्त गरिएको हो।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटमा महतोले सरकारको तर्फबाट पैरवी गरेका थिए।
सरकारको नेतृत्व परिवर्तन भएसँगै सरकारको कानुनी सल्लाहकारका रूपमा रहने मुख्यन्यायाधिवक्ताले आफैँ राजीनामा दिने परम्परा रहेको छ। तर, तीनपटक सरकार परिवर्तन भइसके पनि महतोले राजीनामा दिएका थिएनन्।
जनमत पार्टीका तर्फबाट सतिशकुमार सिंह मुख्यमन्त्री भएकाबेला महतो मुख्यन्यायाधिवक्ता नियुक्त भएका थिए। जनमत पार्टीले उनलाई मुख्यन्यायाधिवक्ताका लागि सिफारिस गरेको थियो।
निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवविरूद्ध परेको रिटमा जनमत पार्टी समेत वादी रहेकोमा उनले आफ्नै पार्टीविरूद्ध बहस गरेका थिए।



