काठमाडौँ- आइतबार बिहानको निद्रा खुलेसँगै आमनेपालीले एउटा खुसीको समाचार हेरे। त्यो थियो, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको सहकार्य।
मेयर बालेन र रास्वपाका सभापति लामिछानेबीच ७ बुँदे सम्झौता पत्रमा हस्ताक्षरसहितको फोटो सर्वत्र थियो। बालेनले शुभ प्रभातसँगै घण्टी चिह्नको स्टिकर राखेर एक फोटो पोस्ट गरे। उता रविले ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ’ भन्दै लेखे।
बालेन-रविबीच सहकार्य भएपछि चर्चित सेलिब्रटी, संगीतकर्मी र कन्टेन्ट क्रियटरहरूले उनीहरूको यो निर्णयको स्वागत गरेका छन्। अधिकांशले उनीहरूको सहकार्यमा खुसी व्यक्त गर्दै फेसबुकमार्फत शुभकामना दिएका छन्।
राजनीति गतिविधिमा आफ्नो टिप्पणी लेखिरहने कलाकार तथा फिल्म निर्देशक दीपकराज गिरीले यसअघि पनि अन्य दलहरूबीच सहमति भएको फेसबुकमा स्मरण गरेका छन्। उक्त सहमतिमा देशले सोचे जस्तो गति लिन नसकेको भन्दै उनले रवि र बालेनपछि विकल्प खोज्न नपरोस् भन्दै शुभकामना दिएका छन्।
उनले लेखेका छन्, ‘२००७ सालमा कांग्रेस, २०४६ सालपछि कांग्रेस र एमाले। ६२/६३ मा माओवादी। जनताले हरेकपल्ट परिवर्तनको आवाजलाई साथ दिएकै हुन्! पटक-पटक अनेकौं विकल्पहरूको प्रयोग भयो! तर देशले सोचे जस्तो गति लिन सकेन! यो पछिल्लो मिलनपछि मुलुकले फेरि अर्को विकल्प खोज्नु नपरोस् सबै साथीहरूलाई शुभकामना!’
अभिनेत्री मनिषा कोइरालाले पनि सामाजिक सञ्जाल एक्समार्फत देशको विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा रहेको धारणा राखेकी छन्। उनले लेखेकी छन्, ‘विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।’
रियालिटी सो कमेडी नाइट विथ च्यापियन्सका निर्देशक विशाल भण्डारीले रवि र बालेनको एकता जेनजी आन्दोलनको माग, सदन र सरकारमा नयाँ अनुहारको बलियो उपस्थितिको लागि आवश्यक रहेको धारणा राखेका छन्। उनले लेखेका छन्, ‘जेनजी, आन्दोलनको माग, सदन र सरकारमा नयाँ अनुहारको बलियो उपस्थितिको लागि अहिलेलाई यो कदम आवश्यक थियो। देश विकास र जनहितमा काम गर्ने आशा राख्दै बधाई अनि शुभकामना’
अभिनेत्री केकी अधिकारीले फेसबुकमा रवि र बालेनको एकता सदैव नेपाल र नेपालीको हितका लागि अगाडि बढोस् भन्दै शुभकामना दिएकी छन्।
अभिनेता तथा फिल्म निर्माता निर्मल शर्माले अब देश समृद्धितर्फ अघि बढ्नेमा आफू आशावादी रहेको धारणा राखेका छन्। उनले लेखेका छन्, ‘अब देश समृद्धितर्फ अघि बढ्छ भन्नेमा आशावादी छु।’
त्यस्तै फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले देशको लागि सँगै भन्दै रवि र बालेनको फोटो पोस्ट् गरेका छन्। उनी आफैँ पनि रवि र बालेनको एकतामा सहभागी थिए।
गायिका एलिना चौहानले बालेन र रविको फोटो पोस्ट् गर्दै अब जे होला राम्रो होला भन्ने तर्क गरेकी छन्। उनले लेखेकी छन्, ‘अब के होला? जे होला राम्रो होला।’
फिल्म निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले एक र एक मिलेर ११ बनोस् भन्दै शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘१ र १ मिलेर २ होइन, ११ बनोस्।’
रास्वपा नेता तथा फिल्म निर्देशक असिम शाह, अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता नाजिर हुसेनले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै समर्थन जनाएका छन्।
रवि र बालेन मिलाउन भूमिका खेल्ने फिल्मकर्मीहरूलाई धन्यवाद दिँदै गायक महेश काफ्लेले वर्तमान परिस्थितिमा देशलाई यही ध्रुवीकरण आवश्यक रहेको धारणा राखेका छन्। उनले लेखेका छन्, ‘प्रमुख तथा मूलधारका भनिएका राजनीतिक दलहरू वा विद्यमान परिस्थितिप्रति असन्तुष्ट आवाज बनेर उदाएका वैकल्पिक भनिएका शक्तिहरू! यसको अन्तिम फैसला जनताले आफ्नो मतमार्फत नै गर्नेछन्। वर्तमान परिस्थितिमा देशलाई यो ध्रुवीकरण आवश्यक थियो र यसका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा विशेष धन्यवाद।’
गायक शिव परियारले देशका युवाहरू फुटेको भन्दा जुटेकै राम्रो भन्ने तर्क दिएका छन्। उनले लेखेका छन्, ‘देश अब हामीले मिलेर बनाउनुपर्छ भन्ने सवालमा देशका युवाहरु फुटेको भन्दा जुटेकै राम्रो।’
कलाकार तथा निर्देशक कुमार कट्टेलले रवि र बालेनको एकताले समृद्ध नेपाल बनाउने महाअभियानको स्पष्ट मार्गचित्र कोर्न सफल होस् भन्दै शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘यो एकताले भिजनरी पोलिटिक्स र समृद्ध नेपाल बनाउने महाअभियानको स्पष्ट मार्गचित्र कोर्न सफल होस् शुभकामना! म नेपाल हाँसेको हेर्न चाहन्छु।’
फिल्म निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले आफ्नै फिल्मको प्रचारशैली प्रयोग गर्दै अँध्यारोपछिको उज्यालो, दुःख पछिको सुख, झरीपछिको इन्द्रेणी भन्दै शुभकामना दिएका छन्।
त्यसो त रवि र बालेनको मिलन गराउन केही फिल्मकर्मी नै सहभागी थिए। दुवैबीच भेटवार्ता गराउनदेखि सहमतिसम्म आइपुग्दा फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेत, फिल्म निर्माता कुमार ब्यञ्जनकार, फिल्म निर्माता, निर्देशक तथा रास्वपा नेता असिम शाह र उनकै दाइ अभिनेता तथा गायक आसिफ शाह निकै सक्रिय देखिए।





