बेइजिङ- अहिले विश्वमा थाङ्का भनेर चिनिने चित्रकलालाई नेपाल भाषामा पौभा भनिन्छ। वास्तवमा, पौभा नेपालको मौलिक चित्रकला हो। १२/१५ सय वर्ष अगाडिदेखि नै काठमाडौँ उपत्यकामा सिर्जित यो कला चीनको तिब्बत पुगेपछि थाङ्का भएको हो।
पछिल्लो समय, थाङ्का र पौभा एउटै विधाका केही फरक र भिन्न चित्रकलाको रूपमा पनि व्याख्या गरेको पाइन्छ। यसैबीच, एक पौभा तथा थाङ्काप्रेमी सङ्ग्रहकर्ता चिनियाँले नेपाली र चिनियाँ कलाकारका चित्रकलालाई समावेश गरी पुस्तक प्रकाशन गरेका छन्।
डिसेम्बर १६ तारिख, मंगलबार, बेइजिङमा ‘हिमालपार संवाद – चीन र नेपालका सुन्दर थाङ्का सङ्ग्रह’ शीर्षकमा नेपाली र चिनियाँ कलाकारका पौभा तथा थाङ्का चित्रकला समेटिएको पुस्तक सार्वजनिक गरिएको हो।

सछ्वान फाइन आर्टस् पब्लिसिङ हाउसद्वारा प्रकाशित उक्त पुस्तकमा चिनियाँ कलाकारहरूले सिर्जना गरेका ३३ वटा थाङ्का र नेपाली कलाकारहरूले सिर्जना गरेका ६६ वटा पौभाका साथै थाङ्का र पौभा सम्बन्धित लेखहरू समावेश छन्।
उक्त पुस्तक पौभा तथा थाङ्का प्रेमी सङ्ग्रहकर्ता छ्याओ क्वोचिनले सम्पादन गरेका हुन्। छ्याओ क्वोचिनलाई सन् २०१८ मा नेपाल सरकारले ‘नेपाली कला तथा सांस्कृतिक विशेष दूत’ बाट सम्मानित गरेको थियो।
सो पुस्तक तथा पुस्तक विमोचन कार्यक्रम पनि चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउन तथा कलाको माध्यमबाट दुई देश बीचको सांस्कृतिक आदानप्रदानलाई गहिरो बनाउन र मित्रताको नयाँ अध्याय लेख्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै एक पूर्व चिनियाँ अधिकारीले सांस्कृतिक संवाद र कलाको अन्तरस्पर्श भएको बताए। उनले भने, ‘चित्र र प्रदर्शनीहरूले दुई देश बीचको मित्रतालाई भव्य उपलब्धिमा बदलिदिएका छन्, बरू पहाड र नदीले भेद गर्लान्, मानिसका मन मुटु सम्पर्कमा छन्। यसले देखाउँछ कि दुई देश बीचको सांस्कृतिक आदान प्रदान नयाँ उचाइमा पुगेको छ।’

चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव भए तापनि दुई देश बीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको औँल्याइन्। हजारौँ वर्षदेखि दुई देशका कला, संस्कृतिले एक अर्कालाई आकर्षित गरिरहेको उनको भनाइ थियो। साथै, उनले यस पुस्तकले पनि नेपाल चीन बीचको दीर्घकालीन मित्रतालाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
पुस्तकका सम्पादक छ्याओ क्वोचिनले पुस्तकमा ६६ वटा नेपाली र ३३ वटा चिनियाँ कलाकृति समावेश गरिएको जानकारी दिँदै चीन र नेपालबीच कलात्मक आदानप्रदान प्रवर्द्धन गर्न आफूले धेरै वर्षहरू बिताइसकेको सुनाए। आफ्नो सम्बोधनमा उनले चीन र नेपाल बीचको साँस्कृतिक आदान प्रदानको लामो इतिहासले दुवै देशका कलाकारहरूको सिर्जनात्मकताका लागि असीम प्रेरणा र रचनात्मकता प्रदान गरेको पनि बताए। उनले दुवै देशका थाङ्का चित्रकलासम्बन्धी पछिल्ला उपलब्धिहरूलाई सङ्कलन गरेर एउटा सङ्ग्रह तयार पारेको र यसले दुवै देशका कलाकारहरूलाई कलात्मक आदानप्रदान गर्दै सँगै अगाडि बढ्न प्रवर्द्धन गर्ने विश्वास पनि व्यक्त गरे।
पुस्तकका लेखक लियू चोङच्युनले पुस्तक तयार गर्न एक दशकभन्दा बढी समय खर्चेको सुनाए। उनले क्वोचिनसँगको आफ्नो दस वर्षभन्दा बढी समयको सहकार्य र मित्रताका पलहरूको सम्झना गरे।
सछ्वान फाइन आर्टस् पब्लिसिङ हाउसका उपनिर्देशक वाङ दीले दक्षिण एसियामा साँस्कृतिक आदान प्रदानका लागि प्रकाशन गृहले गरेको लामो प्रयास र परिणामको स्मरण गरिन्। उनले यस पुस्तक सभ्यताहरू आदानप्रदान र पारस्परिक सिकाइबाट समृद्ध हुन्छन् भन्ने महत्त्वपूर्ण दाबीको ज्वलन्त व्यावहारिक प्रदर्शन भएको औँल्याइन्। सो पब्लिसिङ हाउसले यस पुस्तकलाई नेपाल र अन्य देशसँग साँस्कृतिक सहयोग प्रगाढ बनाउन, बेल्ट एण्ड रोडमा जनस्तरको सम्बन्ध विस्तार गर्न र नेपाललगायत अन्य मुलुकसँग साँस्कृतिक सहयोग गर्दै सबै पक्षसँग सहकार्य गर्न नयाँ प्रस्थान विन्दुका रूपमा प्रयोग गर्ने बताइन्।

नेपाली कलाकार उजय बज्राचार्यले कपडामा चित्रित पारम्परिक नेपाली बौद्ध चित्रकला हिमाली कलाको खजाना भएको बताए। भविष्यमा, चीन र नेपाल बीचको कला प्रदर्शनी र शैक्षिक अनुसन्धानजस्ता विभिन्न माध्यमहरूबाट सांस्कृतिक क्षेत्रको सहकार्य अझ गहिरो बनाउन सक्ने पनि उनले औँल्याए। सो पुस्तकमा चार नेपाली पौभा कलाकार क्रमशः राजप्रकाश तुलाधर, देवेन्द्र सिंख्वल, उजय बज्राचार्य र समुद्र मान सिँह श्रेष्ठका परिचयसहित कलाकृतिहरू समावेश छन्।
थाङ्का दुई देश बीचको दीर्घकालीन मित्रताको प्रतीक हो। सो पुस्तकले पहिलो पटक दुई देशका थाङ्का कलाहरूको परम्परागत प्रविधि, शैली, भिन्नता र साँस्कृतिक अर्थहरू बुझाउने प्रयास गरेको छ। पुस्तकले उक्त कलासम्बन्धमा रूचि राख्ने तथा अनुसन्धानकर्ताहरूलाई गहन बुझाइ प्राप्त गर्न पत्र उघारेको छ। पुस्तक चीन र नेपाल बीचको थाङ्का कला र साँस्कृतिक आदानप्रदान अध्ययन गर्ने क्रममा महत्त्वपूर्ण सन्दर्भ दस्तावेज बन्ने अपेक्षा गरिएको छ।
चीन र नेपाल हिमाल, पहाड र नदीहरूले जोडिएका छन् र हजारौँ वर्षदेखि एकअर्कामा परिचित छन्। यस वर्ष नेपाल चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हो। चीन र नेपालले सक्रिय रूपमा ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ पनि कार्यान्वयन गरेका छन्, र सांस्कृतिक आदान प्रदानका विभिन्न गतिविधिहरूले दुई देशका जनस्तरको सम्बन्धलाई बलियो ढंगले प्रवर्द्धन गरेको छ।

कार्यक्रममा, चीनका विभिन्न प्रतिष्ठित संघसंस्था तथा सांस्कृतिक र कला समुदायका प्रतिनिधिहरू तथा चीनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनाल, काउन्सिलर सबिता नकर्मी र सो पुस्तकमा समेटिएका दुई पौभा कलाकार राजप्रकाश तुलाधर र उजय बज्राचार्यको पनि उपस्थिति थियो। यसैगरी, नेपाली पौभा तथा थाङ्का सङ्ग्रहकर्ता प्रकाश राज तुलाधर र लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा अक्षेश्वर परम्परागत बौद्ध कला कलेजका संस्थापक अध्यक्ष राजेश शाक्य यसै कार्यक्रमका लागि बेइजिङ आएका थिए।
सछ्वान फाइन आर्टस् पब्लिसिङ हाउस, सछ्वान इन्टरनेशनल कल्चरल एक्सचेञ्ज सेन्टर र अरनिको फ्रेण्डसिप हाउस (बेइजिङ) कल्चरल एक्सेञ्ज सेन्टर मुख्य आयोजक रहेको सो कार्यक्रमलाई बेइजिङ आइसिन वानली पब्लिक वेलफेयर फाउन्डेशन, बेइजिङस्थित नेपाली दूतावास र नेपाल हस्तकला महासंघले सघाएको छ। यसबाहेक, सछ्वान आर्ट म्युजियम, सिचाङ अटोनोमस रिजन आर्टिस्ट एसोसिएसन, नानका आर्ट तथा आर्ट सेन्टर, बेइजिङ यौयी कल्चर कम्पनी सहप्रयोजकको रूपमा रहेका छन्।
नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचनका साथै थाङ्का प्रदर्शनीको आयोजना समेत गरेको छ। पुस्तकमा सङ्ग्रहित कृतिहरू नै प्रदर्शनीमा राखिएका छन्। बेइजिङको यूनाइटेड आर्ट सेन्टर यौयीसू केन्द्रमा जारी प्रदर्शनी सन् २०२६ को जनवरी ५ तारिखसम्म खुल्ला रहने छ।





