गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गर्छन् भूपेन्द्र शर्मा

हिमाल प्रेस ९ पुष २०८२ ७:०१ | Wednesday, December 24, 2025
24
SHARES
गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गर्छन् भूपेन्द्र शर्मा

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् ।

शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन्। गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए।

‘रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु’, उनले भने, ‘जैविक विषादीको प्रयोगबाट दिगो कृषि, स्वस्थ्य उपज उत्पादनका साथै पर्यावरण सन्तुलन कायम राख्न सहयोग पुगेको छ ।’

जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाको बोट र तरकारी बालीमा छर्कँदा मल र शत्रुजीव नष्ट गरी दोहोरो फाइदा गर्ने शर्माको अनुभव छ । पर्यावरण सन्तुलनका लागि व्यावसायिक रूपमा खाद्यबाली, फलफूल र तरकारीखेती गर्ने किसानले एकीकृत कृषि गर्नुपर्ने उनको सुझाव छ ।

सन् २००२ मा रोजगारीका लागि युएई गएका शर्माले १० वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा स्वदेश फर्किएर बिसम कृषि तथा पशुपालन फार्म स्थापना गरेका थिए। ‘घर फर्किएलगत्तै विदेश जानुअघि लगाएका एक सय ५० सुन्तलाका बोटलाई स्याहारसुसार गरेर उत्पादन दिने बनाउनुका साथै बाँझिएको पाखोबारीमा तीन सय नयाँ बिरुवा लगाएँ’, उनले भने, ‘यो वर्ष प्रतिकिलो रु ७० का दरले ७० क्विन्टल सुन्तला चितवनका व्यापारीलाई बगैँचाबाट बिक्री गरेँ ।’

विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै खेतबारीमा गर्न सकेमा घरपरिवारसँगै बसेर आयआर्जन गर्न सकिने शर्माको अनुभव छ । सुन्तलाखेतीबाट आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश जाने सपना त्यागेको उनले बताए ।

शर्मालाई श्रम तथा रोजगार मन्त्रालयले गत वर्ष वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरेकामा पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालयले गत असार र मालिका गाउँपालिकाले गत फागुनमा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको थियो ।

शर्माले सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी पनि स्थापना गरेका छन् । गत वर्ष रु ८० हजार मूल्यबराबरको सुन्तलाका बिजु ९बियाँबाट उत्पादन गरेको० बिरुवा बिक्री गरेका शर्माले यस वर्ष आठ हजार नयाँ बिरुवा तयार पारेका छन्।

बगैँचामै सडक सुविधा पुगेका कारण कृषि उपज बजारीकरणमा समस्या छैन । नजिकै पानीको स्रोत भएकाले सिँचाइको सुविधा पनि सहज छ । शर्मासँगै उनका छिमेकी लक्ष्मण गौतम, तेजेन्द्र शर्मालगायत किसानले पनि गहुँ, मकै, धान, कोदोलगायत परम्परागत खाद्यबाली छाडेर व्यावसायिक सुन्तलाखेती गरेका छन् । रासस

प्रकाशित: ९ पुष २०८२ ७:०१ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast