१९ जना नेपाली विद्यार्थीलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

हिमाल प्रेस १५ मंसिर २०८२ १६:०७
30
SHARES
१९ जना नेपाली विद्यार्थीलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

काठमाडौँ- नेपालका १९ जना विद्यार्थीहरूलाई अस्ट्रेलियामा स्नातकोत्तर अध्ययन गर्न अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान गरिएको छ। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्सटन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले १९ जना नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान गरेका हुन्।

अस्ट्रेलियाली सरकारको प्रतिष्ठित अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्राप्त गरेका यी विद्यार्थीहरूले सन् २०२६ मा अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्नेछन्। छात्रवृत्तिमा अध्ययन गर्न अस्ट्रेलिया जाने १९ जना नयाँ विद्यार्थीहरूमध्ये १३ जना सार्वजनिक सेवा क्षेत्रका, ११ जना महिला र २ जना अपांगता भएका व्यक्ति रहेका छन्।

छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै शिक्षा सचिव चुडामणि पौडेलले अस्ट्रेलिया अवार्ड्स प्राप्तकर्ताहरूलाई बधाई दिए। नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेकोमा अस्ट्रेलियाली सरकारलाई धन्यवाद दिए।

राजदूत जोन्स्टनले विद्यार्थीहरूलाई आफ्नो अवसरको अधिकतम उपयोग गर्न, बहुसांस्कृतिक अस्ट्रेलियाको विविधता र समृद्धि अनुभव गर्न र अस्ट्रेलियाली जनता तथा संस्थाहरुसँग बलियो सम्बन्ध निर्माण गर्न प्रोत्साहित गरेका थिए।

‘अस्ट्रेलिया अवार्ड्स कार्यक्रमले हाम्रा दुई देशहरु बिचको सबल सहकार्य र समावेशीकरण, शिक्षा तथा नेतृत्वप्रतिको हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्बित गर्छ। हामी यस वर्षको छनौटमा पर्नुभएका विद्यार्थीहरूको विविधता र यसले प्रतिनिधित्व गर्ने दृष्टिकोण प्रति गर्व गर्छौं,’ राजदूत जोन्सटनले भने।

अस्ट्रेलियाली सरकारको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति एक परिवर्तनकारी उच्च शिक्षा हासिल गर्ने अवसर भएको अस्ट्रेलियाली दूतावासले जनाएको छ। यसले आफ्ना क्षेत्रमा नेतृत्व गर्ने क्षमता भएका विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानका अवसर प्रदान गर्छ, जसबाट उनीहरूले सीप, ज्ञान र सम्बन्धहरु विकास गरी आफ्नो देशमा परिवर्तन ल्याउन र विकासमा योगदान पुर्‍याउन सक्ने दूतावासको भनाइ छ। दूतावासका अनुसार धेरै अस्ट्रेलिया अवार्ड्स प्राप्त पूर्वविद्यार्थीहरू नेपाल फर्किएपछि सरकारी सेवा, नागरिक समाज र व्यवसायिक क्षेत्रमा वरिष्ठ पदमा पुगेर योगदान गरिरहेका छन्।

‘विदेशी विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर प्रदान गर्नु सन् १९५० को कोलम्बो प्लान देखि नै अस्ट्रेलिया सरकारको विदेश नीतिको मुख्य विशेषता रहँदै आएको छ। त्यसयता, विश्वभरका १ लाखभन्दा बढी व्यक्तिहरूले अस्ट्रेलियाली सरकारको छात्रवृत्ति प्राप्त गरी अस्ट्रेलिया वा प्रशान्त क्षेत्रमा अध्ययन गरेका छन्। १,३०० भन्दा बढी नेपालीले अस्ट्रेलिया अवार्ड्सको सहयोगमा अस्ट्रेलियामा अध्ययन तथा अनुसन्धान गरेका छन्,’ दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ।

अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको अर्को चरणको आवेदन सन् २०२६ फेब्रुअरीमा खुल्नेछ।

प्रकाशित: १५ मंसिर २०८२ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast