काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले ९ बुँदे सहमति कार्यान्वयनका लागि आज अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ।
गत वैशाख १७ गते ८९ दिन लामाे आन्दोलनपछि सरकारले गरेको ९ बुँदे सहमति कार्यान्वयनका लागि अर्थमन्त्री खनालको ध्यानाकर्षण गराइएको महासंघका उपमहासचिव मदनराज जोशीले जानकारी दिए।
भेटवार्तामा सकारात्मक संकेत प्राप्त भएको जोशीले बताए। अर्थमन्त्रीले सहमतिको कार्यान्वयन कहाँ कसरी गर्ने भन्नेमा यसै हप्ताभित्र जानकारी गराउने आश्वासन दिएको जोशीको भनाइ छ।
त्यसैगरी, शिक्षक कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउन पनि ध्यानाकर्षण गराइएको जोशीले बताए। उनले भने,‘स्थानीयभत्ताबारे कार्यक्रम कार्यान्वयन पुस्तिकामा आइसकेकोले स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने, स्थानीय सरकारका प्रशासकीय प्रमुखहरूलाई निर्देशन दिने कुरा भयाे।’
जोशीले विगतका सरकार, शिक्षामन्त्री, अर्थमन्त्रीदेखि सम्बन्धित कर्मचारीसम्म सहमति कार्यान्वयनमा अनिच्छुक रहेको टिप्पणी गर्दै भने,‘विगतमा कसैले गर्न चाहेन, कसैले गर्न दिएन। अब भने अहिलेको सरकारले के गर्छ, हेरौं।’



