चाइना जर्नल

एक हजार वर्ष पुरानो चित्रका सर्जकसँगको रोमाञ्चक भेट

अजय अलौकिक २० मंसिर २०८२ ११:१८
16
SHARES
एक हजार वर्ष पुरानो चित्रका सर्जकसँगको रोमाञ्चक भेट

कला, संस्कृतिले कुनै पनि देश, क्षेत्र, समुदाय र जातिको सांस्कृतिक समृद्धि, परम्परा र सीपलाई प्रतिबिम्बित गर्दछ। यद्यपि, कतिपय प्राचीन कलाहरू समयको चक्रमा विलय भइसकेका छन्, जसको हामीसँग केही किंवदन्तीको रूपमा मौखिक जानकारी छन् त केहीका छिटफुट अवशेषहरू।

ती कला र परम्पराको संरक्षण सँगसँगै भविष्यसम्म डोर्‍याउन सकेमात्र समृद्धको अर्थ अझै खुल्ने छ। यसरी ती कलाहरूलाई आजपर्यन्त जीवित राख्ने कार्यमा चिनियाँहरू सफल छन्। एउटा जिउँदो इतिहासको रूपमा चिनियाँ कला वर्तमान समयमा पनि नदीजस्तै बगिरहेको छ। प्राचीन कलादेखि आजको डिजिटल युगीन कलासम्म चिनियाँ कलाले सांस्कृतिक समृद्धि र परम्परालाई मात्रै पछ्याएको छैन, आमदर्शकलाई उक्त कलाको माध्यमबाट आश्चर्यचकित र मन्त्रमुग्ध पनि पारिरहेको छ।

पाँच हजार वर्षको चिनियाँ सभ्यता र यसको सांस्कृतिक विरासतको कुरा गरेर कहिले सकिँदैन नै त्यसमाथि विविध चिनियाँ कला र प्रदर्शन तथा प्रस्तुतिमा पनि प्रचुरता देखेर आमदर्शक अझै तीन छक्क पर्छन्।

कुरा हालसालैको हो, नयाँ वर्ष आरम्भको अवसर पारेर चीनको विदेशी विशेषज्ञ मामिला राज्य प्रशासन (साफिया) ले बेइजिङमा कार्यरत् विदेशी विशेषज्ञहरूलाई एउटा नाटक अवोलकनका लागि आमन्त्रण गरेको थियो, जहाँ यस पङ्क्तिकारलाई पनि दर्शक बन्दै ‘टाइम ट्राभल’ को अनुभवको अवसर मिलेको थियो।

पेकिङ ओप्रालगायत विविध शैलीका ओप्रा र विविध नृत्यकला, एक्रोब्याटिक्स, तथा नाटकहरूको समय अवसरमा दर्शक बन्ने मौका जुरेकै थियो। र, यसपटक पनि उस्तै केही होला भन्ने नै लागेको थियो। तर, अनुभव सोचभन्दा धेरै भिन्न पाएँ। कुरामा मात्रै होइन रहेछ, चिनियाँ कला हेरेर पनि कहिले नसकिने रहेछ, यसपटक, एकैपटक हजार वर्षअघि र वर्तमान समयमा एकैसमयमा पुर्‍यायो। साइन्स फिक्सन चलचित्रजस्तै टाइम ट्राभल र मल्टिभर्सको अनुभव दिलायो।

यो नाटकभित्र प्रवेश गर्नुअघि यसले चिनियाँ र विश्वका दर्शकबाट पाएको प्रशंसाको चर्चा गर्नु अझै सान्दर्भिक देखिन्छ। यो नाटक सर्वप्रथम सन् २०१२ मा मञ्चन गरिएको थियो। प्रिमियर शोदेखि नै यो नाटकले देशविदेशमा चर्चा पाएको छ। एक लेख अनुसार, पहिलो मञ्चन नै अन्तर्राष्ट्रिय सांस्कृतिक घटना बन्न पुगेको थियो।

चीनमा मात्रै नभई यो नाटकले अन्तर्राष्ट्रिय शोसमेत हाउसफूलको ट्यागसँगै एउटा सफल यात्रा गरेको छ। हालसम्म, यो नाटकलाई विश्वभरि ६५० भन्दा धेरै पटक प्रस्तुत गरिसकेको छ। सन् २०२४ को नयाँ वर्षको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गरिएको प्रिमियरमा २,००० भन्दा बढी दर्शकबाट ‘स्ट्याण्डिङ ओभेसन’ पाएको थियो।

अब नाटकको विषयवस्तुमा प्रवेश गरौँ।

काव्यात्मक नृत्यः एक प्राचीन भूदृश्य चित्रकलाको यात्रा, शीर्षकीय यो प्रसिद्ध चिनियाँ नाटकमा संवाद छैन, कलाकारको शारीरिक हाउभाउ र नृत्य तथा स्टेज, प्रोजेक्टर र लाइटको डिजाइनका साथै संगीत र कथालाई आवश्यक विविध वस्तुको साथमा एक हजार वर्षअघिको चिनियाँ कथा प्रस्तुत गरिएको छ।

हो, यसलाई एउटा मौन नाटक पनि भन्न सकिन्छ, जसले एक हजार वर्ष पुरानो उत्कृष्ट कृति, ‘अ थाउजेण्ड ली अफ रिभर्स एण्ड माउन्टेन्स’ अर्थात् ‘हजार लीसम्म फैलिएका नदी र पहाडहरू’, (यसलाई कतै ‘पहाड र नदीको दृश्य’ भनेर पनि अनुवाद गरिएको छ) सम्बन्धी चित्रको इतिहास देखाउँछ।

यो नाटकले यस उत्कृष्ट कृतिका स्रष्टा, उत्तरी सोङ वंश (९६०-११२७) का प्रतिभाशाली युवा चित्रकार वाङ शीमङको कथा प्रस्तुत गरेको छ। नाटकको दृश्यहरूमा प्रवेशअघि नाटकको पृष्ठभूमि र इतिहाससम्बन्धमा छोटो जानकारी।

यो सन् १११३ तिरको उत्तरी सोङ वंशकालको कथा हो। किंवदन्ती अनुसार, १८ वर्षको उमेरमा कलाकार वाङ शीमङले ११ मिटरभन्दा लामो विशेष रेशमी कपडामा नदी र पहाडहरूको आकर्षक चित्र बनाएका थिए। जुन चित्र हाल बेइजिङस्थित फरबिडन सिटीमा संरक्षण गरी राखिएको छ। बताइएअनुसार, यसको सार्वजनिक प्रर्दशनी एकदम न्यून छ। केही वर्ष अगाडि, धेरै धेरै वर्षपछि प्रदर्शन गरिएको थियो, अरे।

नाटक आरम्भअघि यो जानकारी दिँदै गर्दा फरबिडन सिटी बाहिरको उत्तर पश्चिम भागमा केही वर्षअगाडि एउटा पहाड र नदीको ‘इन्सटलेसन आर्ट’ मानसपटलमा दौडिन थालेको थियो। हो, त्यो इन्सटलेसन आर्ट यही चित्रको रहेछ। त्यस बेला, फरबिडन सिटीमा प्रदर्शनीमा राखिएकोले त्यसरी इन्सटलेसन आर्ट बनाइएको रहेछ।

हामी अलि धेरै जान्ने हुन्छौँ, म त स्वीकार्छु पनि। त्यस बेला पहाड र पानी, मानिस र प्रकृति बीच अन्तरघुलनको कुरा चिनियाँ साहित्य र सभ्यताको एक हिस्सा हो। र, सोही सम्बन्धको यो कुनै कविता या भनाइको उद्धरणमा आधारित इन्सटलेसन आर्ट सोचेँ, या मनले त्यस्तै जोड गर्‍यो। अलिकति खोजेको भए या चाहेको भए हजार वर्ष पुरानो चित्र हेर्ने मौका जुर्ने रहेछ। जे होस्, जिन्दगी चल्नेको नाम भनेझैँ आगे चलौँ।

१८ वर्षको उमेरमा कलाकार वाङ शीमङले एउटा विशाल कृति तयार पार्दाको काल्पनिक घटनामा आधारित यो नाटक यसरी सुरु हुन्छ।

सङ्ग्रहालयभित्र एक अनुसन्धानकर्ता चित्रको अध्ययन गर्दैगर्दा १८ वर्षीय वाङ सीमङको संसारमा प्रवेश गर्छन्। अनुसन्धानकर्तासँगै दर्शकहरू पनि उनलाई पछ्याउँदै हजार वर्षअघिको कालखण्डमा पुग्छन्।

अनुसन्धानकर्ताले जब प्राचीन चित्र अध्ययन गर्दै गर्छन्, उनले केवल रङ्ग, ब्रश र रेशम मात्रै देख्दैनन्, उनले त्यसभित्रको जीवन अनुभव गर्छन्। यहाँ टाइम ट्राभल होइन, एउटा मञ्च दुई भागमा विभाजन हुन्छ। दर्शक अन्तरसम्बन्धित कथाहरू बीचको बेजोड प्रस्तुतिमा हराउँछन्। नाटकलाई विभिन्न खण्डमा विभाजन गरिएको छ, १. चित्रकलाको अन्वेषण, २. कृतिको इतिहासबारे अनुसन्धान, ३. रेशम बुनाइ, ४. खनिज उत्खनन्, ५. चित्रकारका साधन, ६. मसी पिसाइ र ७. चित्रको पूर्णता।

यहाँ चित्रकारको मेहनत, प्रतिभामात्रै होइन, चित्र बनाउन प्रयोग हुने या भएका सामग्रीहरूजस्तै पहाडबाट उत्खनन गरी खनिजबाट रङ्ग, मसी बनाउने, रेशम बुन्नेलगायतका प्राचीन चित्रकलाका लागि आवश्यक सामग्रीको खोज गर्ने कर्मीहरूको प्रयासलाई स्टेज र डिजिटल स्क्रीनको सहयोगबाट कलाकारले मनोहर भावभङ्गी र नृत्यबाट अति सुन्दर प्रस्तुती देखाएका छन्।

यसरी अनुसन्धान सँगसँगै त्यो चित्र कोर्न कल्पेका कुरा, चित्रलाई चाहिने आवश्यक रङ्ग तथा सामग्रीको खोजी, त्यो समयको वस्तुस्थितिको दृश्य सबै एकेक गरी कलाकारको समूहले प्रस्तुत गर्दछन्। साथै, नाटकले सामूहिक बल, कौशल सँगसँगै चिनियाँ सभ्यता र इतिहासको पनि झल्को देखाएको छ।

माथि नै उल्लेख गरिसकेँ कि यो मौन नाटक हो, यहाँ कलाकारको नृत्य र हाउभाउ नै संवादको भाषा हो। तर, त्योभन्दा पनि भव्य, शानदार यी कलाकार मानिसको पात्रमा मात्रै देखिँदैनन्, उनीहरू बगिरहेको नदी बनिदिन्छन्, होचा अग्ला पहाड बनिदिन्छन्। यी कलाकारको हाउभाउ र चाल पनि चित्रकारको ब्रशको चालझैँ लाग्दछ।

गर्वदेखि पूर्णतासम्मको चित्रको भव्य विगत र आजको दिन सङ्ग्रहालयमा अवलोकनकर्ताको उक्त चित्रप्रतिको आकर्षण र प्रशंसा सँगसँगै सो नाटकको अन्त्य हुन्छ। यो काव्यात्मक नृत्यः एक प्राचीन भूदृश्य चित्रकलाको यात्रा दर्शकलाई अनुसन्धानकर्ता र युवा चित्रकारको अभिनय बीच एउटा हजार वर्षअघिको चित्र र त्यसको सिर्जनात्मक यात्राको साक्षी बनाउन सफल भएको छ। वास्तवमा, यो नाटक आमदर्शकलाई चित्रकार वाङ शीमङ र उनको समयकालमा पुर्याउन सफल छ, जसले गर्दा रोमाञ्चकता डबल थपिएको छ।

चित्रकार वाङ शीमङद्वारा सिर्जित चित्रको परिचय

चित्रकार वाङ शीमङद्वारा सिर्जित उक्त चित्रलाई चीनकै उत्कृष्ट चित्रकलामध्ये एक मानिएको छ। यो ११ मिटर लामो स्क्रोल चित्रमा पहाड, नदी र कुहिरोले ढाकिएको उपत्यका चित्रित छ, र यसलाई नीलो र हरियो रङ्गले सजाइएको छ। यो चित्रकलालाई नै भनिन्छ, ‘हजार लीसम्म फैलिएका नदी र पहाडहरू’, जुन बेइजिङस्थित फरबिडन सिटी अर्थात् प्यालेस म्यूजियममा राखिएको छ। भनिन्छ, चित्रकार वाङले १८ वर्षको उमेरमा सो चित्र पूर्ण गरेर सम्राट हुईचोङसमक्ष प्रस्तुत गरेका थिए।

अन्तमा, चिनियाँ कला पुस्तौँदेखि हस्तान्तरण भइरहेका जीवन्त कलाहरू हुन्। कागज कटनी, कपडालाई लिएर गरिने विभिन्न कला, काठ, धातु र माटाका भाँडादेखि अनेकन् वस्तुमा गरिने हस्तकला वा ओप्रा, एक्रोब्याटिक्स र थरिथरिका नृत्य र नाटक, वाद्यवादन र संगीत, यी सबैले गर्विलो चिनियाँ सँस्कृति, इतिहास र सभ्यतालाई आजपर्यन्त पनि जीवित राखेको छ। र, यो जीवित मात्रै होइन, यसको जादूपूर्ण भाव, आश्चर्यचकित् लाग्ने प्रस्तुति, रोचक तथा मनोरञ्जनात्मक हुनुका साथै कलाकारको तपस्या र ऊर्जावान प्रस्तुतीले आममानिस र दर्शकलाई मन्त्रमुग्ध बनाएको छ।

प्रकाशित: २० मंसिर २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast