सुन्दरीले आँखा तन्काएको तस्बिर भाइरल भएपछि…

हिमाल प्रेस ७ पुष २०८२ १३:११
26
SHARES
सुन्दरीले आँखा तन्काएको तस्बिर भाइरल भएपछि… फिनल्यान्डकी सुन्दरी सारा ड्जाफ्से।

थाइल्यान्डमा गत महिना सम्पन्न मिस युनिभर्स सौन्दर्य प्रतियोगितामा सहभागी फिनल्यान्डकी प्रतिनिधिले आँखा तन्क्याउँदै खिचाएको एउटा तस्बिर भाइरल भएपछि विवाद र आक्रोश चुलिएको छ।

फिनल्यान्डकी सुन्दरी सारा ड्जाफ्सेले उक्त तस्बिर ‘चिनियाँसँग खाना खाँदै’ भन्ने क्याप्सनसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। आँखा तन्क्याउने यस्तो हाउभाउलाई पूर्वी एसियाली समुदायमा अपमानजनक मानिन्छ।

उक्त पोस्टपछि २२ वर्षीया ड्जाफ्सेविरुद्ध मात्र होइन, फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी फिनए यरविरुद्धसमेत जापान, दक्षिण कोरिया र चीनमा तीव्र आलोचना भइरहेको छ।

यस विषयमा फिनल्यान्डका प्रधानमन्त्रीले पनि जबाफ दिए। उनले यस्ता हाउभाउ गर्नु ‘अविवेकी र मूर्खतापूर्ण’ भएको र त्यसबाट उत्पन्न विवादले देशकै छविमा असर पारेको बताएका छन्।

स्थानीय ट्याब्लोइड इल्टा–सानोमातका अनुसार ड्जाफ्सेले उक्त हाउभाउ खाना खाइरहेका बेला टाउको दुखाइप्रति दिएको आफ्नो प्रतिक्रिया मात्र भएको दाबी गरेकी छन्। उनले ११ डिसेम्बरमा गरिएको उक्त पोस्टमा अपमानजनक क्याप्सन आफ्नो सहमतिबिनै एक साथीले थपिदिएको पनि बताएकी छन्।

ड्जाफ्सेले उक्त तस्बिरका लागि माफी माग्दै यसले धेरै मानिसहरूमा नकारात्मक भावना पैदा गरेको स्वीकार गरेकी छन्।
उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘त्यो कुनै पनि हिसाबले मेरो उद्देश्य थिएन… मानिसहरू, उनीहरूको पृष्ठभूमि र भिन्नताप्रति सम्मान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

उनले माफी माग्दा पनि आलोचना जारी रह्यो। किनभने माफी फिनिस भाषामा लेखिएको थियो।

एक व्यक्तिले लेखे, ‘यो अनावश्यक थियो, एसियाली मानिसहरूले तपाईंलाई केही गरेका थिएनन्… हामी अझै पनि तपाईंप्रति निराश छौँ।’

यसपछि फिनल्यान्डका दुई दक्षिणपन्थी सांसद—जुहो एरोला र काइसा गारेडेव—ले ड्जाफ्सेको समर्थन जनाउँदै उनीकै जस्तो हाउभाउ गर्दै खिचिएका आफ्ना तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे।

ती पोस्टहरू व्यापक आलोचनापछि हटाइए। एरोलाेले माफी माग्दै ड्जाफ्सेलाई ‘अत्यधिक कडा सजाय दिइएको’ अनुभव भएको बताए।

फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले सांसदहरूको यस्तो व्यवहारको निन्दा गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार फिन्स पार्टीले ती सांसदहरूविरुद्ध कुनै कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल गरिरहेको छ।

फिनएयरले सार्वजनिक प्रसारक य्ले लाई दिएको जानकारीअनुसार उक्त विवादले कम्पनीलाई असर पारेको छ र फिनल्यान्ड भ्रमण बहिष्कार गर्न आह्वानसमेत भएको छ।

‘फिनल्यान्डका केही सांसदहरूले दिएका अभिव्यक्ति वा गरेका पोस्टहरूले फिनएयरका धारणा प्रतिनिधित्व गर्दैनन्’, एयरलाइन्सले आफ्नो जापानी एक्स खातामा लेखेको छ।

यो घटनाक्रमले जापान, दक्षिण कोरिया र चीनलगायत अन्य पूर्वी एसियाली मुलुकहरूमा पनि ध्यान तानेको छ।

फिनल्यान्डमा बसोबास गर्दै आएका एक जापानी नागरिकले एसियालीविरुद्धको विभेदबारे छानबिन माग गर्दै एक याचिका सुरु गरेका छन्। असाही सिम्बुन पत्रिकाका अनुसार आइतबार साँझसम्म उक्त याचिकामा सात हजारभन्दा बढी हस्ताक्षर संकलन भइसकेको थियो।

जापानस्थित फिनल्यान्डको दूतावासले फिनल्यान्डमा जातीय विभेद समाधान गर्न गरिएका प्रयासबारे ‘धेरै विचार र प्रश्नहरू’ प्राप्त भएको जनाएको छ।

ड्जाफ्सेसँग जोडिएको यो विवाद थाइल्यान्डमा आयोजना गरिएको मिस युनिभर्स प्रतियोगितापछि आएको परिघटना हो।

मिस फिनल्यान्ड संगठनले ड्जाफ्सेलाई उपाधिबाट हटाउनु कठिन तर आवश्यक निर्णय भएको जनाएको छ। बीबीसीबाट

प्रकाशित: ७ पुष २०८२ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast