किराँत राईको परम्परा झल्काउने पार्क

हिमाल प्रेस २ पुष २०८२ १७:१९ | Wednesday, December 17, 2025
32
SHARES
किराँत राईको परम्परा झल्काउने पार्क

पाँचथर- फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ।

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरु, सुप्तुलुङ चुलालगायत संरचना भएको यो स्थान पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा उद्यान निर्माण गरिएको हो।

नेपाल एकीकरणअघि माझ किराँतमा बसोबास गर्ने किराँत राई समुदायले पूर्वतर्फ सर्नेक्रममा मानिआएको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, भाषा संस्कृति भुल्दै गएको भन्ने सन्दर्भमा सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको लालीखर्कमा उक्त संरचना निर्माण गरिएको हो।

ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई वान्तवा भाषाका ‘ताया’ को अर्थ ज्ञान वा वुद्धि, ‘रुङरि’को अर्थ शक्ति र ‘खिम’को अर्थ घर भन्ने हुन्छ। यसप्रकार ज्ञान वा वुद्धि र शक्ति प्रदान गर्ने घरका रुपमा यो उद्यान निर्माण गरिएको हो।

‘माझ किराँतस्थित भोजपुर, खोटाङलगायत जिल्लाबाट बसाइँ सरी राईहरु पाँचथर आइपुगेको इतिहास छ। माझ किराँतबाट जति पूर्व लाग्यो, भाषा, संस्कार, संस्कृति उति नै बिर्सिदै जाने गरेको पाएपछि यो उद्यानमार्फत पहिचान झल्काउने र नयाँ पुस्तालाई जानकारी दिने प्रयास गरेका हौँ,’ अध्यक्ष राईले भने, ‘हाम्रो पुस्तासम्म आउँदा भाषा, संस्कार र संस्कृतिका धेरै कुराहरु लोप हुँदै गए। हामीभन्दा पछिको पुस्ताले आफ्नो पहिचान बताउन नसक्ने अवस्था आएपछि यो पार्क बनाएका हौँ।’

मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ लालीखर्कको सुम्नीमा चोकभन्दा केहीमाथि करिब १० रोपनी जग्ग्गामा यो उद्यान निर्माण गरिएको छ। फिदिम नगरपालिका–३ लालीखर्कमा राई समुदायको बाक्लो बस्ती रहेको छ। यसको आसपास फिदिम नगरपालिकाको वडा नं ७ असिने, वडा नं १ नाम्दू ढोडेनी, वडा नं २ रमिते ठाडे, वडा नं ५ चोकमागू, वडा नं ६ सिवामा राई समुदायको बसोबास रहेको र लालीखर्क यी सबै स्थानको केन्द्रमा रहेका कारण सबैको पायक पर्ने स्थानमा उद्यान निर्माण गरिएको अध्यक्ष राईले स्पष्ट गरे।

यस उद्यानमा प्रकृति र संस्कृति झल्काउने, परम्परागत खेलकुदसँग सम्बन्धित सामग्री र बाल उद्यान गरी चार प्रकारका सामग्रीहरु राखिएका छन्। प्राकृतिक पार्क (खामलिखाला खिम)मा राईको जन्मदेखि मृत्युसम्मका संस्कारमा आवश्यक पर्ने बनस्पतिहरु रोपिएका छन। जसको नाम र यसको प्रयोगको जानकारीसमेत स्पष्ट बुझिने गरी राखिएको छ। रासस

प्रकाशित: २ पुष २०८२ १७:१९ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast