पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रूख काटिने

हिमाल प्रेस २४ मंसिर २०८२ ८:०८ | Wednesday, December 10, 2025
26
SHARES
पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रूख काटिने
महोत्तरी- पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रूख कटान गरिने भएको छ।
पूर्व-पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला-ढल्केवर-पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रूख काटिने आदेश प्राप्त भएको हो।
प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रूख कटान गर्ने आदेश प्राप्त भएको बताए। सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रूख कटान गर्ने आदेश भएको प्रमुख दासले बताए। उनका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ।
सडक विस्तारका लागि सबैभन्दा बढी सालका रूख कटान गरिने भएका छन्। सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताए। धनुषा र सर्लाहीमा रूख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए। रासस
प्रकाशित: २४ मंसिर २०८२ ८:०८ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast