डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

हिमाल प्रेस १६ मंसिर २०८२ ७:३८
4
SHARES
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताका लागि लागेको लाम। तस्बिर : हिमालप्रेस

डडेल्धुरा- डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता संख्या बढेको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन् । उनका अनुसार ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको छ ।

आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन खुला गरेको थियो । यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएका कार्यालयले जनाएको छ ।

डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदानस्थल पुनः व्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको कार्यालयका प्रमुख अवस्थीले बताए ।

उनका अनुसार जिल्लामा चार वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । २०७९ सालको निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदानस्थल रहेकामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ मतदानस्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो। रासस

प्रकाशित: १६ मंसिर २०८२ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast