पुसमा सम्भव छैन कांग्रेस महाधिवेशन

धैर्यकान्त दत्त ४ पुष २०८२ २१:३०
26
SHARES
पुसमा सम्भव छैन कांग्रेस महाधिवेशन

काठमाडौँ- नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने क्रियाशील सदस्यता वितरण टुंग्याउन लागेको सबैभन्दा कम समय ८ महिना हो। महाधिवेशनअघि क्रियाशील सदस्यता टुंग्याउन लागेको न्यूनतम समय हो यो।

कांग्रेस महाधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण पाटोहरूमध्येको एक हो क्रियाशील सदस्यता। वडा, नगर, क्षेत्रदेखि केन्द्रसम्म पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार बन्न क्रियाशील सदस्य हुनैपर्छ। महाधिवेशन प्रतिनिधि बन्न पनि क्रियाशील सदस्यता अनिवार्य सर्त हो, कांग्रेसमा।

त्यसैले कांग्रेसको हरेक महाधिवेशनअघि क्रियाशील सदस्यता वितरण र नवीकरण विवादित बन्दै आएको छ। केन्द्रीय कार्यसमितिले एकखाले कार्यतालिका बनाए पनि यसअनुसार क्रियाशील सदस्यता टुंगिएको विरलै पाइन्छ।

यतिबेला कांग्रेस फेरि महाधिवेशनको संघारमा उभिएको छ। पार्टीको १५ औँ महाधिवेशन मिति तोक्न कांग्रेसमा लामो समयसम्म रस्साकस्सी चल्यो। जेनजी प्रदर्शनपछि असोज २६ गते सुरु भएको केन्द्रीय कार्यसमिति झन्डै डेढ महिनासम्म चलेर गत मंसिरमा १५ औँ महाधिवेशनको मिति तोक्यो।

केन्द्रीय कार्यसमितिले तय गरेको मितिअनुसार कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुनुपर्नेछ। यो कार्यतालिकाअनुसार महाधिवेशन मिति घर्किँदै छ, तर कांग्रेसको तयारी भने सुस्त देखिएको छ। विगतमा महाधिवेशनजस्तै यसपालि पनि क्रियाशील सदस्यताकै कारण पुस २६ को समयसीमा भेट्टाउन कांग्रेसलाई कठिन छ।

फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा भइसकेकाले महाधिवेशनतिर नभई चुनावमा होमिनुपर्ने एकथरी धारणा केन्द्रीय समिति बैठकमै उठेको थियो। सभापति शेरबहादुर देउवानिकट नेताहरूले चुनावमा एकजुट भएर होमिनुपर्ने बेला महाधिवेशन थाती राख्न अडान लिएका थिए। महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले विधानअनुसार यसलाई जुनसुकै बेला पनि गर्न सकिने उनीहरूको भनाइ थियो।

संस्थापन पक्षकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने जसरी पनि पुुसमै महाधिवेशन गर्नुपर्ने अडान राखे। त्यतिमात्रै होइन उनीहरूले विशेष महाधिवेशनका पक्षमा अभियान चलाएर नेतृत्वमाथि दबाब सिर्जना गरे। विशेष महाधिवेशनको प्रस्ताव पार्टी कार्यालयमा दर्ता गर्न लगाएर महामन्त्रीद्वयले पुसमै महाधिवेशनको मिति तोक्न सभापति देउवामाथि दबाब सिर्जना गर्न सफल पनि भए।

महाधिवेशनमिति तोक्ने विवादकै कारण पार्टी विभाजन हुने जोखिम देखेका देउवाले अन्ततः महामन्त्रीहरूले भनेअनुसार नै पुसमा महाधिवेशनको मिति तोक्न सहमत भए। देउवाकै आग्रहअनुसार उनीनिकट नेताहरूले पनि पनि सहमति जनाएपछि पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन सम्पन्न गर्न सर्वसम्मत निर्णय भएको थियो।

पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन सुरु हुन अब २२ दिनमात्रै बाँकी छ। यो मितिमा महाधिवेशन सुरु हुने सम्भावना लगभग टरिसकेको नेताहरू नै बताउँछन्। क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी काम नसकिएकाले पूर्वनिर्धारित मितिमा महाधिवेशन हुने सम्भावना अन्त्य भएको एक पदाधिकारीले बताए। ती पदाधिकारीका अनुसार महाधिवेशन मिति सार्ने विषयमा शीर्ष नेताहरूबीच छलफल सुरु भइसकेको छ।

कुनै विवाद नहुँदा पनि पुस २६ को समयसीमा भेट्टाउन असम्भव रहेको अवस्थामा क्रियाशील सदस्यता फाराममै समस्या आइसकेपछि समयमै महाविधेशन हुने सम्भावना अन्त्य भइसकेको ती पदाधिकारीको भनाइ छ।

‘क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको छैन। कतिपय जिल्लाबाट पुरानाहरू नवीकरण भएरै आएको छैन। नयाँ क्रियाशील सदस्यता वितरण गर्नै बाँकी छ,’ ती पदाधिकारीले भने, ‘सिरियल नम्बरबिनाको फाराम पठाइएपछि एकखाले विवाद उत्पन्न भएको छ। चार लाख प्रति नयाँ क्रियाशील सदस्यता फाराम फेरि जिल्लामा पठाउनुपरेको छ। अब पुसमा महाधिवेशन सम्भव छैन।’

क्रियाशील नटुंगीकन महाधिवेशन गर्न सोच्न पनि नसकिने उनको भनाइ छ।

‘क्रियाशील नटुंग्याएर महाधिवेशनको कल्पना पनि गर्न सकिँदैन, लाखौँ मानिस कांग्रेस बन्न चाहेको बेला त्यसलाई रोकेर पनि हामी महाधिवेशनमा जान सक्दैनौँ,’ ती पदाधिकारी भन्छन्, ‘तमाम ठाउँमा क्रियाशीलको माग भइरहेको छ, कांग्रेसको क्रियाशील बन्न चाहनेहरूलाई प्रक्रिया पूरा गरेर दिनुपर्नेछ। प्रक्रिया पूरा गर्न पुसको समयसीमा ज्यादै कम देखियो।’

प्रक्रिया पूरा गरेर आएका हरेक व्यक्तिलाई क्रियाशील सदस्यता दिने नीति पार्टीले लिएको उनले बताए।

केन्द्रले पठाएको क्रियाशील फाराम जिल्लाबाट क्षेत्र हुँदै वडा तहसम्म पुग्छ। क्रियाशील लिन चाहनेहरूको नाम वडाले सर्वसम्म ढंगबाट टुंग्याएर क्षेत्र, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रमा पठाउनुपर्ने हुन्छ। केन्द्रले आफ्नो वेबसाइटमा नाम सार्वजनिक गरिसकेपछि दाबी विरोधका लागि समय दिइन्छ।

दाबीविरोध परेमा जिल्लास्थित छानबिन समितिले विवाद टुंग्याउने प्रयास गर्छ। त्यहाँबाट सम्भव नभए केन्द्रको छानबिन समितिले अन्तिम निर्णय गर्ने व्यवस्था छ। यी सब प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पुस २६ को मिति भेट्टाउन असम्भव रहेको ती पदाधिकारीले बताए।

कांग्रेस केन्द्रीय सदस्यता व्यवस्थापन समितिका सदस्य योगेन्द्र चौधरीले नवीकरण र नयाँ वितरण प्रक्रिया सँगसँगै अगाडि बढिरहेको बताए।

‘कतिपय जिल्लाले नवीकरण सकिसकेका छन्, कतिपयको बाँकी छ। सिरियल नम्बरबिनाको फारामसम्बन्धी विवाद समाधान गरेका छौँ,’ चौधरीले भने, ‘जनसम्पर्कतर्फ क्यानाडा, यूके, अस्ट्रेलिया र जापानमा थप समय माग भएको छ। त्यहाँ थप समय दिएर केही दिनका खुला गर्ने भएका छौँ।’ देश अथवा विदेश कहीँकतै केही समय देखिए समाधानको उपाय खोजिने उनले बताए।

केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार मंसिर २० गतेभित्रै क्रियाशील सदस्यता फाराम वितरण भइसक्नुपर्ने थियो। ती फारामहरू प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम मंसिर २४ गतेभित्र पठाइसक्नुपर्ने कार्यतालिका छ। तर यस्ता फाराम पुसमा मात्रै क्षेत्रीय समितिमा पुगेको छ।

धनुषाका एकजना क्षेत्रीय समिति सभापतिले कार्यतालिका एकखाले भए पनि आफूहरूले दुई दिनअघि मात्रै फाराम प्राप्त गरेको बताए। फाराम नै समयमा नआएपछि क्रियाशील सदस्यता टुंग्याउन ढिला हुने निश्चित रहेको उनको भनाइ छ। अहिलेकै गतिमा हिँडे पुसमा महाधिवेशन कुनै पनि हालतमा सम्भव नभएको ती क्षेत्रीय सभापतिको भनाइ छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका महामन्त्री गगन थापाले समयमै चासो नदिँदा क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ हुन पुगेको कांग्रेस नेताहरू बताउँछन्। क्रियाशील सदस्यतासम्बन्धमा थापाको कार्यशैलीका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा पनि कतिपय नेताहरूले प्रश्न उठाएका थिए। डिना उपाध्याय, मीनाक्षी झालगायतका केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता वितरणका सन्दर्भमा थापाको कार्यशैलीप्रति प्रश्न उठाएका थिए।

केन्द्रीय समितिको निर्णयअनुसार केन्द्रीय कार्यालयले जिल्ला हुँदै क्षेत्रीय समितिमा पठाएका ६ लाख प्रति नयाँ क्रियाशील सदस्य फाराममध्ये चार लाखमा सिरियल नम्बर छैन। फाराममा सिरियल नम्बर नभएपछि तल्लो तहमा विवाद उत्पन्न भएको थियो। यस विषयमा पूर्वउपसभापति विमलेन्द्र निधि र नेता डा.शेखर कोइरालाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण गराएका थिए।

देउवाले सिरियल नम्बरसहितको फाराम पठाउन निर्देशन दिए। महामन्त्री थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ फाराम जिल्लामा पठाएको छ।

सिरियल नम्बरबिनाकै फाराम तल्लो तहमा पुगेपछि सदस्यता वितरणको कार्यतालिका प्रभावित भएको छ। पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सकेर १४ गते केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई सूची बुझाउने कार्यतालिकामा उल्लेख छ।

अहिले काम भइरहेको गतिलाई हेर्दा पुस २६ मा महाधिवेशन हुने सम्भावना अन्त्य भइसकेको नेताहरूको भनाइ छ। १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकाहरू पनि पुसको कार्यतालिका भेट्न सम्भव नरहेको दाबी गर्छन्।

‘क्रियाशील टुंगो नलाग्दासम्म वडा अधिवेशन गर्न पनि सम्भव छैन। वडा अधिवेशन सकेर नगर/पालिका गर्नुप¥यो, क्षेत्रको गर्नुपर्ने हुन्छ। त्यसपछि जिल्ला र प्रदेशको अधिवेशन गर्नुपर्ने हुन्छ,’ धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधि भन्छन्, ‘समयसीमा घर्किँदै छ, गर्नुपर्ने काम धेरै छ। तोकिएको समयसीमामा महाधिवेशन गर्न सम्भव छ जस्तो लाग्दैन।’

नेताहरूले जतिसुकै रफ्तार बढाए पनि पुस २६ को मिति भेटाउन सम्भव नभएको बताउँछन्। कार्यतालिकाबमोजिम पुस १६ गते गाउँ/नगर वडा अधिवेशन, पुस १७ गते गाउँ/नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्नुपर्नेछ।

त्यस्तै दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते र प्रदेश अधिवेशन पुस २३–२४ गते गर्नुपर्ने कार्यतालिका छ। कार्यतालिका प्रकाशित भए पनि क्रियाशील सदस्यताको टुंगो नलाग्दासम्म कुनै पनि तहको अधिवेशन सम्भव नरहेको नेताहरू बताउँछन्।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री महेन्द्र यादव पनि निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा ढुक्क देखिएका छैनन्। कार्यतालिका भेट्टाउन समय कम भएको उनको भनाइ छ। ‘समय कम छ, प्रयास गरिरहेका छौँ,’ उनले भने।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने तयारी गरिरहेको छ। तोकिएको मितिमा जसरी पनि निर्वाचन हुने सरकारको दाबी छ। राजनीतिक दलहरू भने सरकार चुनावको वातावरण बनाउन नसकेको आरोप लगाइरहेका छन्।

महाधिवेशन चुनावअघि कि पछि भन्ने विवादमा कांग्रेस झन्डै डेढ महिना अल्झियो। पुसमा महाधिवेशन हुने सम्भावना टर्दै गएपछि फागुन २१ पछिको अडान राखेकाहरूको मत बलियो हुने देखिएको छ। पुसमा महाधिवेशन नभएपछि फागुन २१ पछि गर्दा उपयुक्त हुने देउवानिकट एक नेताले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast