काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीमा रहेकाहरुलाई ‘घर फर्कन’ गरेको आह्वानलाई पार्टीका सचिव योगेश भट्टराईले स्वागत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीभित्र एकता र सुदृढीकरणका लागि चारवटा प्रस्ताव पनि अघि सारेका छन्।
भट्टराईले भनेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ’, उनले भनेका छन् ‘जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशन र एमालेको अगुवाइमा समग्र वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो।’
भट्टराईले निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वका माध्यमबाट पार्टी सुदृढ र एकताबद्ध बनाउन सकिने उल्लेख गरेका छन्।
उनले ‘जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने’ भन्दै एकताको पहिलो आधार यही बन्नुपर्ने बताएका छन्। पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने, भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी पार्टीको बहुआयामिक पुनर्गठन गर्ने र आगामी प्रतिस्पर्धामा एमालेलाई विजयी बनाउने र एमालेको नेतृत्वमा आर्थिक र सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ।
चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरुले असहमति जनाउँदै आएका छन्।
शुक्रबार एकीकृत समाजवादीले यस्तो निर्णय गर्दा विवाद उत्पन्न हुँदै गर्दा एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेका थिए।



