प्रधानमन्त्री कार्की किन भाग्दै छिन् जेनजीसँग?

किरण पौडेल १० मंसिर २०८२ २१:०८
प्रधानमन्त्री कार्की किन भाग्दै छिन् जेनजीसँग?

काठमाडौँ– भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने मूल उद्देश्यका साथ गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो मूल उद्देश्यबाट विमुख हुन थालेको भन्दै आलोचना हुन थालेको छ। कार्की नेतृत्वको सरकारले जेनजीको मागलाई बेवास्ता गर्न थालेपछि यस्तो आलोचना हुन थालेको हो।

पछिल्ला केही घटनाले कार्कीको प्रतिष्ठामाथि प्रश्न उठाइरहेको टिप्पणी जेनजीहरूको छ। पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की भ्रष्टाचारविरोधी अभियन्तासमेत हुन्। जेनजीकै भोट र जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री कार्की पछिल्लो समय जेनजीहरूबाट भाग्न थालेकी छन्।

जेनजीहरू आफ्ना माग लिएर जाँदा प्रधानमन्त्री भेट नदिएको र रित्तै फर्किएका घटना बाहिर आइरहेका छन्। प्रधानमन्त्रीको यस्तो कार्यशैलीले गर्दा जेनजी युवा आक्रोशित बनेका छन् भने कतिपयले उनको राजीनामासमेत मागेका छन्। जेनजी आन्दोलनबाट बनेको सरकारले जेनजीमाथि उपेक्षा गरेको गुनासो उनीहरूको छ।

गत सोमबार विभिन्न माग लिएर जेनजीका केही समूहहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनीहरूलाई प्रधानमन्त्रीको सचिवालयले दिउँसो ११ बजे भेटका लागि समय दिएको थियो। प्रधानमन्त्रीलाई भेट्न जेनजीहरू निर्धारित समयमै कार्यालय पुगे पनि भेट्न सफल भएनन्।

‘छलफल गर्न प्रधानमन्त्री कार्यालयको एउटा कोठामा कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले केही जेनजीलाई बोलाए। त्यही मौकामा अर्को गेटबाट कार्की बाहिर निस्किइन् र गाडी चढेर हिँडिन्’ जेनजी अभियन्ता एवं द काउन्सिल अफ जेनजी, कर्णाली जेनजी फोर्सकी संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले भनिन्। उनका अनुसार साँझ ४ बजेसम्म गेटमा बस्दा प्रधानमन्त्रीसँग भेट हुन सकेन।

‘प्रधानमन्त्रीको व्यस्तता भन्दै हामीलाई भेट हुन दिइएन’, शाही भन्छिन्, ‘प्रधानमन्त्री वृद्ध हुनुहुन्छ। समस्या भएर पनि हुन सक्छ।’ शाहीका अनुसार उनीहरू प्रधानमन्त्रीको स्वकीय सचिव र महान्यायाधिवक्ताको बर्खास्तीको माग लिएर सिंहदरबार गएका थिए। उनीहरूको माग बुझ्नुको त परको कुरा भेट समेत दिइनन्।

‘हामीसहित जेनजीको २१ समूह प्रधानमन्त्रीको राजीनामा माग्न गएका थियौँ तर भेट पाएनौँ’, अर्का जेनजी अभियन्ता रविकिरण हमालले भने। पछिल्लो समय जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेट्न पाएकै छैनन्। आफ्ना माग प्रधानमन्त्रीसम्म पुर्‍याउन चाहे पनि कार्यालय प्रवेशमै रोक लगाइएको गुनासो जेनजीहरूको छ। मंगलबार पनि सिंहदरबार पुगेका जेनजीका केही प्रतिनिधि र प्रहरीबीच धकेलाधकेल भएको थियो।

प्रहरीले सिंहदरबार प्रवेश गर्न नदिएकाका कारण जेनजी अभियन्ता आक्रोशित बने। जेनजी अभियन्ता मिराज ढुंगानासहितको टोली सिंहदरबार प्रवेश गर्न पाएनन्। केही जेनजीले त प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर राजीनामासमेत मागेका छन्। ‘हामीले राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री बर्खास्त गर्न माग गरेका छौँ’, अभियन्ता हमालले भने।

प्रधानमन्त्रीका सल्लाहकार र महान्यायधिवक्ताको विवादले जेनजी आक्रोशित बनेका हुन्। प्रधानमन्त्रीले नियुक्त गरेका महान्यायाधिवक्ता सविता भण्डारी र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ सुशासन र न्यायिक प्रतिबद्धताका सन्दर्भमा प्रश्नको घेरामा तानिएपछि जेनजी सशंकित बनेका हुन्। प्रमुख स्वकीय सचिव श्रेष्ठले पत्नी र नातेदारलाई सचिवालयमा जागिर दिलाएको आरोप छ।

सरकारको सम्पूर्ण कानुनी काम गर्ने र प्रधानमन्त्रीको मुख्य कानुनी सल्लाहकार जस्तो भूमिकामा रहने महान्यायाधिवक्तामाथि ‘आफ्नै लगानी रहेको कम्पनीको बचाउ गरी मुद्दा नचलाउने’ निर्णय गरेको गम्भीर घटना सार्वजनिक भएको छ।

प्रमुख स्वकीय सचिववालयमा गरिएको नियुक्तिका विषयमा प्रधानमन्त्रीका तर्फबाट खण्डन आइसकेको छ। प्रधानमन्त्रीका लागि २४ घण्टा खट्नुपर्ने ‘विश्वासिलो मान्छे’ आवश्यक परेको भन्ने तर्क सचिवालयबाट आएको हो।

जेनजी अभियन्ता एवं उज्यालो नेपाल पार्टीका नेता किरण विक सरकार जेनजीको भावनाअनुसार अघि नबढेको बताउँछन्। ‘सरकार जुन भावनाका साथ अघि बढ्नुपर्ने हो, त्यसमा चुकेको छ।’

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा जेनजीहरूले यसअघि नै प्रश्न गरेका थिए। यसबारेमा सरकार मौन छ। जेनजी अभियन्ताले सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्नुलाई गम्भीर रूपमा लिएका छन्।

प्रकाशित: १० मंसिर २०८२ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast