महाधिवेशनबारे किन अलमलमा कांग्रेस?

हिमाल प्रेस ६ मंसिर २०८२ १६:११
18
SHARES
महाधिवेशनबारे किन अलमलमा कांग्रेस? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। महाधिवेशनको मिति तोक्न रस्साकस्सी चलिरहेको कांग्रेसभित्र सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो।

झन्डै एक साता स्थगित भएर शनिबार बसेको बैठकले महाधिवेशनबारे निर्णय गर्ने अपेक्षा गरिएको थियो। तर, महाधिवेशनको मिति तोक्नबारे सहमति नजुटेपछि बैठक स्थगित भएको हो।

यसअघि पटक–पटक बैठक स्थगित गरेर महाधिवेशनको मिति तोक्न सहमतिका प्रयासहरू भएका थिए। संस्थापन र इतरपक्ष आ–आफ्नो अडानमा कायमै रहेपछि महाधिवेशनबार सहमति जुट्न नसकेको हो।

बैठकपपछि प्रवक्ता प्रकाशशरण महतले अहिलेको बैठकमा महाधिवेशनबारे सहमति जुट्न नसके पनि चाँडै निर्णय हुने बताए।

फागुन २१ को चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र विवाद चर्किएको छ। संस्थापननिकट अधिकांश नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। चुनावमा एकजुट भएर जानुपर्ने भएकाले त्यसअघि महाधिवेशन गर्नु पार्टीका लागि घातक हुने उनीहरूको तर्क छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै इतरपक्ष भने चुनावअघि महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। अहिलेकै नेतृत्वलाई मतदाताले नस्वीकार्ने तर्क गर्दै उनीहरू मंसिर अथवा पुसमा महाधिवेशन गर्नुपर्ने अडान लिएका हुन्।

संस्थापन र इतर पक्षको जुधाइका कारण महाधिवेशनबारे कांग्रेस अनिर्णयको बन्दी बनेको छ। शनिबारको बैठकले अन्य निर्णयहरू गरे पनि महाधिवेशनको मिति तोक्नबारे टुंगो लगाउन सकेन। १५ औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवको छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि निर्णय गर्न थप जटिल भएको छ। महामन्त्री थापाले महाधिवेशनका लागि पुसमा प्रस्ताव गरेका छन् भने सहमहामन्त्री यादवले वैशाखका लागि प्रस्ताव गरेका हुन्।

अब मंसिर ११ गते बस्ने बैठकले महाधिवेशनको मितिबारे निर्णय गर्ने नेताहरूले बताएका छन्। यसबीचमा छलफल गरेर सहमतिको प्रयास गर्ने र बैठकमा महाधिवेशनको साझा प्रस्ताव पेस हुने नेताहरूको भनाइ छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले एकैचोटी सबै विषयमा निर्णय गर्ने प्रयास गरे पनि सम्भव हुन नसकेको बताए। राष्ट्रिय राजनीतिका विषयमा निर्णय भए पनि महाधिवेशनबारे आगामी बैठकमा निर्णय हुने उनले बताए।

केही दिनभित्रमा छलफल गरेर समझदारीबाट नभए विधिबाट बाँकी रहेका विषय टुंग्याइने उनको भनाइ छ।

आफूले पेस गरेको प्रस्तावको पक्षमा अडान लिँदै महामन्त्री थापाले भने,‘पुसभित्र नियमित महाधिवेशन हुन्छ होइन भने मंसिर मसान्तभित्रै विशेष महाधिवेशन हुन्छ।’

महामन्त्री थापाले बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि संस्थापनपक्षीय नेताहरू सकारात्मक देखिएका छैनन्। उनीहरू चुनावमा एकढिक्का भएर जान पनि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।
सहमहामन्त्री यादव महाधिवेशनको मिति तोक्ने सन्दर्भमा आफूहरू सहमतिको नजिक रहेको दाबी गरे।

‘महाधिवेशनको मिति तोक्न हामी सहमतिनजिक छौँ। मंसिर ११ गते बस्ने केन्द्रीय समिति बैठकले यो विषयमा सहमतिमै निर्णय गर्छ,’ उनले भने,‘अहिले जेजति विवाद देखिए पनि हामी एकजुट भएर निर्णय गर्छौँ, सहमतिमै निर्णय हुन्छ।’

यद्यपि उनले सहमतिको आधारबारे खोलाउन चाहेनन्। यादवले भने,‘हामी सहमतिको नजिक छौँ, अहिलेलाई यति नै बुझौँ। मंसिर ११ को बैठकपछि सबैथोक प्रस्ट हुन्छ।’

महाधिवेशनबारे अलमलमा रहेको कांग्रेसले भने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ। माघमा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय कांग्रेसले गरेको हो।

सहमहामन्त्री यादवले चुनावमा भाग लिने निर्णय गर्दै कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरेको बताए। उनले अन्य दलहरूलाई पनि चुनावको वातावरण बनाउनतर्फ केन्द्रित हुन बैठकले आग्रह गरेको बताए।

‘चुनावमा भाग लिने निर्णय भएको छ। बैठकले सबै नेता र कार्यकर्ताहरू चुनावको तयारीमा जुट्न अनुरोध गरेको छ,’ उनले भने,‘अन्य दलहरूलाई पनि चुनावको वातावरण बनाउन हामीले आग्रह गरेका छौँ।’
सहमहामन्त्री यादवले कांग्रेस एकजुट भएर चुनावमा भाग लिने जिकिर गरे।

प्रकाशित: ६ मंसिर २०८२ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast