काठमाडौँ- धनुषामा प्रहरीले गोली हानेर वडाध्यक्षको हत्या गरेको खुलेको छ। सप्तरी जिल्लामा कार्यरत सहायक प्रहरी हवल्दार शम्भु यादवले गोली हानेर वडाध्यक्ष विन्देश्वर यादवको हत्या गरेको खुलेको हो।
धनुषाका प्रहरी प्रमुख रुगम कुँवरले बिदामा घर आएका सहायक प्रहरी हवल्दार शम्भुले वडाध्यक्ष विन्देश्वरको हत्या गरेको जानकारी दिए।
‘सप्तरीमा कार्यरत सहायक प्रहरी हवल्दार शम्भु यादवले गोली हानेको खुलेको छ,’ प्रहरी प्रमुख कुँवरले हिमालप्रेससँग भने,‘विवादका क्रममा गोली प्रहार गरेको खुलेको छ। थप अनुसन्धान हुँदैछ।’
उनले गोली लागेका वडाध्यक्ष विन्देश्वरको घटनास्थलमै मृत्यु भएको बताए। गोली लागेर अन्य चार जना घाइते भएको कुँवरले जानकारी दिएका छन्।
गोली प्रहार गरेका शम्भुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताएका छन्। बिदामा आएका प्रहरीले सम्बन्धित कार्यालयमा हतियार बुझाएर आउनुपर्ने भएकाले शम्भुले प्रयोग गरेको हतियारबारे अनुन्धान भइरहेको प्रहरी प्रमुख कुँवरको भनाइ छ।
शुक्रबार साँझ ६ बजेतर्फ धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वरको गोली हानेर हत्या भएको थियो। वडा नम्बर ९ को अन्दुपट्टी कटरैतस्थित आफ्नो टोलमा रहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र भएर वडाध्यक्षमा निर्वाचित भएका विन्देश्वर एमाले प्रवेश गरेका थिए।



