पोखरामा एमालेको मोटरसाइकल र्‍याली

हिमाल प्रेस १५ कार्तिक २०८२ २०:४०
18
SHARES
पोखरामा एमालेको मोटरसाइकल र्‍याली

पोखरा– नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार बृहत् मोटरसाइकल र्‍याली निकालेको छ।

जेनजी आन्दोलनपछि दाङलगायत देशका विभिन्न स्थानमा गरिएको र्‍यालीको निरन्तरता स्वरूप कास्कीमा पनि र्‍याली निकालिएको एमालेले जनाएको छ।

पोखरा सभागृहबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै सहिद चोक पुगेर कोणसभामा परिणत भएको थियो।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताको साथै जेनजी प्रदर्शन क्रममा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध मोटरसाइकल र्‍याली निकालिएको जनाए।

र्‍यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगतबहादुर विश्वकर्मा, पोलिट्ब्युरो सदस्य एवं युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतलगायत पार्टीका जिल्ला नेताहरूका साथै युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघका कार्यकर्ताहरूको सहभागिता थियो।

यसैबीच, एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन नाममा ठूला षड्यन्त्रहरू भएको दाबी गरे। उनले त्यसको पछि साम्राज्यवादी शक्तिहरूको हात रहेको पनि आरोप लगाए।

प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल गैरराजनीतिक व्यक्ति भएकाले राज्य सञ्चालन गर्न नसक्ने ठोकुवा गरे। उनले कार्की र अर्याललाई ‘बुढो बोका’ भन्दै दाइँ गर्न नसक्ने टिप्पणी गरे। उनले प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य भएको पनि बताए।

प्रकाशित: १५ कार्तिक २०८२ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast