एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले एकीकृत समाजवादीलगायतका दलबाट पार्टीमा प्रवेश गर्न चाहनेलाई सर्तसहित प्रवेश गराउने भएको छ। पार्टीमा फर्कंदा पार्टीको नीति र नेतृत्वमा विवाद गर्न नपाइने सर्त एमालेले राखेको हो।
एमालेका महासचिव शंकर पोखरेलले नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर मात्र एमालेमा आउन आग्रह गरेका छन्। उनले सोमबार प्रेस चौतारीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भने, ‘सर्त एउटै छ नीति र नेतृत्वका प्रश्नमा चाहिँ सहमति गरेर आउनुस्। बहस र विवादमा पार्टी सहमत हुन सक्दैन। यी दुईवटा प्रश्नमा सहमत हुने जोकोहीका लागि नेकपा एमालेको ढोका सधैँ खुला छ।’
पोखरेलले घरमा सन्तान फर्कंदा कुनै अनुमति लिन नपर्ने बताए। ‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौँ। आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन। घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ? आउनुस्,’ उनले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेताकार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘विगतमा नेकपा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेताकार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु। जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।’
उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेकपा एकीकृत समाजवादीका केही नेता एमाले फर्कन तयार भएपछि एमाले नेतृत्वले सर्त अघि सारेको हो। विगतमा ओलीको नीति र नेतृत्वमा प्रश्न उठाउँदै एमालेबाट अलग भएका केही नेताहरू अहिले एमाले फर्कन लागेका हुन्। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि नेताहरूमा असन्तुष्टि चुलिएको छ भने पार्टी छिन्नभिन्न अवस्थामा पुगेको छ।



