चितवन- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार १९ र २० वर्षका युवायुवतीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने खैरहनी नगरपालिका–८ चैनपुरमा मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
शनिबार राति १२ बजेतिर भएको यो दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनकै राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनास्थलमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उद्धार गरी प्रहरीले पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो।
उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो। ठक्कर दिने कन्टेनरका चालकलाई प्रहरीले पक्राउ गरेको छ।



