अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा रहेका इस्लामिक उग्रवादी समूहहरूसँग सामना गर्न सैन्य कारबाहीको योजना बनाउन आदेश दिएका छन्।
नाइजेरिया सरकार त्यहाँका इसाई धर्मावलम्बीहरूको हत्या रोक्न प्रर्याप्त कदम नउठाएको भन्दै ट्रम्पले यस्तो आदेश दिएका हुन्।
ट्रम्पले भने घटनाबारे प्रस्ट पारेका छैनन्। पछिल्लो समय अमेरिकाको दक्षिणपन्थी वृत्तहरूमा नाइजेरियाका इसाईमाथि भएको भनिएको हिंसाका दाबीहरू बारम्बार उठाइँदै आएका छन्।
निगरानी समूहहरूका अनुसार नाइजेरियामा मुसलमानहरूको तुलनामा इसाईहरूको बढी हत्या भएको पुष्टि गर्ने प्रमाण भेटिएका छैनन्। नाइजेरियामा दुवै धर्म मान्नेहरूको संख्या करिब बराबर रहेको छ।
अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको यो देशको सरकारले अमेरिकाको सम्भावित सैन्य कारबाहीको चेतावनीमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।



