फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन्। सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो दाबी गरेका हुन्।
उनले भने,‘उनीहरू खुला रूपमा त्यस्तो कुरा गर्दैनन्। र, गर्न पनि हुँदैन। कुनै पनि राम्रो वार्ताकारले त्यस्तो कुरा गर्नु हुँदैन। तर, इरान सम्झौताका लागि निकै आतुर छ।’
इरान र अमेरिकाबीच पुनः वार्ता सुरू हुने सम्भावनाबारे पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार आएका छन्।
इरानी सरकारकी प्रवक्ता फातिमा मोहाजेरानीले आइतबार भनेकी थिइन्,‘ओमानको मध्यस्थतामा अमेरिकासँग नयाँ वार्ताका सम्भावनासम्बन्धी सन्देशहरू विदेश मन्त्रालयमा प्राप्त भएका छन्।’
ओमानका विदेशमन्त्री बद्र अल–बुसैदले इरान र अमेरिकाबीच पुनः संवाद सुरू होस् भन्ने आफूहरूले चाहेको बताएका छन्।
तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइलले अमेरिकाबाट कुनै नयाँ सन्देश प्राप्त नभएको बताए।
‘हालका दिनहरूमा अमेरिकाबाट कुनै नयाँ सन्देश प्राप्त भएको छैन। आफ्नो अधिकार जोगाउन नसक्ने वार्तामा हामी सहभागी हुँदैनौँ,’ सोमबार उनले भने।
यसअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले अल जजीरालाई दिएको अन्तर्वार्तामा इरानलाई वार्ताको कुनै हतार नरहेको बताएका थिए।
इरान र अमेरिकाबीच हालसम्म पाँच चरणका वार्ता सम्पन्न भइसकेका छन्। तर, १२ दिनके युद्धका बीचमा इजरायल र त्यसपछि अमेरिकाद्वारा इरानमाथि गरिएको आक्रमणपछि तेहरानले अमेरिकासँगको वार्ता रद्द गरेको थियो।



