नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास पल्टाउँदा प्रायः हरेक पानामा कोइराला परिवारको नाम सुनिन्छ। १९ औँ शताब्दीको कालखण्डमा राणाशासनको दमनले जनतालाई दासत्वमा थिचिरहेको अवस्थामा त्यसको प्रतिबादमा विद्रोहको उद्घोष गर्ने क्रान्तिकारी व्यक्तित्व आदरणीय कृष्णप्रसाद कोइराला हुन्। त्यसपछि प्रजातन्त्रको मसाल बोकेर देशलाई आधुनिक राजनीतिक चेतनातर्फ उन्मुख गराउन महामानव जननायक बीपी कोइराला उभिन्छन्।
प्रजातन्त्रको अपहरण गर्दै पञ्चायतलाई संस्थागत बनाउन खोज्ने राजतन्त्रलाई चुनौती दिँदै बीपीले विचार, तर्क र जनशक्तिको बलमा राजनीतिक मार्गनिर्देशन गरेका ऐतिहासिक सत्य आज पनि उत्तिकै प्रासंगिक छन्। आधुनिक प्रजातान्त्रिक समाजवादका परिकल्पनाकारका रूपमा बीपीको योगदान नेपाली राजनीति र विचारधारामा शिलालेखजस्तै अंकित छ।
२०४६ को ऐतिहासिक जनआन्दोलनका मूल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाले देशलाई फेरि एकपटक निर्णायक मोडमा निर्णायक नेतृत्व दिए। देशलाई राजनितिक अस्थिरताको चक्रव्यूहमा घुमाउन खोज्ने केही बाह्य र आन्तरिक शक्तिहरूको उक्साहटमा भड्किएको दसवर्षे सशस्त्र हिंसात्मक द्वन्द्व, पटकपटक जनअधिकारको अपहरण गर्ने निरंकुश राजतन्त्र अनि मुलुकलाई हरेक १० वर्षमा प्रयोगशाला बनाउन खोज्ने अदृष्य कालो शक्तिले देशलाई अस्थिरतामा धकेली राष्टलाई नै बिघटन गर्न सक्ने खतराको घेरामा थियो। त्यही संवेदनशील क्षणमा गिरिजाप्रसाद कोइरालाले अद्वितीय राजनीतिक कौशल, धैर्य र राष्ट्रिय नेतृत्व क्षमता देखाउँदै जंगलमा भौँतारिरहेको हिंसात्मक शक्ति माओबादी र २४० वर्ष पुरानो सामन्ती राजतन्त्रलाई २०६२/०६३ को शान्तिपूर्ण आन्दोलनको बलबाट बिदा गरी मुलुकलाई गणतन्त्रमा प्रवेश गराए र करोडौँ नेपाली नागरिकको शान्तिप्रतिको आस्थाको दीप जलाउन सफल भए। यो कार्य विश्वकै राजनितिक इतिहासमा दुर्लभ मानिन्छ।
गणतन्त्रात्मक व्यवस्थाको संस्थागत जग बसाल्दै संविधानसभामार्फत जनताको आफ्नै संविधान दिने ऐतिहासिक जिम्मेवारी पनि यही घरानाका अर्को सन्तान ‘संविधानका पिता’ सुशील कोइरालाले सम्पन्न गरे। राष्ट्रले कहिल्यै नबिर्सने उपलब्धिहरू यही परिवारको निरन्तर राजनीतिक समर्पण र त्यागको शृंखलाबाट जन्मिएका हुन्। यसर्थ देशले जबजब गम्भीर संकटको सामना गर्नुपर्छ, तब–तब कोइराला परिवारका कुनै न कुनै सन्तान निर्णायक मोडमा उभिएर मुलुकलाई निकास दिने ऐतिहासिक परिपाटी देखिन्छ। नेपाललाई लोकतन्त्र, बहुदलीय व्यवस्था, गणतन्त्र र नागरिक स्वतन्त्रताको मार्गमा अघि बढाउने हरेक महत्त्वपूर्ण मोडमा कोइराला परिवारको योगदान एउटा अविच्छिन्न धागोजस्तै देखिन्छ।
आज फेरि एकपटक मुलुक राजनितिक अस्थिरताको भुमरीमा फस्न पुगेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनलाई हाइज्याक गरी मुलुकलाई अस्थिरतामा लैजान चाहने अदृष्य शक्तिहरू नंग्रा देखाएर हुर्किँदै गरेको शिशु लोकतन्त्र चिथोर्ने प्रयत्न गरिरहेका छन। जेनजीको आन्दोलनलाई देखाएर हिंसात्मक तबाहीको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारको हैसियत पनि देखिन थालेको छ। सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको भनिए पनि त्यसैको जगमा यसमा संलग्न भएका वर्तमान सरकारका केही मन्त्रीहरूका विभिन्न भ्रष्टाचारका काण्डहरु बाहिर देखिने गरी निस्कन थालेका छन्। सरकारको महत्त्वपूर्ण कानुनी सल्लाहकार महान्यायाधिवक्ता आफ्नी छोरीको कम्पनीले डिम्ब बिक्रीवाला विवादित गम्भीर फौजदारी अभियोगलाई तामेलीमा राख्न उद्यत देखिएकी छन्। मौरिसिसमा दर्ता भएको डोल्मा इम्प्याक्टलाई २५ प्रतिशत पुँजीगत लाभकर छुट दिने अर्थमन्त्रीको आश्चर्यवाला निर्णयमा गम्भीर आशंका उत्पन्न भएको छ। ऊर्जामन्त्रीको ४३ करोडवाला ऊर्जा खरिद सम्झौता पानी पोखिएझैँ छताछुल्ल भएको छ। वायुसेवा निगममा मनमौजीवाला नियुक्तिहरु हेर्दा ‘खुट्टी हेरी चाल पाइयो’ भन्ने उखानसँग चरितार्थ छ।
अर्कोतर्फ संविधानको पाना च्यातेर बनेको सरकारले निर्वाचनलाई आफ्नो एकमात्र अर्जुनदृष्टि जसरी प्रस्तुत गरिरहे पनि देशको वास्तविक सुरक्षा चुनौती एकदम भयावह छ। नेपाली सुरक्षा निकायबाट लुटिएका १,२०० थान हतियार अझैसम्म बाहिरै छन्। जेलब्रेकपछि भाग्न सफल हजारौँ अपराधी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। लोकतान्त्रिक व्यवस्थालाई अस्थिर बनाउँदै राष्ट्रियतामा चोट पुर्याउने विभिन्न शक्ति केन्द्रहरू सक्रिय छन्। तिनीहरू बलिया र संगठित लोकतान्त्रिक दलहरूलाई एकआपसमा भिडाएर देशको मौलिक लोकतान्त्रिक संरचनालाई भत्काउन चाहन्छन्। कतिपय दल फुटिसके त कसैलाई फोड्ने प्रयास निर्बाध रूपमा जारी छ।
हरेक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस यसपटक भने इतिहासकै ठूलो विचलनको भुमरीमा फसेको छ। मुलुकले संकट सामना गरिरहेको विषम घडीमा सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले मार्गनिर्देशन दिनुपर्थ्यो। तर पार्टी, देश र जनताको व्यापक हितभन्दा पर गएर पार्टीका वर्तमान निर्णायक नेतृत्वकर्ताहरूले आफ्नै मान–मर्यादा र व्यक्तिगत प्रतिष्ठालाई नै लक्ष्मणरेखा ठान्ने भूलका कारण आज हामी कमजोर अवस्थाका साक्षी हुन बाध्य बनेका छौँ। आजको दिनमा राष्ट्र, लोकतन्त्र, जनता र तिनको सार्वभौमसत्ता कांग्रेसको प्रमुख अर्जुनदृष्टि हुनुपर्ने बेला शीर्ष नेताहरू मेरै गोरुको बार टक्का जस्ता संकुचित प्रवृत्तिमा फसेपछि कांग्रेस मात्र होइन मुलुक अनिर्णयको बन्दी बनेको छ। दुई महिनादेखि बसिरहेको केन्द्रीय समितिको बैठकले कुनै ठोस निर्णय लिन नसक्नु यसको ज्वलन्त प्रमाण हो।
यही मोडमा आइपुग्दा फेरि एकपटक मुलुकको राजनीतिक भविष्य अन्धकारतिर हुत्तिएको अनुभव भएको छ। सुशासनका नाममा दुर्योधन प्रवृत्तिका पात्रहरू हाबी हुँदैछन् र राजनीतिक दिशाहीनताबाट उम्कन खोजिरहेको देशमाथि पुनः एक coordinated आक्रमण भएको छ। राज्यका तीनवटै प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई एकैसाथ कमजोर पार्ने प्रयास भएको छ। इतिहासमै कहिल्यै नभएको भौतिक विनाश एकै दिनमा निम्त्याइयो। औद्योगिक घराना र व्यावसायिक प्रतिष्ठानहरू लुटपाट र ध्वंसका निशाना बने। हजारौँ युवालाई बेरोजगार बनाएर बिदेसिन बाध्य बनाइएको छ। हिजो देश गृहयुद्धमा फसेका बेला पनि यस्तो गम्भीर अवस्था आएको थिएन तर आज कल्पनातीत संकट देशमाथि पछारिएको छ।
यिनै विषम र त्रासदीपूर्ण परिस्थितिमा मुलुकलाई निकासको समाधान खोज्ने कोइराला परिवारको ऐतिहासिक परम्पराको निरन्तरता जोगाउँदै डा. शेखर कोइराला आशाको दियो बनेर उदाएका छन्। आजको उल्झिएको राजनीतिक माहोलमा उनी दृढ, संयमित र सन्तुलित व्यक्तित्वका रूपमा उभिएका छन्। चिकित्सकको अनुशासन, नेताको धैर्य र राष्ट्रसेवकको समर्पण यी तीन गुणले उनको परिपक्व राजनीतिक पहिचानलाई अझ थप बलियो बनाएको छ।
धेरैलाई थाहा नहुन सक्छ, २०६२/०६३ को जनआन्दोलनभन्दा अघि नै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन डा. शेखर कोइरालाले निर्वाह गरेको भूमिका अद्वितीय थियो। गिरिजाप्रसाद कोइरालाका विशेष दूतका रूपमा कहिले दिल्ली त कहिले रुकुम–रोल्पाका जंगलसम्म पुगेर शान्ति स्थापना गर्न गरेको मध्यस्थता त्यो समयको सबैभन्दा जोखिमपूर्ण तर निर्णायक योगदान थियो। दिल्लीको १२ बुँदे सम्झौतादेखि २०६४ को संविधानसभा चुनाव, माओवादीसँगको बृहत् शान्ति सम्झौता हुँदै २०७२ को संविधान निर्माणसम्म गिरिजाबाबु र सुशीलदाका प्रमुख विश्वासपात्रका रूपमा आर्जन गरेको अनुभव र योग्यता आज मुलुकलाई अनिर्णयको बेडामा बाँधिने अवस्थाबाट निकास दिने शक्तिका रूपमा देखाउने बेला भएको छ।
आज जनता आफ्नो नेतृत्वमा इमान, नैतिकता, निष्ठा र निर्णायक क्षमता भएको व्यक्तित्व खोजिरहेका छन्। यही गुण कोइराला परिवारको तेस्रो पुस्ता डा. शेखरमा देखिरहेका छन्। नेपाली कांग्रेसभित्र अघोषित वरिष्ठ नेताको हैसियत बनाइसकेका उनले अहिले गम्भीर रूपमा ध्रुवीकृत भइरहेका दुवै धार उग्र परिवर्तनवादी र कठोर पुरातनवादीबीच पुल बन्नसक्ने सम्भावना बलियो छ। जनताको भावना र विश्वासमा पानी छम्केर निर्वाचन अघि नेतृत्व परिवर्तन गर्नु हुँदैन भन्ने शक्ति र मक्किएको घरको छाना मात्रै फेर्नुपर्छ भन्ने शक्ति दुवैलाई एक ठाउँमा ल्याएर जनताको विश्वास फर्काउने गरी डाक्टरले कांग्रेसको उपचार गर्ने कुरामा धेरैजसो आशावादी छन्। कांग्रेस विशाल समुद्रजस्तै पार्टी हो जहाँ उमेर, जात, धर्म, भाषा, संस्कृति भेद बिना सबैलाई स्वामित्व मिल्छ। कुनै एक मात्र धारणा वा अतिवादी सोचको अधीनमा रहने पार्टी कहिल्यै होइन। यस्तो पार्टीलाई मध्यमार्गी, लोकतान्त्रिक र समावेशी नेतृत्व चाहिन्छ। कांग्रेसका नेता, कार्यकर्ता र नेपाली जनताले जुन स्वरूप डा. शेखर कोइरालामा देखिरहेका छन्।
जेनजी आन्दोलनले नेपालको राजनीतिमा नयाँ चेतना र नयाँ प्रश्नहरूको लहर उठाइदियो कि राजनीतिक नेतृत्व कस्तो हुनुपर्छ भनेर। जिम्मेवारी र जवाफदेहिता कस्तो देखिनुपर्छ? जनआवाजको सम्मान कसरी गर्नुपर्छ?
यस आन्दोलनले धेरै नयाँ पुराना नेताहरूलाई गम्भीर चुनौती पनि दियो। तर यसबीचमा डा. शेखर कोइरालाले देश र पार्टीप्रतिको दिएको आफ्नो परिपक्व दृष्टिकोणले सबैलाई प्रभावित पार्न सफल भए। भदौ २३ गते देखिएको युवाको उत्साहलाई उनले न उपेक्षा गरे, न अवमूल्यन। बरु त्यसलाई लोकतन्त्रको स्वाभाविक गतिशीलताका रूपमा ग्रहण गरे।
भदौ २४ गते भएको हिंसात्मक आक्रमण, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश, पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथिको घातक हिंसात्मक आक्रमण, २३ गते बानेश्वरमा अबोध बालकमाथि गोली हान्नेहरुप्रति कडा शब्दमा कटाक्ष गर्दे उनले स्पष्ट र निडरतापूर्वक आतंकवादी तथा आपराधिक गतिविधिका रूपमा चिनाए र संलग्नहरूलाई कडा कारबाहीको माग गरेका छन्।
त्यति मात्रै होइन पछिल्ला दुई वर्षदेखि निरन्तर रुपमा उनले उठाइरहेको सुशासनको एजेन्डालाई कतिपयले सत्ता समीकरणप्रति असन्तुष्टि मात्रै ठानेर हेला गरे। दूरदर्शी नेताको पहिचान बोकेका डा. शेखरले बारम्बार दिएको सुझावलाई राज्यसत्तामा बस्न लालायित शक्तिहरूले बेवास्ता गर्दै गए र आज मुलुकले भोगिरहेको दुरवस्था त्यही अवज्ञा र उदासीनताको प्रत्यक्ष परिणाम हो।
डा. शेखर कोइरालाको राजनीतिक यात्रा कुनै आकस्मिक आकांक्षाको उपज होइन। उनी नेपाली राजनीतिका महानायक बीपी कोइरालाका सिद्धान्तका दृढ अनुयायी, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको प्रत्यक्ष सान्निध्यबाट निखारिएको राजनीतिक संस्कार बोकेका नेता हुन्। लोकतन्त्र, समाजवाद र मानव सेवाका आधारभूत मूल्यहरू बीपीले देखाइदिएको बाटो हो र यही बाटोमा उनी आज पनि निष्ठा, इमान र धैर्यसहित निरन्तर अघि बढिरहेका छन्।
कोइराला परिवार वंशगत धरोहर मात्र होइन, नेपाली लोकतन्त्रको सैद्धान्तिक मेरुदण्ड हो। डा. शेखर त्यही परम्पराका उत्तराधिकारीका रूपमा परिपक्व, सन्तुलित र जिम्मेवार नेतृत्वको उचाइमा उभिएका छन्।
राजनीतिक अस्थिरता, पार्टीभित्रका विभाजन, कटु असहमति र अविश्वासका घेराबीच पनि उनी सधैँ संवाद, संगठन र आन्तरिक एकता मजबुत बनाउनै पक्षधर रहे। चिकित्सकको जीवनबाट राजनीतिमा प्रवेश गर्दा ल्याएका सेवाभाव, अनुशासन, शालीनता र मानवतावादी दृष्टिकोण उनी आज पनि जस्ताको तस्तै राजनीतिमा बोकिरहेका छन्। डा. कोइरालाको बोलीमा अतिरञ्जना हुँदैन तर विश्वासको शक्ति हुन्छ। उनको विचारमा उग्रता हुँदैन तर गहिरो विवेक र दीर्घदृष्टि हुन्छ।
नेपाली राजनीतिमा यति संयमित, सन्तुलित र नैतिक नेतृत्व दुर्लभ छ, यही कारण आज युवा पुस्ताले उनलाई सिद्धान्तमा अडिग र व्यवहारमा लचिलो नेताको रूपमा कदर गर्छन्।
यही संयमित शैली, यही परिपक्व राजनीति नै आज कांग्रेसलाई आवश्यक रहेको जीवनदायिनी शक्ति हो। मुलुक अनिश्चितताको दोबाटोमा उभिएको यस घडीमा कांग्रेसले डा. शेखर कोइरालाजस्ता अनुभवी, नैतिक र दूरदर्शी नेतृत्वलाई विश्वास गर्न ढिला गर्नुहुँदैन। नेपालका युवाले खोजेको नयाँ सोच र पुरानो पुस्ताले अनुभव गरेको मूल्य परम्पराबीच पुल बनेर उभिएका कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पार्टीलाई नयाँ ऊर्जा दिने एकमात्र सशक्त विकल्प हुन् भन्नेमा दुईमत छैन। उनको नेतृत्व मुलुकका लागि लोकतान्त्रिक दृढता, सुशासनको प्रतिबद्धता, आर्थिक समृद्धिको सम्भावना, रोजगारीको बाटो र राजनीतिक सन्तुलनको सुनिश्चितताका लागि हो। आजको विषम परिस्थितिमा सबैले खोजिरहेको स्पष्ट उत्तर पनि यही हो।
[शाही कांग्रेस महासमिति सदस्य हुन्।]



