विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न

हिमाल प्रेस ७ मंसिर २०८२ २०:१४
8
SHARES
विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न

जनकपुरधाम- सीताराम विवाचपञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आइतबार तिलकोत्सव समारोह सम्पन्न भएको छ। राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न भएको हो। मैथिली संस्कृतिमा तिलकोत्सव भनेको विवाहपूर्व हुने छिनोफानो हो।

त्रेता युगमा धनुषयज्ञपछि भगवान श्रीराम र माता सीताबीच विवाह हुने निश्चित भएको मान्यताअनुसार विवाहपञ्चमीको अवसरमा धुमधामका साथ तिलकोत्सव मनाइने गरिन्छ।

सीताराम विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताव्यापी कार्यक्रम मनाइने गरिन्छ।

राम मन्दिरको प्राङ्गणमा सम्पन्न तिलकोत्सव समारोहमा बेहुली सीताको पक्षबाट जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव र बेहुला रामको पक्षबाट राम मन्दिरका महन्त राम गिरीले पिताका भूमिका निर्वाह गरेका थिए।

मैथिली वैवाहिक संस्कारअनुसार बेहुलालाई विभिन्नखाले उपहारका साथ तिलक चढाइने गरिन्छ। यही परम्पराअनुसार सीताको ससुरालीको प्रतीकको रुपमा रहेको राम मन्दिरमा तिलकोत्वस गरिन्छ।
यसअवसरमा जानकी मन्दिरको तर्फबाट भगवान रामलाई फलफूल, लत्ताकपडा, मिठाईलगायतका परिकारहरू पाहुरको रूपमा चढाइएको थियो।

तिलकोत्सव समारोहमा ठट्यौली गर्ने परम्परासमेत रहेको छ। यस अवसरमा बेहुलीपक्षले बेहुला पक्षलाई मैथिली लोकगीत गाएर ठट्यौली गर्ने गर्दछन्। यही परम्पराअनुसार राम मन्दिरको प्राङ्गणमा बेहुली पक्षबाट उपस्थित महिलाहरूले ठट्योली गर्दै बेहुलापक्षलाई गाली दिएका थिए।

तिलकोत्वस विधि सम्पन्न भएसँगै सोमबार मटकोर विधि गरिनेछ। प्रत्येक वर्षझैँ यसपालि पनि गंगासागर पोखरीमा बाजागाजासहित मटकोर विधि सम्पन्न हुने जानकी मन्दिरले जनाएको छ। मटकोरपछि विवाहपञ्चमीको मुख्य आयोजन सीतारामको स्वयंभर र त्यही राति वैवाहिक कार्यक्रम आयोजना हुनेछ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले मैथिली संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुने जानकारी दिए।

उनले भने,‘सीताराम विवाह महोत्सव जनकपुर र सम्पूर्ण मिथिलाका लागि गौरवको विषय हो। धुमधाम र उल्लासका साथ हामी यो महोत्सव मनाउने गरेका छौँ। मैथिली संस्कार र विधिअनुसार जानकी मन्दिर प्राङ्गणमा वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।’

सातौँ दिन रामकलेवा मनाएर सीताराम विवाहोत्सव सम्पन्न हुने उनले बताए। अयोध्यासहित भारतका विभिन्न स्थानबाट वैवाहिक कार्यक्रममा सहभागी हुन आएका जन्तिहरूलाई बिदाइ गर्ने कार्यक्रमलाई रामकलेवा भन्ने गरिन्छ।

तीर्थालुलाई सास्ती

सीताराम विवाहोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट पनि हजारौँको संख्या श्रद्धालुहरू जनकपुर आउने गरेका छन्। अन्य वर्ष जस्तै यसपालि पनि विवाहपञ्चमीमा सहभागी हुन ठूलो संख्यामा श्रद्धालुहरू जनकपुर आएका छन्।

तर, सरोकारवाला निकायले वासस्थानको उपयुक्त व्यवस्था नगर्दा श्रद्धालुहरू समस्यामा परेका छन्। प्रमुख सरोकारवाला निकाय जनकपुरधाम उपमहानगरपालिकाले श्रद्धालुहरूका लागि वासस्थान उपयुक्त व्यस्थापन नगरेको स्थानीयहरूको गुनासो छ। उपमहानगरले वासस्थान, अस्थायी शौचालय र खानेपानीको आवश्यक व्यवस्था नगर्दा विवाहपञ्चमीको मेला भर्न आएका श्रद्धालुहरू समस्यामा परेका हुन्।

मेला भर्न आउने श्रद्धालुहरूका लागि प्रत्येक वर्ष रंगभूमि मैदान, मणिमण्डप, तिरहुतियागाछीलगायतका स्थानमा टेन्ट पाल लगाएर अस्थायी वासस्थानको व्यवस्था गरिन्थ्यो। तर, यसपालि उपमहानगरपालिकालगायत अन्य सरोकारवाला निकायले चासो नदेखाउँदा श्रद्धालुहरूलाई सास्ती भोग्नु परिरहेको छ।

उपमहानगरपालिकाका मेयर मनोज साहले वासस्थानलगायतका सुविधाहरूको तयारी भइरहेको बताए। उनले विवाहोत्सवको दिनसम्म सबै तयारी भइसक्ने जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०८२ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast