काठमाडौँबाट लुटिएका हतियारसहित तीनजना झापामा पक्राउ

हिमाल प्रेस ९ मंसिर २०८२ ११:१० | Tuesday, November 25, 2025
12
SHARES
काठमाडौँबाट लुटिएका हतियारसहित तीनजना झापामा पक्राउ

झापा- जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा दमक-६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक-९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली-४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गए राति लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक-८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

उनको साथबाट ठूलो चापे टाइप-५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्युरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो।

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए। त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो। थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली-४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। पछि लागुऔषध नियन्त्रण ब्युराे शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो।

त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप-५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ। हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ। बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८२ ११:१० | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast