यसरी खण्डीकृत हुँदै छ विश्व अर्थतन्त्र

हिमाल प्रेस ११ मंसिर २०८२ १२:५८
12
SHARES
यसरी खण्डीकृत हुँदै छ विश्व अर्थतन्त्र जर्मनीको फ्रांकफर्ट बन्दरगाहमा रहेका कन्टेनर। तस्बिर : एपी/रासस

विश्व अर्थतन्त्रमा अब के हुँदै छ? एउटा विश्वसनीय उत्तर छ- यो खण्डीकृत हुन थालिसकेको छ। यो तर्क क्यापिटल इकोनोमिक्सका समूह प्रमुख अर्थशास्त्री निल सियरिङले आफ्नो नयाँ पुस्तक ‘द फ्र्याक्चर्ड एज’ मा दिएका हुन्।

उनी लेख्छन्, ‘खण्डीकृत हुनु भनेको विश्वव्यापीकरणको उल्टो हुनु जस्तो होइन। व्यापार र विश्वव्यापीकरणका अन्य स्वरूप धेरै मात्रामा नघट्न सक्छन्। यो सन् १९३० को दशकको पतनजस्तो हुने छैन। तर प्रतिद्वन्द्वीहरूसँगको व्यापार घट्नेछ र साथीहरूसँगको व्यापार बढ्नेछ। उनका अनुसार विश्व अमेरिका-केन्द्रित गुट र चीन-केन्द्रित गुटबीच विभाजित हुनेछ। त्यसमा केही असंलग्न देशहरू फस्नेछन् र आफ्नो हितका लागि सक्दो प्रयास गर्नेछन्।’

ठूलो संख्यामा अमेरिकी राजनीतिक अभिजात वर्गले चीनको उदयलाई यस युगको चुनौतीका रूपमा लिइसकेका छन्। गत मेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले आधुनिक समयको अमेरिकी ‘आधिपत्य’ र ८० वर्षअघिका ‘अहंकारी फासीवादी शक्तिहरू’ बीच समानान्तर सम्बन्ध पनि जोडेका थिए। यो जुधाउने खालको बोली थियो।

सियरिङका अनुसार विश्व अर्थतन्त्रको यस्तो विभाजनबाट अमेरिका अगाडि आउनेछ। यसको मुख्य तर्क भनेको अमेरिकाका सहयोगीहरू चीनका सहयोगीहरूभन्दा आर्थिक रूपमा बढी शक्तिशाली छन्। यसमा प्राय: विकसित देशहरू समावेश छन्। चीनको एकमात्र महत्त्वपूर्ण सहयोगी रूस हो। बजार मूल्यका आधारमा विश्वको कुल गार्हस्थ उत्पादनमा अमेरिकी गुटको हिस्सा ६८ प्रतिशत छ, जबकि चीनको गुटको हिस्सा २६ प्रतिशत छ। खरिद शक्ति समताका आधारमा समेत अमेरिकी गुटको हिस्सा ५० प्रतिशत छ। यसमा चीनको गुटको हिस्सा ३२ प्रतिशत छ।

सेयरिङले उठाएको एउटा विवादास्पद बिन्दु यो हो कि धेरै देशहरू दुवै पक्षसँग खुला रहन चाहन्छन्, तर अधिकांशलाई छनोट गर्न बाध्य पारिनेछ। अन्ततः विश्वका सबैभन्दा आर्थिक रूपमा शक्तिशाली देशहरू अमेरिकाकै नजिक रहनेछन्, किनभने तिनीहरू यसको सुरक्षा छाता, यसको बजार र यसको मुद्रामा निर्भर छन्। अन्तिम विकल्पका रूपमा तिनीहरू चीनलाई बढी अविश्वास गर्छन्।

अमेरिकी गुट आर्थिक रूपमा बढी विविधतापूर्ण छ र यसले थप आधारभूत प्रविधिहरू, विशेष गरी सूचना प्रविधिमा नियन्त्रण राख्छ। चीनले हालसालै देखाएअनुसार महत्त्वपूर्ण खनिजहरू र दुर्लभ धातुहरूमा शक्तिशाली स्थान सिर्जना गरेको छ। यसबाहेक अमेरिका र यसका सहयोगीहरूको मुद्रा र वित्तीय बजारहरू विश्वव्यापी रूपमा अपरिहार्य छन्। चीनले तिनीहरूलाई प्रतिस्थापन गर्न चाहँदैन पनि किनभने खुला पुँजी बजारले सिर्जना गर्ने किसिमको खुला बजार अर्थतन्त्रप्रति चिनियाँ चासो छैन।

खण्डित विश्व अर्थतन्त्रबाट चीनलाई बढी नोक्सान हुने सेयरिङको तर्क छ। चीनसँग संरचनात्मक चालू खाता बढी छ। यी कोषहरू सुरक्षित रूपमा लगानी गर्न सकिने देशहरू अमेरिका र यसका सहयोगी हुन्। अर्को विकल्प भनेको विकासोन्मुख देशहरूलाई ठूलो मात्रामा ऋण दिनु हो, जसले आफ्नो ऋण तिर्न नसक्ने सम्भावना हुन सक्छ।

चीनको आर्थिक वृद्धि सुस्त भइसकेको छ र अझै सुस्त हुने सम्भावना छ। सेयरिङको तर्क छ, ‘आंशिक रूपमा हाल जारी विभाजनका कारण चीनको वृद्धि दर २ प्रतिशतसम्म सुस्त हुन सक्छ, जुन अमेरिकासँग लगभग बराबर हो।’ कम्तीमा पनि विश्वका कुनै पनि ठूला बजारहरूले यसको औद्योगिक नीतिहरूले निम्त्याएको चिनियाँ निर्यातको बाढी सहन सक्ने छैनन्। यो कुरा सही हो भने चीनको अर्थतन्त्र सम्पूर्ण अमेरिकी गुटको त के कुरा अमेरिकासँग भन्दा पनि निर्णायक रूपमा कहिल्यै ठूलो हुन सक्ने छैन।

यसरी विश्व अर्थतन्त्र विभाजन प्रक्रियामा छ भन्ने तर्क सही छ। पुरानो बहुपक्षीयता मरिरहेको छ भन्ने कुरामा सेयरिङ सही छन्। तर उनी अमेरिकी गुटको भविष्यबारेमा धेरै आशावादी र चीनको आर्थिक सम्भावनाबारे धेरै निराशावादी साबित हुने सम्भावना बढी छ।

अमेरिका आफ्नै मुख्य सम्पत्तिमाथि आत्मघाती आक्रमण गरिरहेको छ। ती सम्पत्तिमध्ये एक हो-अमेरिका एक भरोसायोग्य मित्र हो भन्ने धारणा वा कुनै पनि प्रकारको साझेदारको रूपमा उसलाई विश्वास गर्न सकिने क्षमताको छवि। डोनाल्ड ट्रम्पको व्यवहारले ब्राजिल, क्यानडा, भारत र युक्रेनसँग (चार उदाहरण मात्र) अमेरिकाको विश्वसनीयता नष्ट गरिदिएको छ। अन्य आक्रमणमा परिरहेका सम्पत्तिहरूमा कानुनी शासन, विज्ञान र विश्वविद्यालयप्रतिको समर्थन र आप्रवासीहरूप्रति खुलापन पर्छन्। हो, धेरै देशहरू अझै पनि अमेरिकामाथि भर पर्न चाहन्छन्। ट्रम्पको अनिश्चित र अविश्वसनीय विश्व–व्यवहारलाई अस्वीकार गरिएन भने अमेरिकी ब्लक बिस्तारै खुम्चिन सक्छ। क्यापिटल इकोनमिक्सले पनि भारतलाई ‘अमेरिकातिर झुकाव’ श्रेणीबाट हटाएर ‘असंलग्न’ श्रेणीमा राखिसकेको छ।

अर्को कारण हो- चीनलाई हरेक क्षेत्रमा असफल मान्नु गल्ती हो। एउटा यस्तो अर्थतन्त्र जहाँ प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (खरिद शक्ति समताका आधारमा) अमेरिकाको स्तरको लगभग ३० प्रतिशत मात्र छ, त्यसमा दुई प्रतिशतको वृद्धि असम्भव छ। चीनको असाधारण मानव सम्पत्ति लाई ध्यानमा राख्दा यो कुरा सत्य हो। ‘वर्तमान शासनले गलत नीति अपनाएको छ। तर देङ सियाओपिङले देखाएझैँ विनाशकारी नीतिहरू पनि परिवर्तन गर्न सकिन्छ। चीन कमजोर आर्थिक प्रदर्शनलाई अनिश्चितकालसम्म स्वीकार गर्ने छैन’, सेयरिङले लेखेका छन्।

यी सबै तर्कहरूले विश्वको विभाजन (गुटबन्दी) हुने कुरालाई गलत साबित गर्दैनन्। सबैभन्दा ठूलो डर के हो भने यी ठूला शक्तिहरूले यस्तो खेल खेलेमा कसैलाई पनि फाइदा हुँदैन। रोमन साम्राज्यपछि ठूला शक्तिहरूबीच नभएको युद्ध फेरि सुरु हुन सक्छ।

युद्ध नभए पनि विभाजित विश्वलाई व्यवस्थापन गर्न सबैलाई गाह्रो हुन्छ। जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्या समाधान गर्न अमेरिकाजस्ता देशहरू वार्तामा नआउनु यसको प्रमाण हो।

यो विभाजन भएमा चीन वा अमेरिका कसलाई बढी घाटा हुन्छ भन्न गाह्रो छ तर विश्वले नै पहिलाको भन्दा नराम्रो परिणाम बेहोर्ने सम्भावना छ।

[फाइनान्सियल टाइम्समा मार्टिन वुल्फले लेखेको यो सामग्री अंग्रेजीबाट भावानुवाद गरिएको हो।]

प्रकाशित: ११ मंसिर २०८२ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast