काठमाडौँ- बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमनमा ठप्प रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका केही मुख्य सडकहरू बाढी-पहिरोका कारण प्रभावित भएका छन्। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य बन्दै गएको देखिएको छ ।
कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध र दुई वटा एकतर्फी सुचारु रहेको जनाएको छ। सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध छ।
इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ। पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटा चौविसे गाउँपालिका-४ चारखोलेमा बाढि पहिरोका कारण तममोर करिडोर र मिक्लाजुङ गाउँपालिका-७ ऐनेभिर राँके रबि भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चारखोलेमा अविरल वर्षका कारण र तेह्रथुमको म्याङलुङ नगरपालिका-६ सिस्ने खोलामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ।
बागमती प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। जसमा काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका-६ चौकीडाँडा रोशी गाउँपालिका-७,९,११ र नार्के स्थित विभिन्न स्थानहरूमा पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ तातोपानि बालुवाखानि, घट्टेखोला र फ्याङ्लुङघट्टेखोला र फ्याङ्लुङ स्थित सडक खण्डमा पहिरो जाँदा पासाङल्हामु सडक र गोसाइगुण्ड गाउँपालिका-२ मा नेपाल चीन जोड्ने पुल बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ। मकवानपुरको इन्द्रसरोवर गाउापालिका-३ ज्यामिरे पहिरोका कारण कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध छ।
गण्डकी प्रदेशको वारगुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङ र ताङ्वे बिचको कालाभिरमा पहिरोका कारण जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ र घरपझोङ गाउँपालिका-४ पाण्डाखोला जोमसोम-कोरोला सडक खण्डमा एकतर्फी सुचारु रहेको छ। यसैगरी लुम्बिनी प्रदेशमा अर्घखाचीको सन्धिखर्क नगरापालिका-६ माथिल्लो रिब्दमा पहिरो जाँदा सन्धखर्क गोरुसिङ्गे सडक एकतर्फी सुचारु रहेको छ।



