यस्ता छन् जनार्दन शर्माले लिएका दुई विकल्प

हिमाल प्रेस २१ कार्तिक २०८२ १२:१८
62
SHARES
यस्ता छन् जनार्दन शर्माले लिएका दुई विकल्प

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीसहित पार्टी एकीकरणमा सहभागी नरहेका जनार्दन शर्माले राजनीतिक सक्रियताका लागि दुई विकल्पमा छलफल तीव्र पारेका छन्। उनले कम्युनिस्ट धारका दलहरू र वैकल्पिक राजनीतिक दलहरूसँग छलफल तीव्र पारेका हुन्। शर्मा प्रचण्डसँग विमति जनाउँदै माओवादीलगायतका दलको एकीकरणमा सहभागी भएनन्। त्यसैले उनले नयाँ राजनीतिक यात्राका लागि छलफल अगाडि बढाएका उनी निकट नेताहरू बताउँछन्।

शर्माको राजनीतिक दौडधुप बढेको छ। माओवादी केन्द्रसहित १० ले बुधबार पार्टी एकता गरेपछि एक्लिएका शर्माले विभिन्न राजनीतिक शक्तिसँग छलफल अगाडि बढाएका छन्। नेता शर्माले कम्युनिस्ट र गैरकम्युनिस्ट विचारका दलहरूसँग भेटवार्ता गरेका हुन्।

शर्माले बिहीबार बिहान गैरकम्युनिस्ट नेता तथा पार्टीलाई भेटेका थिए। सो क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विवेकशील साझा पार्टीसँग छलफल गरेका थिए। शर्मा निकट स्रोतका अनुसार उनी बिहीबार दिनभर भेटघाटमै व्यस्त थिए। शर्माले जेनजीको एक समूहलाई पनि भेटेका थिए।

यसैगरी शुक्रबार बिहानै उनी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निवास हरिसिद्धि पुगे। साथमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पनि थिए। विप्लव, शर्मा र भुसालले राजनीतिक सहकार्य गर्ने बताइएको छ।

शर्मा निकट ललितपुरका एक नेताका अनुसार शर्मा यतिखेर कम्युनिस्ट विचारधारा बोक्ने कि छोड्ने दोधारमा छन्। ती नेताले भने, ‘विप्लव, घनश्याम र जनार्दन एउटै पार्टी बनाएर सँगै जानुभयो भने जनार्दनले कम्युनिस्ट विचार यथावत् राख्नुहुन्छ। यदि त्यस्तो भएन भने उहाँ गैरकम्युनिस्ट बन्नुहुन्छ र बाबुराम, रास्वपा, विवेकशीलको कित्तामा जानुहुन्छ।’

पूर्वऊर्जामन्त्री समेत रहेका शर्माले शुक्रबार ऊर्जामन्त्री कुलमान घिसिङलाई भेट्ने कार्यक्रम रहेको पनि ती नेताले जानकारी दिए। शर्मा ऊर्जामन्त्री हुँदा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशनक घिसिङ थिए। प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी पदमा नियुक्त गरेको थियो। शर्मा र घिसिङको कार्यकालदेखि मुलुकमा लोडसेडिङ अन्त्य भएको थियो।

प्रकाशित: २१ कार्तिक २०८२ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast