विशेष महाधिवेशनको विकल्प धेरै छन्, भ्रम नफैलाउनुस् : कांग्रेस नेता गुरुङ

हिमाल प्रेस १२ मंसिर २०८२ ९:५०
12
SHARES
विशेष महाधिवेशनको विकल्प धेरै छन्, भ्रम नफैलाउनुस् : कांग्रेस नेता गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीभित्र उठेको विशेष महाधिवेशनसम्बन्धी बहसलाई लक्षित गर्दै क्रियाशील सदस्यको टुंगो नलागेसम्म १५औँ महाधिवेशन सम्भव नहुने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले विशेष महाधिवेशनलाई कतिपय नेताहरूले नेतृत्व परिवर्तनको औजारका रूपमा प्रयोग गर्न खोजेकोजस्तो देखिएको टिप्पणी गरे।

नेता गुरुङले विशेष महाधिवेशनका विकल्प धेरै रहेको बताए। उनले भने,‘कसै कसैलाई विशेष महाधिवेशनको विकल्प नै छैन भन्ने लाग्न सक्छ। तर पार्टीमा विशेष महाधिवेशनको पनि धेरै विकल्प नै विकल्पहरू छन्।’ उनले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई भ्रम नफैलाउन पनि आग्रह गरे।

नेता गुरुङले विशेष महाधिवेशनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर प्रमाणीकरण अनिवार्य भएकाले सनाखत प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताए। तर यस्तो प्रक्रिया सुरु भए पनि २५ प्रतिशत हस्ताक्षरसम्म पनि नपुग्ने संकेत देखिएको उनले दाबी गरे। त्यसैगरी, केही महामन्त्रीहरू विशेष महाधिवेशनप्रति इमानदार नभएको र यसलाई ‘बार्गेनिङ टुल’ जस्तै प्रयोग गरिरहेको जनआवधि रहेको उल्लेख गरे।

गुरुङले राष्ट्रिय सभागृहमा भएको भेलामा महाधिवेशन प्रतिनिधि निकै कम संख्यामा मात्र उपस्थित रहेको र विशेष महाधिवेशन माग गर्नेहरूभित्र नै गम्भीर मतभेद देखा परेको बताए।

पार्टी विधानको धारा १७(२) को व्याख्या नेतृत्व परिवर्तनका लागि गरिएको भन्दै उनले यो गलत र भ्रामक व्याख्या भएको स्पष्ट पारे। धारा १७ (२) नेतृत्व परिवर्तनका लागि नभई नीतिगत असाधारण परिवर्तनका अवस्थाका लागि मात्र प्रयोग हुने प्रावधान भएको उनले लेखे।

गुरुङले पार्टीलाई चुनावमुखी बनाउन क्रियाशील सदस्यता छानबिन समिति, कार्यसम्पादन समिति र केन्द्रीय संसदीय समिति जस्ता संरचना तत्काल गठन गर्नुपर्ने सुझाव दिए। उनी भन्छन्,‘क्रियाशील सदस्यको अन्तिम टुंगो नभएसम्म १५औँ महाधिवेशनको कार्यतालिका पनि बनाउन मिल्दैन।’

उनले विशेष महाधिवेशनको डर कुनै पनि नेतामा नभएको बताउँदै गलत व्याख्या, भ्रम र स्वार्थका आधारमा महाधिवेशनको एजेण्डा अघि नबढाउन आग्रह गरे।

प्रकाशित: १२ मंसिर २०८२ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast