प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्रीद्वयले भने– एमालेलाई सहमतिमा ल्याउन सरकारको प्रयास जरूरी छ

हिमाल प्रेस १५ कार्तिक २०८२ १९:२६
28
SHARES
प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्रीद्वयले भने– एमालेलाई सहमतिमा ल्याउन सरकारको प्रयास जरूरी छ

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन्। यसै सन्दर्भमा शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन्।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी छन्।

यस क्रममा महामन्त्रीद्वयले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। शीघ्र यसबारे आधिकारीक निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ। एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ। हामी पनि प्रयासरत छौँ।’

उनीहरूले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताए। महामन्त्रीद्वय थापा र शर्माले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केकसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ। आज एमाले सचिवालय बैठक भएकाले छलफल अर्को दिन गर्ने एमाले नेतृत्वले बालुवाटारमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरूसँग छलफल गरेकी थिइन्। प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast