दासढुंगादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

हिमाल प्रेस १७ कार्तिक २०८२ १२:४७
14
SHARES
दासढुंगादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा फाइल तस्बिर।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको दासढुंगादेखि मुग्लिनसम्मको सडकखण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ। पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ।

चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन। सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी ई.कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ-मुग्लिन सडक २०३३ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो। सुरुवाती चरणमा यो सडक मिडियम लेनमा पाँच दशमलव पाच मिटर चौडाइमा बनेको थियो।

राजधानी काठमाडौँ जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछन्। बढ्दो यातायातलाई मध्यनजर गर्दै २०७०/७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी २०७५ मा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए।

यससँगै सडकमा रहेका १९ वटा पुललाई पनि डबल लेनमा रूपान्तरण गरिएको छ। पछिल्लो समय विश्व बैंकको ऋण सहयोगमा सडक विस्तार र पुल निर्माणको काम गरिएको हो।

सूचना अधिकारी आचार्यका अनुसार दासढुंगादेखि मुग्लिनसम्मको भूबनोट पहिरो जाने प्रकारको भएकाले यो सडकखण्ड जोखिमयुक्त मानिन्छ। अधिकांश स्थानमा भाँचिएको दासढुंगा ‘फ्याक्चर्ड रक’ का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ। हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको उनले बताए।

विगतका वर्षहरूमा मौरीखोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढी रहेको आचार्यले बताए। उनका अनुसार यो वर्ष तुइनखोलामा १६० मिटर, नाम्सीखोलामा १५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिमा रहेको छ।

जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिए। पहिरो रोक्नका लागि योजना बनाएर विभागमा पठाइएको छ। उनका अनुसार आफूहरूले तयार पारेको योजना सहमतिका लागि विभाग पठाइएको र अध्ययनको क्रममा रहेको उनले बताए।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार यसअघि पहिरो खस्दा तुइनखोलामा पुलपट्टीको ढिस्को बाँकी रहेको थियो। सोही ढिस्कोको केही भाग हिजोआज खस्ने गरेको छ। पटकपटक गरेर पहिरो खस्दा सडक जोखिमपूर्ण बनेको छ। गत महिना सो ठाउँमा पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो। पहिरो नियन्त्रणका लागि योजना बनाइएको सो पहाडको धेरै भाग झरेपछि कार्यालयले सडक विभागमा पहिरो नियन्त्रणका लागि पुनः लगत तयार गर्न फाइल पेस गरेको छ।

लामिछानेका अनुसार यसअघि तुइनखोलासहित विभिन्न ठाउँमा पहिरो नियन्त्रणका लागि रु ३९ करोडको लगत तयार गरी विभागमा पेस गरिएको थियो। पहिरो नियन्त्रण गर्नुपर्ने मुख्य पहाडको रूपमा रहेको तुइनखोला नजिकैको पहाडको स्वरूप पहिरोले परिवर्तन गरेपछि स्टिमेट पुनः गर्न लागिएको हो।

उनका अनुसार यही हिउँदमा काम गर्नुपर्ने भएकाले विभागलाई यथासक्य छिटो निर्णय प्रक्रियामा लैजान आग्रह गरिएको छ। यो सडक हुँदै राजधानी काठमाडौँ र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू सवारीसाधन जाने आउने गर्दछन्। ती जिल्लाका लागि लाइफलाइनका रूपमा यो सडकलाई हेर्ने गरिन्छ।

डिभिजन सडक कार्यालयले जोखिमपूर्ण ती क्षेत्रमा पहिरो रोकथामको काम गर्न गत वर्षनै विभागमा प्रस्ताव गरेको भए पनि समयमा ध्यान नदिँदा यो बर्षातमा यात्रुहरूले दुःख पाएका हुन्।

प्रकाशित: १७ कार्तिक २०८२ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast