एमाले महासचिवमा आकांक्षीको लर्को, कुन समूहबाट को?

हिमाल प्रेस ९ मंसिर २०८२ १७:१०
74
SHARES
एमाले महासचिवमा आकांक्षीको लर्को, कुन समूहबाट को?

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी ओली र ईश्वर पोखरलेबीच प्रतिस्पर्धा हुने भएको छ। ओलीले तेस्रोपटक अध्यक्ष बन्न पार्टीको विधान संशोधन गरेका छन्। पोखरेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी उम्मदेवारी घोषणा गरेका हुन्।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’

आफू राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको र जीवनका उचारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन नदिएको उल्लेख गरेका छन्। ‘यो नै मैले आर्जन गरेको नैतिक बल हो। शक्तिमा होइन, म विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु।’

पोखरेलले यसअघिको एमाले सचिवालय बैठकमा आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। प्रतिस्पर्धाका लागि पोखरेलले गृहकार्य थालिसकेको उनी निकट नेताहरूको दाबी छ। पोखरेललाई पूर्वउपाध्यक्ष विद्या भण्डारीको साथ रहने नेताहरू बताउँछन्।

एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। १३ गते पार्टी प्रतिनिधि छनोट गर्ने तयारी एमालेको छ। उपाध्यक्ष युवराज ज्ञवाली एघारौँ महाधिवेशन नवौँ महाधिवेशन जस्तै दुई खेमामा विभाजित हुने सम्भावना बढेको बताउँछन्। उनले भने, ‘अध्यक्षमा यसपटक तीव्र प्रतिस्पर्धा हुने सम्भावना छ। अहिले नवौँ महाधिवेशनमा जस्तै वातावरण बन्न सक्छ।’

एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपालले प्रतिस्पर्धा गरेका थिए। नेपाल ओलीसँग ४६ मतले पराजित भए। पदाधिकारीमा मिश्रित नतिजा आएको थियो। यसपटक एमाले महाधिवेशनमा त्यही झल्को दिने नेताहरूको बुझाइ छ।

महासचिवमा दर्जन आकांक्षी

दसौँ महाधिवेशनमा महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका थिए। तर यसपटक उनी सर्वसम्मत नबन्ने निश्चित छ। समूहगत रूपमा चुनाव लड्दा समेत महासचिवमा तीव्र प्रतिस्पर्धा हुने सम्भावना छ।

एमाले स्रोतका अनुसार ओली समूहबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ महासचिवका आकांक्षी हुन्। यो समूहबाट तीनैजनाले महासचिव बन्नुपर्ने दबाब दिइरहेका छन्। पोखरेललाई महासचिव दोहोर्‍याउन ओली सकारात्मक रहेको नेताहरू बताउँछन्।

ज्ञवाली र गुरुङको दबाबसमेत ओलीमाथि परिरहेको एक नेताले बताए। ‘अध्यक्षज्यूको पहिलो प्राथमिकतामा शंकर पोखरेल, दोस्रोमा प्रदीप ज्ञवाली र तेस्रो प्राथमिकतामा पीएसजी (पृथ्वी सुब्बा गुरुङ) हुनुहुन्छ’, ती नेताले भने। ती नेताका अनुसार ज्ञवालीले आफू सिनियर भएको भन्दै ओलीमाथि दबाब बढाइरहेका छन्। ज्ञवालीलाई च्याप्नुपर्ने दबाबमा ओली रहेको ती नेताले बताए।

गुरुङ भने आफू महासचिव बन्नैपर्ने भनिरहेको ती नेताले बताए। पोखरेल प्यानलमा पनि महासचिवका दाबेदार चारजना छन्। महासचिव आकांक्षीमा योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे हुन्।

पोखरेलबाहेक इतर पक्षमा कोही उम्मेदवार तय भएका छैनन्। पोखरेल ओलीले जसरी रणनीति बनाउँछन् त्यहीअनुसार चल्ने पक्षमा छन्। ‘महासचिव नपाउँदा पीएसजी त्यो समूहमा नरहन सक्नुहुन्छ। त्यहीअनुसार हामी रणनीति बनाउँछौँ’, इतरपक्षका अर्का एक नेताले भने। इतर पक्षमा महासचिवका उम्मेदवार धेरै भए पनि जबरजस्त प्रतिस्पर्धा नहुने देखिएको छ।

‘हाम्रो समूहमा आफैँ हुनुपर्छ भन्नेमा कोही पनि छैन। अध्यक्ष जित्नुपर्छ। अरूमा जो भए पनि हुन्छ भन्ने छ’, इतरपक्षका ती नेता भन्छन्। ओली पक्षमा उम्मेदवार तय गरेपछि मात्र आफूहरू नयाँ रणनीति बनाउने पोखरेल पक्षको तयारी छ।  ‘उताबाट पोखरेल वा ज्ञवाली को रहनुहुन्छ। हामीले त्यहीअनुसार नयाँ उम्मेदवार खोज्छौँ, उताबाट उम्मेदवार नबनाई हामी फाइनल हुँदैन’, ती नेताले भने।

ओली हराउने रणनीति

यसपटक एमालेको अध्यक्षमा तीव्र प्रतिस्पर्धा हुने नेताहरूको अनुमान छ। पोखरेल पनि लामो समय ओली खेमामै रहेकाले प्रतिस्पर्धा रोचक बन्ने नेताहरू सुनाउँछन्। त्यसमा पनि ईश्वर पोखरेललाई भण्डारीको साथ छ। ‘यसपटक अघिल्लो चुनावमा जस्तो मात्र प्रतिस्पर्धा हुँदैन, जितहारकै प्रतिस्पर्धा हुन्छ’, एमालेका एक नेता भन्छन्।

पोखरेल पक्ष जनताको बहुदलीय जनवादका आधारमा चुनावी प्रतिस्पर्धामा जाने तयारीमा छ। ‘पार्टीभित्रको लोकतान्त्रिक मूल्यमान्यतालाई आधार बनाएर पाइला चालिन्छ’, ती नेता भन्छन्। पोखरेल पहिलो चरणमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्। त्यसपछि आफ्ना दस्तावेजहरू सार्वजनिक गर्ने उनको तयारी छ। ‘हामी बलियो समूह निर्माण गर्छौँ। उपाध्यक्ष विष्णु पौडेल पनि हालसम्म खुल्नुभएको छैन। हाम्रैतिर हुनुहुन्छ’, ती नेताको दाबी छ।

एमाले प्रवक्ता राजेन्द्र गौतम महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुने सुनाउँछन्। ‘महाधिवेशनमा समूह नबन्ला तर केही प्रतिस्पर्धा हुन्छ’, उनले भने, भन्छन्, ‘प्रतिस्पर्धा हुनु लोकतान्त्रिक प्रणाली पनि हो। यसलाई सकारात्मक लिनुपर्छ।’

ओलीविरुद्ध मैदानमा उत्रने ईश्वर पोखरेलको घोषणा [वक्तव्यसहित]

प्रकाशित: ९ मंसिर २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast