जेनजी विद्रोहकै जगमा प्रगतिशील लोकतान्त्रिक पार्टी जन्मिएको हो : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस ७ मंसिर २०८२ १६:४४ | Sunday, November 23, 2025
48
SHARES
जेनजी विद्रोहकै जगमा प्रगतिशील लोकतान्त्रिक पार्टी जन्मिएको हो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले जन्माएको राजनीतिक कम्पनपछि त्यसैको मूल जगमा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको बताएका छन्।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वप्रमुख सचेतक सन्तोष परियारबीचको एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ पुस्ताको चेतना र असन्तुष्टिले नै नयाँ राजनीतिक विकल्प आवश्यक पारेको बताएका हुन्।

‘प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ। यो जेनजी विद्रोहको जगमा बनेको पार्टी हो। जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ। यो कुरा बुझिएन र आआफ्नो बखान गर्न थाल्ने हो भने हुँदैन। प्रगतिशील लोकतान्त्रिक पार्टीको अबको एजेन्डा भनेको जेनजी पुस्ताको आवश्यकता, चेतानासँग, यो युगसँग जोडिएका कुराको माग पूर्ति गर्न सक्छ कि सक्दैन भन्ने हो,’ भट्टराईले भने।

भट्टराईले अब राजनीतिक पार्टीको मात्रै होइन राजनीतिकै पुनर्संरचना आवश्यक रहेको बताए। उनले भने,‘जेनजी पुस्ताभित्र गुम्सेर बसेको विचार नै गत भदौ २३ र २४ गते विस्फोट भएको हो। त्यो विस्फोटपछि म किन खुसी छु भने, बल्ल दुनियाँले बुझ्नेगरी पुराना शक्तिबाट देश चल्न सक्दैन भन्ने भयो। त्यसैले अब राजनीतिक पार्टीको मात्रै होइन, राजनीतिकै पुनर्संरचना खोजिएको हो। राजनीतिकै पुनर्संरचनाको खोजी यहाँ भइरहेको छ। त्यसो नगरेसम्म विश्वसँग जोडिएर हामी जान सक्दैनौं।’

उनले पुराना राजनीतिक शक्तिका पुराना विचारले जेनजी पुस्ताको आकांक्षा र युगको माग पूरा गर्न नसक्ने बताए। ‘कांग्रेसले बोकेको पुँजीवादी विचार र कम्युनिस्टहरूको नियन्त्रणवादी, एकाधिकारवादी सोचले अहिलेको युगको काम पूरा हुन सक्दैन,’ भट्टराईले भने।

त्यसैगरी, भट्टराईले देशको आर्थिक र सामाजिक संरचनाले नै परिवर्तनको गति रोकेको पनि बताए। ‘हाम्रो समाजको धरातल धेरै नै न्यून छ। विश्वको आर्थिक औसतभन्दा १० गुणा तल छौं। आर्थिकस्तरले नै मानिसको सामाजिक, साँस्कृतिक र चेतनास्तर निर्धारण गर्छ,’ उनले भने। यही कारण पुराना पार्टीहरूबाट आधुनिक पुस्ताको अपेक्षा पूरा हुन नसकेको उनको धारणा छ।

पार्टीभित्र अबको चुनौती भनेकै जेनजी पुस्ताले उठाएका एजेन्डालाई मूर्तरूप दिन सक्ने राजनीतिक संरचना निर्माण गर्नु रहेको उनले बताए। ‘प्रगतिशील लोकतान्त्रिक पार्टीको अबको एजेन्डा भनेको जेनजी पुस्ताको आवश्यकता, चेतानासँग, यो युगसँग जोडिएका कुराको माग पूर्ति गर्न सक्छ कि सक्दैन भन्ने हो,’ उनले भने।

प्रकाशित: ७ मंसिर २०८२ १६:४४ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast