काठमाडौँ- २०५२ फागनु १ गते तत्कालीन नेकपा माओवादीले ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ ‘जनयुद्ध’ थालनी गरेको थियो। रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकी र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँकमा आक्रमण आक्रमण गरेर थालनी भएको माओवादी युद्ध २०६२/०६३ सालमा अन्त्य भएको थियो। माओवादीले युद्ध थालेको तीन दशक बित्नै लाग्दा त्यति बेलाका शीर्षस्थ नेताहरू भने माओवादीबाट छिन्नभिन्न भएका छन्।
युद्धका क्रममा कम्तीमा १७ हजार नेपालीको ज्यान गयो। अर्बौँको भौतिक सम्पत्ति नष्ट भयो। ग्रामीण बस्ती रित्तिए। कैयौँ नागरिक अपांग भए। कैयौँ बालबालिका टुहुरा भए। माओवादीले त्यति बेला समानान्तर सत्ता (जनसरकार) गठन गरेर राज्यलाई चुनौती दिएको थियो। माओवादी कार्यकर्ताबाट फरक राजनीतिक दलका नेता, सैनिक-प्रहरी सेवामा कार्यरत राष्ट्रसेवकमाथि गरेको हिंसात्मक व्यवहारका कारण धेरै नागरिक पीडित भएका थिए। सुरक्षाकर्मीबाट माओवादीका नाममा सर्वसाधारणमाथि गरेको कुकृत्यको फेहरिस्त पनि लामै छ।
माओवादीले थालनीमा घोषणा गरेजस्तो जनवादी सत्ता स्थापना हुन सकेन। राजतन्त्र अन्त्य गर्न तत्कालीन संसदीय दलहरूसँग मिल्न बाध्य भएको माओवादी २०६४ यता संसदीय राजनीतिमा सक्रिय रह्यो। २०६५ यता सबैभन्दा बढी समय सत्तामा रहेको माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक प्रधानमन्त्री भए। डा. बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री भए। माओवादीबाट मन्त्री बनेका नेताहरूको सूची लामै छ। अन्य राजनीतिक दलसँगको सहकार्य गरेपछि मात्रै राजनीतिक उपलब्धि प्राप्त भए।
२०७२ सालमा संविधान जारी भएपछि माओवादीको औचित्य सकिएको भन्दै तत्कालीन युद्धका सहकमान्डर डा. बाबुराम भट्टराई पार्टीबाट अलग भएर वैकल्पिक राजनीतिमा लागेका थिए। खुला राजनीतिमा आएपछि मोहन वैद्य ‘किरण’ पार्टीबाट अलग भए। माओवादी युद्धमा संलग्न कमान्डर प्रचण्ड र सहकमान्डर भट्टराईसँग अब माओवादी छैन।
शान्ति प्रक्रियामा आएपछि प्रचण्डले पार्टीमा एकता, विग्रह र विलयको शृंखला जारी राखेर नेतृत्वमा रहँदै आएका थिए। कुनै बेला माओवादी युद्धका कमान्डर रहेका प्रचण्डले माओवादी त्यागेको पहिलोपटक भने होइन। यसअघि २०७५ सालमा प्रचण्डले माओवादी त्यागे पनि त्यसलाई अदालतले मान्यता दिएको थिएन।
एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। सर्वोच्च अदालतको आदेशमा २०७७ फागुन २३ गते माओवादी र एमाले ब्युँतिएका थिए। अहिले भने प्रचण्डको नेतृत्वमा निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टी दर्ता भइसकेको छ। प्रचण्ड नेतृत्वको पार्टीमा पार्टीमा माओवाद नाम मात्र होइन सिद्धान्त पनि नहुने भएको छ।
अहिले आएर माओवादी नेत्रविक्रम चन्द ‘विप्लव’ ले बोक्ने भएका छन्। उनले निर्वाचन आयोगमा नेकपा माओवादीका नाममा पार्टी दर्ता गराएका हुन्। प्रचण्डसँग केही वर्षअघि विच्छेद गरेका उनले भूमिगत राजनीति गरेका थिए। विप्लव पनि माओवादी छाडिसकेका नेता हुन्। उनले प्रचण्डसँग अलग भएर नेपाल कम्युनिस्ट पार्टीका नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए।
केही समयअघिसम्म प्रचण्ड-विप्लव सम्बन्ध सुमधुर थियो। समाजवादी मोर्चामा उनीहरूसहित पाँच दल सामेल थिए। १० दलको एकतामा विप्लवलाई पनि सामेल गर्ने प्रचण्डको योजना थियो। विप्लवले पुरानो नेतृत्व नमान्ने अडान लिएका कारण एकता हुन सकेन।
विप्लवले आफू संयोजक रहेको समाजवादी मोर्चासमेत छाडेका छन्। प्रचण्डले एकता प्रयास गर्ने क्रममा विप्लवलाई महासचिव दिने प्रस्ताव गरेका थिए। उनले नेतृत्वमै अडान लिएपछि एकता हुन सकेन। अहिले प्रचण्डले माओवादी त्याग्नु र विप्लवले बोक्नु संयोग मात्र होइन।
‘माओवादीको लिगेसी धान्नुपर्छ भनेर हामीले पार्टीsf नाममा माओवादी राखेका हौँ’, विप्लव निकट नेता सुमन सिंहले हिमालप्रेससँग भने, ‘प्रचण्डले छाडे पनि माओवाद हामी राख्न चाहन्छौँ।’ राजनीतिक क्षेत्रका जानकारहरू प्रचण्डले माओवादको औचित्य सकिएको बुझेका कारण त्यसलाई छाडेको बताउँछन्। राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार अब माओवादको औचित्य सकिएको छ। उनले भने, ‘संविधानमा जुनजुन कुरा नयाँ छन्, ती माओवादीकै उपज हो। अब माओवादको सान्दर्भिकता सकिएका कारण प्रचण्डले छाडेका हुन्।’
प्रचण्ड अब बृहत् वाम एकतातर्फ लागेको बुझाइ पोखरेलको छ। उनले भने, ‘खोला तर्दा नाउ चाहिन्छ तर खोला तरिसकेपछि त्यसलाई सँगै लगिँदैन नि!’
तत्कालीन माओवादीका पूर्वसचिव गणेश साह भने प्रचण्डले सिद्धान्तको राजनीति छाडेको बताउँछन्।
‘प्रचण्ड परिवारवादमा अल्झेका छन्। उनी अहिले परिवार र चुनाव मात्र सोच्छन्,’ साह भन्छन्, ‘माओवाद मात्र होइन प्रचण्डको पार्टीमा कम्युनिस्टमा हुनुपर्ने मूल्यमान्यता पनि छैन।’ कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वदेखि लेबीको समेत परिचालन हुने भए पनि प्रचण्डको पार्टीमा त्यस्तो प्रावधान नरहेको साहले बताए। उनी प्रचण्डले अहिले विभिन्न दलसँग गरेको एकतालाई स्वीकार्दैनन्। ‘प्रचण्डको हालको पार्टी एकता नभई चुनाव जित्नका लागि गठबन्धन गरिएको हो’, साहले भने।



