काठमाडौँ- धरानका मेयर हर्क साम्पाङले आफूले नेतृत्व गरेको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगबाट दलको मान्यता पाएसँगै समाजलाई जोड्ने र काम गर्ने संस्कृतिको अभियान थालिएको बताएका छन्।
दल दर्ताको प्रमाणपत्र लिएपछि आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै साम्पाङले जात, धर्म, वर्ग, व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थजस्ता खराब तत्वले छियाछिया पारेको समाजलाई आफ्नो पार्टीले जोड्ने बताएका हुन्।
उनले भने, ‘यो पार्टीमा जात, धर्म, वर्ग, व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थजस्ता खराब तत्वले छियाछिया पारेको समाजलाई जोड्ने लक्ष्य छ। समाजलाई जोड्ने संस्कृतिले नै नेपालको विकास हुन्छ।’
उनले देशमा उद्योगधन्दा भन्दा बढी राजनीतिक दल रहेको बताउँदै राजनीतिक दलहरूको संख्यामा भन्दा कामको संस्कृतिमा जोड दिनुपर्ने बताए। ‘२०४ वटा दल दर्ता रहेछन्, छक्क परेँ म। सबैले आआफ्नो डम्फु बजाउँछन् तर मिलेर कसैले काम गर्दैन’ उनले भने।
साम्पाङले राजनीतिमा माटोसँग सम्बन्ध राख्नुपर्ने पनि बताए। ‘माटो छोएको छ यो देशमा राजनीति गर्नेलेरु माटो नछोई राजनीति गरेर देश बन्ने होइन। काम गर्ने संस्कृति, मिलेर बस्ने संस्कृति आवश्यक छ,’ उनले भने।
उनले सबै नेपालीलाई श्रमदानमार्फत देश निर्माणमा जोडिन आह्वान गरे। साम्पाङ भने,‘सबै नेपाली हौँ हामी। के को जातजातिको कुरा गर्नेरु श्रमदानमा सबैलाई स्वागत छ।’



