काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आसन्न प्रतिनिधिसभाको निर्वाचनको वातावरण निर्माण भइसकेको बताएका छन्।
नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर विषयक कार्यक्रममा मन्त्री सिन्हाले दलहरू समेत निर्वाचनका लागि छलफलमा बसिसकेको अवस्थामा निर्वाचनका लागि सरकार तयारी अवस्थामा रहेको र वातावरण बनिसकेको बताएका छन्।
उनले जेनजी आन्दोलनमा लुटिएका केही हतियारका कारण दलहरूले सुरक्षा चुनौती देखाउनु उचित नभएको धारणा राखे। मन्त्री सिन्हाले राजनीतिक दलमा आबद्धदेखि आम नागरिकसम्मले निर्वाचनको वातावरण बनाउनुपर्ने जिकिर गरे।
उनले एकअर्कालाई दोष दिनुभन्दा पनि निकासका लागि सहकार्य गर्नुपर्ने बताए। छलफलममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले तोकिएको समयमा नै निर्वाचन हुनेमा आशंका व्यक्त गरेका थिए।



