काठमाडौँ- मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किइन्। सन्तोष गहना पसलमा काम गर्थे। बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो।
गत भदौ २३ गते भने सन्तोष सधैँभन्दा अलि हतारमा देखिन्थे। अम्बिकाले त्यो दिन सम्झिँदै भनिन्, ‘खै किन हतार थियो? फोन आइरहेको थियो साथीहरूको। खाएर निस्किहाल्नुभयो।’ कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गरे। ‘छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,’ सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा ‘ल ! ल।’ भने। भदौ २३ गते बिहान १० बजे बिदा भएका सन्तोष रात बित्यो, फर्किएनन्।
दिनभर बानेश्वर संसद भवनअगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरु अम्बिकाले सामाजिक सञ्जालमा हेरिन्। त्यही संसद् भवन नजिकै आन्दोलनमा सहभागी भएका सन्तोषलाई गोली लागेको खबर अम्बिकाले राति १२ बजे मात्रै थाहा पाइन्।
काम गर्न भनेर निस्किएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहेकी अम्बिकालाई श्रीमानलाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो। खुट्टाहरु काँपिरहे। मुटु चिसो भयो।
उदयपुरको बेलका नगरपालिका-४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्षमात्रै भएको थियो। काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका विचल्लीमा परिन्। राति हिँड्ने स्थिति थिएन। भोलिपल्ट उनी सन्तोषका साथीहरूको सहयोगमा काठमाडौँमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँडिन्। अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो। गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन। प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाइनन्। अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिंगटा लाग्छ।
बोल्दाबोल्दै वाक्य बन्द हुन्छ। आँखाबाट आँशु टिल्पिलाउन थालिहाल्छ। अनि मन पोल्छ। अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ। ‘कति रुनुँ? मैँ रोए छोराछोरीको मुहारमा हाँसो कसरी आउला?’ अम्बिका यसै गरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि संघर्ष गर्दैछिन्। उनको संघर्ष अब राज्यसँग छ। आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमानको सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ। दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बुबाआमाको हेरचारसमेत गर्नुछ।
सन्तोष कान्छा छोरा थिए। उमेरले ७० कटेका वृद्ध बुबाआमाको हेरचाह उनले नै गर्थे। मजदुरी गरेरै जीवन चलाएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन। ‘ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो। सधैँ सुकुमबासी बन्ने भइयो’, अम्बिका वेदना पोख्दै भन्छिन्, ‘केही काम पाए, गर्थें। केटाकेटीको पेट पाल्न त सक्थेँ।’
अम्बिकाका अनुसार सरकारले सहिदका नाममा १५ लाख राहत रकम दिएको छ। यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो। अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि संघर्षरत छिन्।
श्रीमान बितेको दिन महिनादेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ। सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन्। उनीहरूको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ। उनी भन्छिन्, ‘मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए। बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ।’
जेनजी सहिद परिवारका समूहमा उनले यिनै कुरा उठान गर्दै आएकी छन्। कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताइन्। जेनजी आन्दोलमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उनको भनाइ छ। ‘छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ,’ अम्बिका भन्छिन्, ‘के काम गरेर पेट पाल्ने ? रोजगार छैन।’ रासस



