मधेशका मुख्यमन्त्री नियुक्तिविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

हिमाल प्रेस ११ मंसिर २०८२ १६:५३ | Thursday, November 27, 2025
52
SHARES
मधेशका मुख्यमन्त्री नियुक्तिविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ- मधेशका मुख्यमन्त्री सरोजकुमार यादव नियुक्तिविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको हो।

रिट निवेदकमध्येका एक अधिवक्ता रक्कीप्रसाद साहले पूरा सुनुवाइ हुन नसकेकाले ‘हेर्दाहेर्दै’ मा राखिएको जानकारी दिए।

रिट निवेदकतर्फका कानुन व्यवसायीबाट बहस सकिएको र विपक्षीतर्फका केही कानुन व्यवसायीको बहस बाँकी रहेकाले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको उनले बताए।

अधिवक्ता साहका अनुसार रिटमाथिको अन्तिम सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ।

यादवको नियुक्तिविरूद्ध परेका तीनवटा छुट्टाछुट्टै रिटमाथि एकैसाथ सुनुवाइ भइरहेको छ।

यसअघि मंसिर २ गते सर्वोच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यस्तै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म दीर्घकालीन निर्णय नगर्न सरकारको नाममा आदेश जारी गरेको छ।

मधेश प्रदेशसभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते बिहान ४ बजे मुख्यमन्त्री यादवलाई बर्दिवासको एक होटलमा सपथ दिलाएकी थिइन्।

भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाका एमालेबाहेकका सबै दल विरोधमा उत्रिएका छन्।

प्रकाशित: ११ मंसिर २०८२ १६:५३ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast